शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
काठमाडौं महानगरको विवाद

२५ गते कार्यपालिका, २७ गते बजेट फिक्स्ड !  तर उपमेयरको स्टाटसले आशंका

सोमबार, २३ असार २०८२, १७ : ०५
सोमबार, २३ असार २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाको आन्तरिक कलह केही समयका लागि टर्ने सम्भावना, बजेट ल्याउन सहमति।
  • बजेट ल्याउन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं ब्याक हुन तयार, कार्यपालिका बैठक बोलाइने तयारी।
  • उपप्रमुख सुनिता डंगोलको स्टाटसले आशंका, तर बजेट ल्याउने विषयमा सहमति कायमै छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आन्तरिक कलह केही समयलाई टुंगो लाग्ने लगभग सहमति भएको छ । पुराना विवाद तत्काल बिर्सिएर कार्यपालिका बोलाउने ‘फिक्स्ड’ भएको महानगर स्रोतले जनाएको छ । 

‘बजेट ल्याउनुपर्छ भन्ने कुरामा सबै तहका जनप्रतिनिधिहरू तयार छन् । असार मसान्तभित्र बजेट पासै गर्नुपर्ने कानुनी जटिलता पनि छन् । पुराना विवादहरूलाई थाँती राखेर भए पनि बजेट ल्याउने करिब सहमति भएको छ,’ महानगरका एक जनप्रतिनिधि भन्छन् । 

महानगर स्रोतले बजेट ल्याउनको लागि कार्यपालिका २५ गते ११ बजे बोलाउने तयारी रहेको छ । ‘२५ गते कार्यपालिका बैठक बोलाउने लगभग टुंगो लागेको हो । तर पनि आधिकारिक भने भइसकेको छैन,’ स्रोतले रातोपाटीलाई भन्यो । 

प्रमुख प्रशासकीय अधिकृतलाई सरोज गुरागाईं ‘ब्याक’ हुन तयार भएपछि बालेनले कार्यपालिका बोलाउने तयारी गरेका हुन् । 

‘मेरो कारणले बजेट रोकिन हुँदैन भनेर प्रमुख प्रशासकीय अधिकृतले बोलेपछि बैठक हुने सम्भावना बढेको हो । उपप्रमुखज्यूले पनि कार्यपालिका बोलाउन दबाब दिइरहनुभएको थियो’, महानगरका एक जनप्रतिनिधि भन्छन् । 

महानगर स्रोतका अनुसार आइतबार अपराह्नदेखि साँझसम्म महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) उपप्रमुख सुनिता डंगोलसहित केही वडाध्यक्षले छलफल गरेका थिए । ‘छलफलमा २५ गते ११ बजे कार्यपालिका र २७ गते नीति तथा कार्यक्रम र बजेट ल्याउने अनौपचारिक सहमति भएको थियो । यसका लागि प्रमुख प्रशासकीय अधिकृत केही दिनमा बिदा हुने वा सरुवा लिने भन्ने कुरा भएको थियो,’ छलफलमा सहभागी एक भन्छन् । 

उनका अनुसार प्रवक्ता नवीन मानन्धरसहित केही जनप्रतिनिधिले बजेट ल्याउने अन्तिम विकल्प प्रमुख प्रशासकीय अधिकृत बिदामा बस्नु वा सरुवा हुनु नै भएको भन्दै दबाब बढाएका थिए । उनीहरू सबैले ‘मेरो गोरुको बाह्रै टक्का गर्न नहुने’ भन्दै अरू जे-जे भए पनि बजेट ल्याउन दिनुपर्ने बताएका थिए । 

उपप्रमुखको स्टटासले भने आशंका 

हिजो साँझ एकचरण छलफल भएर लगभग सहमति हुँदा आज बिहान उपप्रमुख सुनिता डंगोलको स्टाटसले भने आशंका जन्माएको छ । ‘सहमति भइसकेको थियो । फेरि उपप्रमुखज्यूले प्रमुख प्रशासकीय अधिकृत सहितको छलफल हुन आवश्यक छ भनेर लेख्नुभयो । यसले फेरि अर्को आशंका जन्माएको छ,’ एक वडाध्यक्ष भन्छन् ।  

‘उहाँले किन लेख्नुभयो थाहा भएन, तर बजेट ल्याउने कुरामा सबैको सहमति छ । ल्याउनुपर्छ । २७ गते बजेट ल्याएर मसान्तसम्ममा पासै गर्ने हो,’ उनले भने ।  

प्रमुख प्रशासकीय अधिकृत भन्छन्– कार्यपालिकामा बस्ने मेरो अधिकार हो  

यसैबिच प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले कार्यपालिकामा बस्ने आफ्‌नो अधिकार भएको बताएका छन् । ‘मेरै कारण बजेट नरोकियोस भनेको हुँ । तर सहमति गरेर जानुपर्छ, कार्यपालिकामा प्रमुख प्रशासकीय अधिकृत बस्ने कुरा त संवैधानिक कुरा हो नि कि मेरो सरुवा हुुनुपर्‍यो,’ उनले रातोपाटीसँग भने ।  

गुरागाईंले असार मसान्तभित्र बजेट पास गर्नुपर्ने कुरामा आफ्‌नो जोड रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप