बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

समाजमा परिवर्तन र दिगो विकासमा टेवा पुर्‍याउँदै नबिल बैंक

उद्यम स्थापनादेखि वित्तीय साक्षरतासम्म योगदान
मङ्गलबार, ३१ असार २०८२, १३ : २०
मङ्गलबार, ३१ असार २०८२

सारांश

  • नबिल बैंकले दिगो विकास लक्ष्यअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ।
  • बैंकले उद्यमशीलता प्रवर्द्धनका लागि नबिल एसएसई कार्यक्रम सञ्चालन गरेको छ, जसले युवाहरूलाई उद्यमशील बन्न सहयोग गर्छ।
  • बैंकले भूकम्प र महामारीमा सहयोग गर्नुका साथै वित्तीय साक्षरता र महिला सशक्तीकरणका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।

काठमाडौँ । नबिल बैंकले पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई दिगो विकासका लक्ष्य केन्द्रित  गरेको छ । समाजको सकारात्मक परिवर्तनलाई आगामी पुस्ताका लागि दिगो समाज निर्माण गर्न बैंकले शिक्षा, स्वास्थ्य, वातावरणीय र अन्य सामाजिक मुद्दाहरूलाई सधैँ आत्मसात् गरिरहेको जनाएको छ ।

बैंकले राष्ट्र संघको दिगो विकासका सन् २०१६–२०३० लक्ष्यलाई आत्मसात् गर्दै सो अन्तर्गतका विभिन्न लक्ष्यहरू जस्तै गरिबी निवारण, शिक्षा, स्वास्थ्य आदिलाई आधार मानी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अगाडि बढाउदै आइरहेको हो । बैंकले वित्तीय साक्षरता, स्वास्थ्य, शिक्षा, उद्यमशीलता प्रवर्धन, संस्कृति जर्गेना तथा प्रवर्द्धन, नवप्रवर्तन तथा सूचना प्रविधिको विकास आदि कार्यक्रमहरू सञ्चालन गर्दै आएको बैंकका संस्थागत सामाजिक उत्तरदायित्व बैंकका उपमहाप्रबन्धक गणेश प्रसाद अवस्थीले बताए । 

‘बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गर्ने सबै खाले गतिविधिहरू दिगो विकासका लक्ष्यलाई सहयोग पुग्ने गरी गरिरहेको छ’, उनले भने, ‘सीएसआर बाहेकका गतिविधिलाई पनि दिगोपनासँग जोडेका छौँ’ नेपालको संविधानले परिकल्पना गरेको हरेक नागरिकको आर्थिक, सामाजिक र समावेशी विकासको भावनालाई प्रवर्द्धन गर्न यो कार्यक्रमले निजी तथा सार्वजनिक शैक्षिक संस्था र समुदायबिचको रचनात्मक सहकार्यलाई प्रवर्द्धन गर्ने प्रयास गरेको उनको भनाइ छ ।

Nabil SSE 2

दिगो विकास लक्ष्यका साथै नेपालको आवधिक योजनालगायतका दस्ताबेजले समेत प्राथमिकतामा राखेको समावेशी विकासलाई साकार पार्न यस्ता कार्यक्रमले सहयोग पुग्ने अवस्थीले बताए ।

त्यति मात्रै होइन, नबिल बैंकले नेपाल राष्ट्र बैंकको सीएसआरसम्बन्धी मार्गदर्शन बमोजिम सबै प्रदेशमा न्यूनतम १० प्रतिशत खर्च हुने गरी कार्यक्रम निर्धारण तथा सञ्चालन गर्दै अवस्थी बताउँछन् । 

  • नबिल एसएसई उद्यमशीलता प्रवर्द्धन अभियान

बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) कार्यक्रम २०७८ मंसिरमा सुरु गरेको हो । उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्य लिइएको छ । उक्त कार्यक्रममार्फत बैंकले स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सीप र वित्तीय सहयोग प्रदान गर्ने लक्ष्य लिएको छ । 

यस कार्यक्रमअन्तर्गत सामाजिक उद्यमशीलता प्रमाणपत्र र फेलोसिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम अघि सारिएको बैंकले जनाएको छ । फेलोसिप कार्यक्रमअन्तर्गत बैंकले त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अर्थात् स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य गरेको छ । 

Education 3

बैंकका अनुसार हालसम्म फेलोसिप कार्यक्रमअन्तर्गत तीन वटा समूहअन्तर्गत ५६ जनाले कोर्स पूरा गरिसकेका छन् । हाल चौथो समूहका २० जना प्रशिक्षित भइरहेका छन् । कूल ७६ फेलोबाट ६० वटा उद्यमहरू स्थापना भएका छन् भने पहिलो तीन वटा समूहका सदस्यले सुरु गरेको उद्यममार्फत करिब १२०० रोजगारी सिर्जना भएको छ ।  

त्यसैगरी नबिल एसएसईअन्तर्गत सर्टिफिकेट कोर्स पनि प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ । यस अन्तर्गत सातवटै प्रदेशमा विभिन्न ११ शैक्षिक संस्थासँगको साझेदारीमा सञ्चालन भइरहेको क्षेत्रीय कार्यक्रम भएको बैंकले जनाएको छ । कार्यक्रमले युवाहरूमा उद्यमशील मानसिकता विकास गर्ने र व्यवसाय थालनीका लागि आवश्यक सीपहरू उपलब्ध गराउँदै आएको छ ।

सर्टिफिकेट कोर्स तीन महिनासम्म सञ्चालन हुने गरेको छ । उक्त पाठ्यक्रम अवधिभर सहभागीहरूले व्यवसाय योजना निर्माण गर्ने सीप, उद्यमशील सोच विकास र  सामाजिक उद्यमशीलताको प्रभावकारी ढाँचाबारे सिक्ने अवसर पाउँछन् ।

यस अभियानमा पनि विभिन्न विज्ञ तथा उद्यमीद्वारा प्रयोगात्मक रूपमा सत्रहरू सञ्चालन हुने गरेका छन् । हालसम्म ८२५ जनाले सर्टिफिकेट कोर्स पूरा गरिसकेको उनीहरूले ७२ भन्दा बढी उद्यम स्थापना गरिसकेको बैंकले जनाएको छ । 

Health 4

यो कार्स विराटनगरमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, वीरगन्जमा वीरगञ्ज पब्लिक कलेज, जनकपुरमा मोनास्टिक सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुल, काठमाडौँको कुपण्डोलस्थित क्याम्पियन कलेज, बुढानीलकण्ठमा बुढानीलकण्ठ स्कुल, पोखरामा ला ग्राण्डी इन्टरनेशनल कलेज, बुटवलमा क्षितिज इन्टरनेशनल कलेज, बर्दघाटमा दिव्यज्योति बहुमुखी क्याम्पस, कोहलपुरमा कोहलपुर मोडल कलेज, वीरेन्द्रनगरमा सुर्खेत मोडल कलेज र धनगढीमा सुदूरपश्चिमाञ्चल एकेडमीमा सञ्चालन भइरहेको छ ।

  • शिक्षा क्षेत्रका पाँच हजारभन्दा बढी लाभान्वित

नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत हालसम्म पाँच हजारभन्दा बढी विद्यार्थीले विभिन्न प्रकारका सहयोग प्राप्त गरिसकेका  छन् । विशेष गरी अपाङ्गता भएका, अनाथ, गरिब तथा जेहेन्दार बालबालिकाका लागि बैंकले उक्त कार्यक्रम केन्द्रित गर्दै सहयोग गरिरहेको जनाएको छ । बैंकले हालैका दिनमा काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा दीर्घकालीन सहयोग सुरु गरेको छ । जसअन्तर्गत हालै बैंकले काठमाडौँ विश्वविद्यालयमा २० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिसकेको छ । त्यसबाहेक बैंकले विभिन्न विद्यालयमा स्मार्ट बोर्ड, विभिन्न पुस्तकलगायत सहयोग पनि गर्दै आएको छ ।

यस कार्यक्रमअन्तर्गत विपन्न, पिछडिएका वर्गका परिवारका विद्यार्थीहरूलाई विभिन्न सहयोग गरेको छ । बैंकले सर्लाही क्याम्पसमा पुस्तक वितरण, सिद्धकाली आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण, नेपाल माउन्टेनियरिङ एसोसिएसनका १४ अनाथ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान तथा बैंकको सहयोगमा फेलोसिप सोसाइटी नेपालले नुवाकोटको दुप्चेमा अवस्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत १४ र जुम्लाको सिञ्जास्थित श्री भैरव माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना न्यून दृष्टियुक्त विद्यार्थीहरूलाई ब्रेल शिक्षा सामग्रीहरू वितरण गरिसकेको छ ।

  • स्वास्थ्यका चार हजारभन्दा बढीले लिए सेवा

बैंकले स्वास्थ्यका क्षेत्रमा विशेष गरी नवलपरासीको चिसापानी र नवलपुरको बर्दघाटमा रहेको आर्टिफिसियल लिम्ब सेन्टर अर्थात् कृत्रिम अङ्ग केन्द्रमा निरन्तर सहयोग प्रदान गर्दै आएको छ । जसमार्फत हालसम्म २५७ जनाले निःशुल्क कृत्रिम मानव अङ्ग जस्तै हात र खुट्टा प्राप्त गरिसकेका छन् । 

बैंकले कोरोना महामारीको समयमा वीर अस्पतालमा अक्सिजन प्लान्ट समेत स्थापना गरिसकेको छ । पोखरा विश्वविद्यालयलाई बैंकले यूएसजी मेसिन प्रदान गरेको थियो । बैंकका अनुसार सीएरआर कार्यक्रमअन्तर्गत हालसम्म विभिन्न स्वास्थ्य शिविर र रक्तदान कार्यक्रममार्फत हालसम्म चार हजारभन्दा बढी लाभान्वित भइसकेका छन् । साथै विभिन्न अस्पताललाई पूर्वाधार निर्माण र स्तरोन्नतिका लागि पनि बैंकले आफ्ना सीएसआरअन्तर्गतका कार्यक्रमलाई केन्द्रित गरेको जनाएको छ ।

  • भूकम्प र महामारीमा सहयोग

बैंकले सन् २०१५ को भूकम्पको समयमा प्रधानमन्त्री दैवी उद्धार राहत कोषमा दुई करोड रुपैयाँभन्दा बढी रकम उपलब्ध गराएको थियो । साथै पछिल्लो समय जाजरकोट भूकम्पमा जाजरकोटको नलगाड र रुकुम पश्चिमको चौरजहारीका भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास निर्माण र चिसोबाट बच्न न्यानो कम्बल पनि बैंकले सहयोग उपलब्ध गराएको छ । त्यति मात्रै होइन, कोरोना महामारीको समयमा पनि बैंकले छ करोड रुपैयाँ कोरोना कोषमा उपलब्ध गराएको थियो । त्यसबाहेक विभिन्न समयमा  हुने विपत्को समयमा पनि बैंकले सहयोग गरिरहेको छ । बैंकले हालै मानव सेवा आश्रमलाई दुई वटा उद्धार वाहन (रेस्क्यु भेहिकल) उपलब्ध गराएको थियो । नबिल बैंकले विगतमा आव २०७८/७९ मा टिकापुरमा भारी वर्षाका कारण आएको बाढीका कारण पीडित बासिन्दाहरूका लागि राहत सामग्रीहरू वितरण गरेको थियो । साथै काठमाडौँ गत वर्ष आएको बाढीपछि नमोबुद्ध नगरपालिका तथा गोदावरी नगरपालिकालाई सहयोग गरेको थियो ।  

  • बाग्मतीदेखि सगरमाथासम्मको सफाइमा सक्रिय

वातावरण संरक्षणका क्षेत्रमा बैंकले नेपाली सेनालाई सगरमाथा लगायतको फोहोर संकलनका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । साथै वातावरण संरक्षणका क्षेत्रमा विभिन्न संघ संस्थासँगको सहकार्यमा फोहोर व्यवस्थापन, वृक्षारोपण गर्दै आएको छ । बैंकले बाग्मती संरक्षण एकीकृत समितिसँगको सहकार्यमा पनि बाग्मती नदी सफाइमा काम गर्दै आएको छ । यसबाट वातावरण संरक्षणका विभिन्न क्षेत्रमा अहिले पनि काम गरिरहेको जनाएको छ । 

Lead 1

  • वित्तीय साक्षरता 

वित्तीय साक्षरता अन्तर्गत बैंकका अनुसार पछिल्लो एक वर्षमा मात्रै आठ हजारभन्दा बढी व्यक्तिहरूलाई वित्तीय साक्षरतासम्बन्धी सचेतना जगाउँदै आएको छ । यसअन्तर्गत बैंकले विपन्न वर्ग, पिछडिएका क्षेत्र आदिलाई लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Financial Literacy 6

विभिन्न क्षेत्रमा आयोजना भएका आयमूलक, तथा वित्तीय चेतनामूलक कार्यक्रमहरूमा सहयोग गर्ने गरेको छ । यसै अनुरूप बैंकले मुलुकका विभिन्न स्थानमा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले विभिन्न कार्यक्रमको आयोजना गर्दै सामाजिक सञ्जाल मार्फत जानकारीमूलक सामग्री सार्वजनिक गरी ‘ग्लोबल मनि विक’ मनाएको छ । 

विभिन्न प्रदेशहरूमा वित्तीय साक्षरता कार्यक्रममार्फत बचत, लगानी आदिबारे जानकारी दिने क्रियाकलापहरू सञ्चालन गरिएको छ । सातै प्रदेशमा रहेका बैंकका विभिन्न शाखाहरूबाट हजारौँको संख्यामा विद्यार्थीहरूलाई वित्तीय साक्षरता, विद्युतीय कारोबार प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई पनि बैंकले गर्दै आएको उनले बताइन् । 

वित्तीय साक्षरताअन्तर्गत नै नबिल बैंकले मधेस प्रदेशका महिलाहरूलाई वित्तीय साक्षरता तालिम कार्यक्रम सञ्चालन गरिसकेको छ । यस कार्यक्रमको उद्देश्य वित्तीय शिक्षाको प्रवर्द्धन गर्दै नेपाली महिलाहरूको वित्तीय साक्षरता, ज्ञान र सीप विकास गर्नु भएको बैंकको भनाइ छ । 

महिला सशक्तीकरणका लागि बैंकले विभिन्न संस्थाहरूलाई सहयोग गर्दै आएको छ । जसअन्तर्गत उज्यालो फाउन्डेसनको महिला नेतृत्व तालिममा १५ महिलाले विभिन्न नेतृत्व विकाससम्बन्धी तालिम प्राप्त गरिसकेका  छन् । साथै ‘गर्ल्स  इम्पावर्ड बाइ ट्राभल्स नेपाल’अन्तर्गत रसुवाको ‘ग्रे–गाउँ’का २५ जना महिलालाई विभिन्न क्षमता विकासको तालिम दिइसकिएको छ । बैंकले वित्तीय साक्षरतामार्फत एक हजारभन्दा बढी महिलालाई तालिम दिएको थियो । संस्कृति जगेर्ना तथा प्रवर्द्धनमा बैंकले विभिन्न कार्यक्रमलाई सहयोग गर्दै आएको बैंकको भनाइ छ । 

त्यसबाहेक कला, संस्कृतिको संरक्षणका लागि पनि कार्यक्रम गर्दै आएको छ । बैंकले जनकपुर साहित्य महोत्सव, ढाका टोपी दिवसलगायतका कार्यक्रममा पनि सहयोग गर्दै आएको जनाएको छ । बैंकले खेलकुद तथा पर्यटक प्रबर्द्धनअन्तर्गत सगरमाथाको कालापत्थरमा भएको महिला रेस्लिङका लागि पनि सहयोग उपलब्ध गराएको थियो । यसै अन्तर्गत जनकपुरको इतिहास, कला र साहित्यको प्रवर्द्धनका लागि ‘जनकपुर साहित्य महोत्सव’ कार्यक्रमका लागि सहयोग गर्दै आएको बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप