मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
सारांश
- बागमती प्रदेशकी नवनियुक्त मन्त्री उर्मिला नेपालले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्न दुई फरक स्थानमा पदबहाली गरेकी छन्।
- प्रदेश सरकारले मन्त्रालयको संख्या ८ मा झार्दा कृषि र वन मन्त्रालय गाभिएर एउटै बनेको छ, तर ओएण्डएमको काम नटुङ्गिँदा अन्योल छ।
- मन्त्री नेपालले यसअघि वन तथा वातावरण मन्त्रालयको भवन र त्यसपछि कृषि मन्त्रालयको भवनमा पदबहाली गरेकी हुन्।
मकवानपुर । बागमती प्रदेश सरकारमा एउटा अनौठो र रोचक दृश्य देखिएको छ। बागमती प्रदेश सरकारमा अनौठो राजकीय प्रक्रिया देखिएको हो ।
प्रदेश सरकारकी नवनियुक्त मन्त्री उर्मिला नेपालले एउटै मन्त्रालयको जिम्मेवारी सम्हाल्न दुई फरक–फरक स्थानमा पुगेर पदबहाली गरेकी छिन्। साउन १ गतेदेखि कार्यान्वयनमा आएको सरकारको नयाँ संरचना अनुसार हाल कायम गरिएको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी मन्त्री नेपालले शुक्रबार दुई वटा साविकका मन्त्रालयका भवनमा पुगेर पदबहाली गरेकी हुन् ।
मन्त्री नेपालले शुक्रबार बिहान सबैभन्दा पहिले हेटौँडा–२ स्थित साविकको वन तथा वातावरण मन्त्रालय (वन कम्प्लेक्स) पुगेर पदबहाली गरिन् । उनलाई वन तथा वातावरणतर्फका सचिव केदार बरालले स्वागत गर्दै पदबहाली गराएका थिए । उक्त कार्यक्रममा कृषि तर्फका सचिव सुधिर श्रेष्ठ र कर्मचारीहरूको समेत उपस्थिति थियो ।
मन्त्री नेपाल शुक्रबार नै दिउँसो हेटौँडा–१ चौकीटोलस्थित साविकको कृषि मन्त्रालय पुगिन् । साविकको कृषि मन्त्रालय रहेको उक्त भवनमा समेत उनले पद बहाली गरिन् । उनलाई प्रदेश सचिव सुधीर श्रेष्ठले एक कार्यक्रमकाबिच स्वागत गर्दै दोस्रो पटक पदबहाली गराएका थिए ।
बागमती प्रदेश सरकारले गत वैशाख २२ गतेको निर्णय अनुसार मन्त्रालयको संख्या घटाएर ८ वटामा झारेको थियो । साउन १ बाट लागू भएको उक्त संरचना अनुसार प्रदेशमा रहेको १४ मन्त्रालय ८ मा सीमित भएको छ ।
सो निर्णय कार्यान्वयन गर्दा प्रदेशमा छुट्टा छुटै अस्तित्वमा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय मर्ज भएका छन् ।
नयाँ व्यवस्था अनुसार कृषि र वन मन्त्रालयलाई गाभेर कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालय बनाइएको छ । तर, मन्त्रालयहरूको सङ्गठन संरचना व्यवस्थापन (ओएण्डएम) को काम अझै नटुङ्गिएका कारण कर्मचारी व्यवस्थापन र कार्यालय सञ्चालनमा अन्योल देखिएको छ । ओएण्डएम नटुङ्गिँदा मन्त्रालयमा २ जना सचिव कायम रहेका छन् भने पावर सेयरिङमा समस्या देखिएको छ ।
हाल कृषि मन्त्रालय चौकीटोलमा र वन मन्त्रालय वन कम्प्लेक्समा छुट्टाछुट्टै स्थानमा छन् । मन्त्रालय एउटै भए पनि दुवै ठाउँमा पुगेर पदबहाली गर्नु प्रशासनिक संक्रमणकालीन अवस्थाको उपज मात्र नभई मन्त्रीहरूको मान सम्मानको प्रलोभनको रूपमा अर्थ्याएका छन्।
सत्ता गठबन्धनबाट नेकपा एमाले बाहिरिएपछि रिक्त रहेका मन्त्रालयमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्यविभाजन गरेका थिए । ६ दिनसम्म बिना विभागीय मन्त्रीको भूमिकामा रहेकी नेपाललाई बिहीबार मात्र कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । एमालेका ६ मन्त्रीको राजीनामा पछि रिक्त रहेको मन्त्रालयहरू मध्ये नेपाललाई सो मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
मुख्यमन्त्री बानियाँले कांग्रेसका विनु रायमाझीलाई भौतिक पूर्वाधार र सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी समेत तोकेका थिए ।
यता एमालेका ६ मन्त्रीले राजीनामा दिएर समर्थन फिर्ता लिएसँगै बानियाँ नेतृत्वको सरकार हाल अल्पमतमा परेको छ । ११० सदस्यीय प्रदेश सभामा (हाल १०४ कायम) सरकार टिकाउन ५३ सांसदको समर्थन आवश्यक पर्छ ।
एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक दबाब छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण