बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन निर्माणको शिलान्यास

मङ्गलबार, ३१ असार २०८२, १८ : ५७
मङ्गलबार, ३१ असार २०८२

भोजपुर । भोजपुरस्थित अरुण गाउँपालिकामा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माण गरिने भएको छ । 

मंगलबार अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र भारतीय राजदूतावास, काठमाडौँका काउन्सलर  अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो । 

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा  ३ करोड १ लाख ८८ हजार  लागतमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माण हुँदै छ । 

भारत सरकारको अनुदान सहयोग कक्षा कोठा, शिक्षक कक्ष, बैठक कक्ष, कार्यक्रम हल, छात्रा एवम् छात्रका लागि छुट्टाछुट्टै शौचालय र अन्य सहयोगी संरचनासहितको तीन तल्ले भवनको निर्माणमा उपयोग गरिनेछ । 

यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो । यो परियोजनालाई अरुण गाउँपालिका, भोजपुरमार्फत कार्यान्वयन गरिनेछ । 

अरुण गाउँपालिकाका अध्यक्ष र राजनीतिक प्रतिनिधिहरूले नेपालको उन्नति र विकासका लागि भारत सरकारले प्रदान गरिरहेको निरन्तर विकास सहयोगको प्रशंसा गरे । अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनले यस क्षेत्रको सांस्कृतिक र शैक्षिक पूर्वाधारको विस्तार गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५७० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाएको छ । 

यी मध्ये ९३ वटा परियोजनाहरू कोशी प्रदेशमा छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १०४९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरूप प्रदान गरेको छ जसमध्ये ७ वटा एम्बुलेन्स र एउटा स्कुल बस भोजपुरमा उपहार स्वरूप प्रदान गरिएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप