मधेसमा वर्षा अभावले संकट गहिरिँदै, रोपाइँ प्रभावित
सारांश
- असार महिना सकिन लाग्दा मधेसमा वर्षा नहुँदा खेतीपाती प्रभावित भएको छ।
- कृषि विकास निर्देशनालयका अनुसार मधेसमा ३३ प्रतिशत मात्रै रोपाइँ भएको छ भने गत वर्ष ६१ प्रतिशत रोपाइँ भएको थियो।
- पानीको अभावका कारण किसानहरू चिन्तित छन् र प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ।
जनकपुर । असार सकिन लाग्दा मधेसमा खेती प्रभावित भएको छ । वर्षा नहुँदा मधेसको खेतीपाती पूरै प्रभावित भएको कृषि विकास निर्देशनालय मधेसले जनाएको छ ।
अन्न भण्डार मधेसमा असारको आजसम्ममा ३३ प्रतिशत मात्रै खेती भएको कृषि विकास निर्देशनालयको तथ्यांक छ । प्रदेशका आठै जिल्लामा अहिलेसम्म जम्मा ३३ दशलमव ७८ प्रतिशत मात्रै रोपाइँ भएको कृषि विकास निर्देशनालय मधेसका प्रमुख जितेन्द्र यादवले बताए । उनका अनुसार गत वर्षको असारभित्र करिब ६१ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
मधेसमा सिचाइँ अभाव, नहरमा पानी अभाव र अन्य वैकल्पिक व्यवस्था नहुँदा किसान गम्भीर संकटमा परेका निर्देशनालयको विश्लेषण छ ।
कुन जिल्लामा कति खेती ?
पानीको समस्याले यस प्रदेशको हरेक जिल्ला प्रभावित बनेका छन् । यद्यपि अन्य जिल्लाको तुलनामा पर्सामा बढी खेतीपाती भएको कृषि विकास निर्देशनालयले जनाएको छ । पर्सामा अहिलेसम्म ७३ दशमलव ३४ प्रतिशत रोपाइँ भइसकेको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ । तर यसको तुलनामा अन्य जिल्लामा धान रोपाइँ हुने कुल क्षेत्रफल ५० प्रतिशत पनि पुगेको छैन ।
सिरहामा कुल क्षेत्रफलको २९, धनुषामा २५, बारामा ४०, रौतहटमा ४५, सर्लाहीमा ४०, सप्तरीमा १६ र महोत्तरीमा १८ प्रतिशत मात्रै रोपाइँ भएको कृषि निर्देशनालयको आँकडा छ । मधेसमा कुल खेतीयोग्य जमिन भने ५ लाख ४२ हजार ५४० हेक्टर छ । यसमध्ये धान रोपाइँ हुने कुल क्षेत्रफल भने ३ लाख ७२ हजार ६४५ हेक्टर मात्रै रहेको निर्देशनालयले जनाएको छ ।
मधेसका आठै जिल्लामध्ये कुल एक तिहाइ मात्रै खेती भएको निर्देशनालय प्रमुख यादव बताउँछन् । अर्थात् १ लाख २५ हजार ८८८ दशमलव ६ हेक्टरमा मात्र रोपाइँ भएको छ ।
कृषि विकास निर्देशनालय प्रमुख यादव भन्छन्, ‘मधेसमा अहिलेसम्म झण्डै अढाइ लाख हेक्टरमा धान रोपाइँ हुन सकेको छैन, त्यो भनेको लगभग ६७ प्रतिशतभन्दा बढी धान रोपाइँ हुने खेत अझै बाँझो नै छ ।’ निर्देशनालयका अनुसार २ लाख ४६ हजार ७५६ हेक्टरमा अझै धान रोपाइँ गर्न बाँकी नै छ ।
बढी क्षेत्रफल हुने जिल्लामै कम खेती
मधेसमा विगतमा जुन जिल्लामा बढी धान रोपाइँ हुँदै आएको छ, तिनै जिल्लामा यो वर्ष कम रोपाइँ भएको छ । बढी धान रोपाइँ हुने मधेसको जिल्लाको पहिलो सूचीमा सप्तरी छ । यहाँ धान रोपाइँ हुने कुल क्षेत्रफल ६८ हजार हेक्टर छ । तर निर्देशनालयको तथ्यांकअनुसार यो जिल्लामा अहिलेसम्ममा १६ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
यसैगरी दोस्रो स्थानमा सिरहा छ । ५४ हजार हेक्टर जमिन धान रोपाइँ हुने क्षेत्रफल भएको यहाँ यो वर्षा २९ प्रतिशत मात्रै रोपाइँ भएको छ । त्यसपछि सबैभन्दा कम धनुषामा रोपाइँ भएको छ । ४३ हजार ७ सय हेक्टर रोपाइँ हुने क्षेत्रफल भए पनि यहाँ यो वर्ष हालसम्म २५ प्रतिशत मात्र रोपाइँ भएको छ ।
त्यसैगरी महोत्तरीमा ४२ हजार ५ सय हेक्टर रोपाइँ हुने क्षेत्रफल छ । तर यो जिल्लामा अहिलेसम्म १८ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । निर्देशनालयका अनुसार यी चार जिल्लामा मात्रै २ लाख ८२ हजार हेक्टरमा धान रोपाइँ हुने गरेकाे छ ।
किसान के भन्छन् ?
बहुदरमाई नगरपालिकाका रामनरेश यादवले अहिले खेतीमा समस्या आउन लागेको बताए । असारसम्म पनि रोपाइँ नहुँदा उनलाई निकै समस्या परेको छ । भन्छन्, ‘ खेतीको समय खासमा असार हो, यो महिनामा धान रोपाइँ भयो भने त्यसले पर्याप्त समय पाउँछ । उत्पादन पनि बढी हुन्छ ।’ साउनमा रोपाइँ भए कम उत्पादन हुने गरेको उनी बताउँछन् । भन्छन्, ‘यो वर्ष भाग्यले साथ दिए मात्रै केही उत्पादन गर्न सकिन्छ, नत्र उत्पादन पूरै घटेर जाने सम्भावना उच्च छ ।’
पटेर्वा सुगौलीका अर्का किसान असमोदिन देवान सिँचाइँसँगै रासायनिक मलको पनि समस्या सुनाउँछन् । जेनतेन गरेर खेती गरे पनि मल नपाउँदा डमाडोल हुने अवस्था रहेको उनी दुःखेसो गर्छन् । पानीको समस्यासँगै मल नपाउँदा पूरै खेती नै संकटमा पर्न सक्ने उनले बताए ।
मधेसमा पानीको संकट
मधेसमा पानीको संकट गहिरिँदै गएको छ । जसको मुख्य मार खानेपानी र खेतीपातीमा परेको छ ।
चापाकलदेखि हरेक ठाउँमा पानी सुक्न थालेको छ । कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवले मधेस सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेपछि आफूहरूले आठै जिल्लामा दुई वटा प्राविधिक टोली परिचालन गरेको बताए । उक्त टोलीले प्रतिवेदनपछि मात्रै अब के गर्ने भन्ने सवालमा निर्णय लिइने निर्देशनालयका प्रमुख यादवको तर्क छ ।
उनका अनुसार मधेसले हरेक वर्ष १३ लाख मेट्रिक टन धान उत्पादन गर्दै आइरहेको थियो, तैपनि १० लाख मेट्रिक टन अभाव भइरहन्थ्यो । तर रोपाइँले राष्ट्रिय खाद्य सुरक्षामै असर पार्ने सम्भावना बढेको उनको आकलन छ । मधेस सरकारले चारैतिर पानीको हाहाकार भएपछि असार २६ गते प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण