बधाई छ । ‘तपाईँको छोरा वा छोरी भयो,’ नर्सको मुखबाट यो आवाज सुन्ने बित्तिकै बुबाको मुहारमा खुसी छाउँछ । अनि वरिपरि भएका आफन्तहरू सोध्न थाल्छन्, बच्चालाई कस्तो छ ? तर आमालाई कस्तो छ भन्ने कुरा आफन्तहरूले सोध्न बिर्सिन्छन् ।
अस्पतालदेखि बच्चा जन्माएकी आमाको हालखबर सोध्न बिर्सिएका आफन्त, नजिकका मान्छेले पछि पनि बच्चामा नै ध्यान दिन्छन् । घण्टौँ प्रसव वेदना सहेर, मृत्युको मुखबाट निस्किएकी आमाको वास्ता नै गर्दैनन् ।
यस कारण बच्चा जन्माइसकेपछि महिला एक्लो महसुस गर्छिन् । बच्चाको मात्रै वास्ता गर्ने आफन्त देख्दा उनलाई दिक्क लाग्छ । मलाई कसैले पनि माया गर्दैनन् भन्ने महसुस हुन सक्छ । त्यसैले बच्चालाई सँगसँगै आफन्त परिवारको सदस्यले आमालाई पनि उत्तिकै माया गर्नुपर्छ । चिकित्सकहरू त भन्छन् यस्तो अवस्थामा बच्चालाई होइन,आमालाई बढी माया गर्नुपर्छ । आखिर किन ? यस विषयमा ग्वार्कोस्थित बीएण्डबी अस्पतालको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अञ्जना कार्कीसँग हामीले कुराकानी गरेका छौँ ।
माया भन्ने कुरा बच्चालाई पनि चाहिन्छ । आमालाई पनि चाहिन्छ । तर हाम्रो संस्कारमा सबै जना बच्चामा नै बढी फोकस हुने गर्छौ । बच्चालाई धेरै वास्ता गर्ने अनि आमालाई वास्ता गरिरहेका हुँदैनौँ । तर बच्चा जन्मेको ४० घण्टासम्म आमालाई विभिन्न समस्याहरू आउन सक्छन् । त्यो समयमा सुत्केरी आमाको विशेष ध्यान दिनुपर्छ ।
आमा पनि नयाँ हुन्छ बच्चा पनि नयाँ हुन्छ । गर्भावस्थामा, बच्चा जन्माइसकेपछि आमामा धेरै परिवर्तनहरू आएको हुन्छ, मानसिक शारीरिक रूपमा । नयाँ बच्चा आएपछि आमाको खाने टाइम, सुत्ने टाइम, उठ्ने टाइम परिवर्तन हुन्छ । सबै आमाको एउटै अवस्था हुँदैन । कतिपय आमाहरूले यो परिवर्तन स्वीकार गर्न सक्छन्, कतिपयले गर्न सक्दैनन् व्यक्ति अनुसार फरक पर्छ ।
सुत्केरी महिलालाई छुन नहुने बच्चालाई छुन नहुने भन्ने छ । त्यो कुरा परिवर्तन गर्नुपर्छ ।
बच्चालाई सानो बिरामी भयो भने पनि तुरुन्तै अस्पताल ल्याउने गरिन्छ तर आमालाई समस्या हुँदा तत्कालै अस्पताल लाने चलन पनि छैन । बच्चा जन्माए पनि कुनै पनि महिला पहिलेकै अवस्थामा फर्कन करिब ६ हप्ता लाग्छ, त्यसैले यो अवस्थामा उसलाई मानसिक, शारीरिक रूपमा धेरै नै सहयोग आवश्यक पर्छ । त्यसैले पनि बच्चालाई भन्दा आमालाई बढी माया गर्नुपर्छ भनिन्छ ।
हाम्रो समाजमा केही चिज धेरै राम्रो छ, केही भने नराम्रो छ । जस्तो कि सुत्केरी महिलालाई छुन नहुने बच्चालाई छुन नहुने भन्ने छ । त्यो कुरा परिवर्तन गर्नुपर्छ । आमाको खानपिनमा ध्यान दिने, यसो नगर, उसो नगर भन्दा आमाले आइसोलेटेड फिल गर्न सक्छ । त्यो बेला पनि ध्यान दिने, सहयोग गर्न सकिन्छ । परिवारले दिएको भन्दा अन्य खानेकुरा खान मन लागेको हुन सक्छ । यो कुरालाई पनि परिवारले ध्यान दिनुपर्छ । आमाले बच्चालाई राती दूध खुवाउनुपर्ने हुन्छ । यो अवस्थामा दिउँसो सुत्ने वातावरण मिलाइदिने । लुगा धुने, कपडा चेन्ज गर्ने कुरामा पनि सहयोग गर्न सकिन्छ ।
हो, विदेशमा महिला गर्भवती हुने समयदेखि नै केटाहरूलाई (श्रीमान्) गर्भवती महिलालाई स्याहार सुसार गर्न सिकाउने, बच्चाको स्याहार सुसार गर्न सिकाउने हुन्छ । हाम्रोमा त्यो चलन अलि छैन । हाम्रोमा केटीहरूले नै अर्थात् सासू, आमा, सानिमा लगायतले स्याहार सुसार गर्ने चलन छ । केटा मान्छेहरूले स्याहारसुसार गर्ने चलन कमै छ । फेरि आमा बनेपछि महिलाले पनि केटी मान्छेसँगै कम्फर्ट महसुस गरिरहेको पनि देखिन्छ । तर एकल परिवारमा बस्नुहुन्छ भने केटा मान्छेले पनि स्याहार सुसार गर्नुपर्छ । पछिल्लो समय केटाहरूले पनि गर्भवती, आमा, बच्चा सबैको स्याहारसुसार गर्न थालेको पनि देखिन्छ ।
प्रतिक्रिया