शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चन्दा सङ्कलन गरेर प्रहरी चौकीकाे पूर्वाधार विकास

शुक्रबार, २७ असार २०८२, ०४ : ३१
शुक्रबार, २७ असार २०८२

सारांश

  • खोटाङको बुइपास्थित प्रहरी चौकीमा स्थानीयले चन्दा उठाएर सिसी क्यामेरा जडान र पूर्वाधार विकास गरे।
  • प्रहरी चौकी व्यवस्थापन समितिले १२ लाख ४४ हजार बढी रकमबाट सिसी क्यामेरा, प्रतीक्षालय र गोलघर निर्माण गर्यो।
  • प्रहरी चौकी बुइपाले सार्वजनिक सुनुवाइमार्फत आर्थिक तथा भौतिक प्रगतिको प्रतिवेदन सार्वजनिक गरेको छ।

खोटाङ ।  स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् । प्रहरी चौकीको सेवा क्षेत्रभित्र पर्ने स्थानीयवासी तथा विभिन्न क्षेत्रका दाताबाट स्वैच्छिक रूपमा सङ्कलन भएको रु १२ लाख ४४ हजार ४६६ रकमबाट व्यवस्थापन समितिमार्फत सिसी क्यामेरा जडान, प्रतीक्षालय तथा गोलघर निर्माण र कार्यालय व्यवस्थापनको काम गरिएको हो ।

प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईका अनुसार चन्दा सङ्कलन अभियानका क्रममा सङ्कलित रकममध्ये रु १० लाख सात हजार ४९७ रकम सामान खरिद तथा जडानमा खर्च भएको छ । जसमा वडा नं १४ र १५ बाट आगामी आर्थिक वर्षको बजेटबाट रु दुई लाख ११ हजार १११ जम्मा हुन बाँकी रहेको र समितिको खातामा नगद रु २५ हजार ८५८ रहेको छ ।

प्रहरी चौकी बुइपामा चन्दा सङ्कलनबाट खरिद गरिएको १४ वटा सिसी क्यामेरा जडान, एक–एकवटा प्रतीक्षालय तथा गोलघर निर्माण, पाँचवटा सडक सूचना बोर्ड र कार्यालय व्यवस्थापनको काम गरिएको छ । आफ्नै जग्गामा आरसिसी पक्की कार्यालय भवन निर्माण गरेर सञ्चालन गरिएको प्रहरी चौकीको कार्यालय व्यवस्थापनका लागि नगरपालिकाको तर्फबाट सोफा सेट, चन्दा सङ्कलनबाट कार्पेट र पर्दा खरिद तथा स्थानीयको श्रमदानबाट कार्यालय भवन मर्मत गरिएको छ । 

स्तरोन्नति तथा व्यवस्थापनका लागि सङ्कलन गरिएको रकम र व्यवस्थापन समितिको गतिविधिका बारेमा प्रहरी चौकी बुइपाले बिहीबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेर आर्थिक तथा भौतिक प्रगतिको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रहरी चौकीको प्राङ्गणमा आयोजना गरिएको सार्वजनिक सुनुवाइमा बुइपाका वडाध्यक्ष दिनेश राई, विजयखर्कका वडाध्यक्ष रामबहादुर कटवाल, स्थानीयस्तरमा क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो । 

समुदाय र प्रहरीबिचको साझेदारीले सिङ्गो समाज सुरक्षित राख्नका साथै सानातिना काममा राज्यको मुख ताक्नुभन्दा आफैँ अग्रसर भएर लाग्दा छोटो समयमा नै समाज परिवर्तन गर्न धेरै सकिने सहभागी वक्ताहरूले बताएका छन् । सार्वजनिक सुनुवाइले पारदर्शिता तथा समुदाय र प्रहरीबिच सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको व्यवस्थापन समितिका अध्यक्ष राईले बताए ।

सिसी क्यामेरा र भौतिक पूर्वाधार विकासका संरचना गत २०८२ वैशाख २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले औपचारिक रूपमा उद्घाटन गरेका थिए । । गोरखा–रुजन जेभी काठमाडौँले २०७६ असार १७ गते सम्झौता गरेर तोकिएकै समयमा दुईतले पक्की भवन निर्माण गरेको हो ।

प्रहरी चौकी बुइपाको कार्यालय भवनमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै हिरासत, कार्यालय प्रमुख तथा जवानका लागि छुट्टाछुट्टै कोठा र शौचालयको व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप