शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

राप्रपामा रडाको : नेताहरूमाथिको कारबाही सच्चाउन लिङ्देनलाई चेतावनी

बिहीबार, ०१ साउन २०८२, १९ : ०१
बिहीबार, ०१ साउन २०८२

सारांश

  • राप्रपाका चार नेताहरूले पार्टी विधानविपरीत नेताहरूलाई कारबाही गरिएकोमा आपत्ति जनाएका छन्।
  • उनीहरूले विधान विपरीतको कारबाहीले चिन्ता बढाएको र शीर्ष नेतृत्वको सहमति लत्याइएको आरोप लगाएका छन्।
  • नेताहरूले विधानको उल्लङ्घनले राप्रपालाई क्षति पुगेको र निर्णय सच्याउन आग्रह गरेका छन्।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार जना नेताहरूले पार्टी विधानविपरित पार्टीका नेताहरूलाई अध्यक्ष राजेन्द्र लिङ्देनले कारबाही गरेको भन्दै आपत्ति जनाएका छन् । 

उनीहरुले पार्टीभित्र विधान विपरीत गरिएको कारबाहीले सर्वत्र चिन्ताको प्रकट भएको पनि जनाएका छन् ।नेताहरू विक्रम पाण्डे, धवलशमशेर राणा, कुन्ती शाही र मुकुन्दशयम गिरीले बिहीबार संयुक्त अपिल जारी गर्दै विधानको अक्षरशः पालना गर्नु सबैको प्रमुख कर्तव्य भए पनि जिम्मेवार तहबाटै विधानको उपेक्षा र उल्लङ्घन हुनु, स्वेच्छाचारिता सतहमा आउनु दुखद घटनाक्रम भएको बताएका छन् ।

उनीहरुले शीर्ष नेतृत्व तहमा भएको सहमति लत्त्याउँदै नेता नवराज सुवेदीलाई अनुशासन समितिको अध्यक्ष पदबाट हटाएको, महामन्त्री डा. धवल शमशेर राणालाई सङ्गठन विभागको प्रमुखबाट, सगुन सुन्दर लावतीलाई पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित सङ्गठन समन्वय विभागको सदस्य सचिव पदबाट विधान विपरीत हटाइएको दाबी गरेका छन् ।

‘संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य लगायतका लक्ष्य प्राप्त गर्न निष्ठापूर्वक क्रियाशील नेताहरूलाई यसरी शृङ्खलाबद्ध रूपमा एकलौटी कारबाही भएबाट पार्टीपंक्ति र जनमानसमा शङ्का र प्रश्नहरू उब्जिएका छन्’, संयुक्त अपिलमा भनिएको छ ।

उनीहरुले विधानको यस्तो खुलमखुला उल्लङ्घन र स्वेच्छाचारी क्रियाकलापले राप्रपालाई अपूरणीय क्षति पुगेको पनि बताएका छन् । ‘विधानको व्यवस्था अनुरूपको विधि, सङ्ख्या र सीमा नाघेर एकलौटी रूपमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू थप्ने र हटाउने कार्य यस अघि पनि पटक–पटक हुँदै आएको छ’, अपिलमा भनिएको छ  ‘यस परिवेशमा विधान विपरीत भएका निर्णयहरू सच्याउने आँट र साहस देखाऔँ, पार्टीभित्र आपसी विश्वास र एकताको नयाँ युग निर्माण गरौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप