बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देही क्षेत्र नम्बर ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग

आइतबार, २९ असार २०८२, १८ : ०३
आइतबार, २९ असार २०८२

सारांश

  • निर्वाचन आयोगले रूपन्देहीको क्षेत्र नम्बर ३ मा उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरेको छ।
  • १८ वर्ष उमेर पुगेका व्यक्तिहरूले कात्तिक १६ गतेसम्म नामावलीमा नाम समावेश गर्न सक्नेछन्।
  • आयोगले साउन १५ देखि २२ गतेसम्म त्रुटि सच्याउन र उजुरी दिन सकिने जनाएको छ।

काठमाडौँ । निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय गरेको छ ।

आयोका अनुसार मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति निर्धारण गरिनेछ । 

उक्त मितिसम्म देशभरबाट सङ्कलित मतदाताको विवरणलाई अद्यावधिक प्रक्रियामा लगिने र सङ्कलित मतदाता विवरण साउन ४ गते आयोगको ‘वेबसाइट’मा प्रकाशन गरिने आयोगका प्रवक्ता एवं सहसचिव निता पोखरेल अर्यालले जानकारी दिए । 

आगामी साउन १५ देखि २२ गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन र कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिनसक्ने पनि आयोगले जनाएको छ ।

यसैगरी, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएमा एक स्थानमा मात्र कायम गर्न निवेदन सङ्कलन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिनेलगायत कार्यहरू गर्ने गरी कार्यक्रम निर्धारण गरिएको पनि प्रवक्ता अर्यालले जानकारी दिए । यसरी मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी आगामी भदौ २५ गते अन्तिम मतदाता नामावली प्रकाशित हुने उनले बताए । 

मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन साउन १५ देखि २२ गतेसम्म त्रुटि सच्याउन अनलाइन प्रणालीबाट समेत निवेदन, सूचना, उजुरी दिन सकिने आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप