शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रथम नेपाली महिला

राणाले महिलालाई पढ्न दिँदैनथे, बाहिरबाट ताल्चा लगाएर दाइहरूले पढाए

सुनीता मलेकु :  नेपालको पहिलो सिलाइ प्रशिक्षण केन्द्र की ‘प्रथम प्रशिक्षिका’
शनिबार, ०३ साउन २०८२

नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठुलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् ।

राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पुर्‍याउँदै आएको देन अविस्मरणीय छ । ‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै नेपाली महिलाहरूप्रति समर्पित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् ।

यस कार्यक्रममा प्रथम नेपाली महिलाका अपूर्व उत्साह, सक्रियता, सीप, कला, प्रगति, सफलता तथा प्रसन्नताका पाटाहरू खोतल्ने प्रयास गरेका छौँ । साथसाथै तत्कालीन बाधा, अड्चन, उत्पीडन, अन्योल, बेथिति र सङ्घर्ष एवं आन्दोलनका पाटा पनि यहाँहरू माझ पस्कँदै आएका छौँ ।

‘प्रथम नेपाली महिला’ शृङ्खलाको ३० औँ एपिसोड सुनिता मलेकु (सानोमैयाँ) का सम्बन्धमा छ । उनी काठमाडौँ खिचापोखरीमा चर्खा प्रचारक महागुठी अन्तर्गत ‘नेपालको पहिलो सिलाइ प्रशिक्षण केन्द्र’ की ‘प्रथम प्रशिक्षिका’ हुन् । 

परिचय 

  • जन्ममिति : वि.सं. १९९० साल, भदौ
  • जन्मस्थान : कृष्णमन्दिर पछाडि, मंगलबजार, ललितपुर
  • निधन : वि.सं. २०७४ चैत ०७
  • माता : स्व. पूर्णकुमारी लाखे
  • पिता : स्व. भैरवलाल लाखे 
  • कृति : सुनिता सिलाइ शास्त्र (२०३३ साल)
  • विदेश भ्रमण : चीन (हङकङ), भारत 

यतिखेर सिलाइ, बुनाइ सिकाउने संस्था धेरै छन् । सरकारी, गैरसरकारी सङ्घ, संस्थाले नेपाली महिलालाई सिलाइ, बुनाइ सिकाइरहेका छन् । कतिपय स्थानीय तह, गैरसरकारी संस्था तथा क्लबले पनि यसतर्फ राम्रो काम गर्दै आइरहेका छन् । सिलाइ, बुनाइ सिकाउने व्यावसायिक केन्द्र पनि प्रशस्त खुल्दै गइरहेका छन् । 

सिलाइ, बुनाइप्रति महिलाको बढ्दो आकर्षण देख्दा सुनिता मलेकुलाई धेरै खुसी लाग्थ्यो । किनभने, उनले महिलालाई सिलाइ, बुनाइ सिकाउन थाल्दा उनी एक्ली थिए । ‘छ्याः त्यस्तो सूचीकारको काम के गरेको होला !,’ भनी मान्छेहरू नाक खुम्च्याउँथे । त्यो बेला अर्कै थियो । 

तर आज सिलाइ, बुनाइ सिक्ने, सिकाउने महिलाको सङ्ख्या बढ्दै गइरहेको छ । उनकै कुरा गर्ने हो भने पनि उनले हजारौँ जनालाई सिकाइन् । ती हजारौँले अरू हजारौँलाई सिकाइसके, यसरी हेर्दा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा उनका लाखौँ चेलीहरू छन् ।

सुनिता मलेकु महिलालाई सिलाइ, बुनाइसम्बन्धी तालिमसँगसँगै व्यवस्थापन पनि अत्यावश्यक ठान्थिन् । उनका अनुसार, ‘महिलालाई तालिम मात्रै दिएर पुग्दैन, कामको व्यवस्था पनि गर्न सक्नुपर्छ ।’

आफूले सिकाएकामध्ये केही योग्य महिलालाई ‘डिप्लोमा’ पछि दुई महिने निःशुल्क तालिम दिई रोजगारी जुटाएकी थिइन् । यसो भए तापनि धेरै महिलालाई कामको व्यवस्था गर्न नसकेकामा उनी दुःखी हुँदै भन्थिन्–  ‘मैले सिकाएका सबै दिदी, बहिनीलाई रोजगारी जुटाउन के गर्नुपर्ला भन्ने ध्याउन्नमा छु । सरकारी, गैरसरकारी संस्थाले यसतर्फ चासो लिएमा मेरो सपना पक्कै पूरा हुनेछ ।’

नेपालमा सिलाइ, बुनाइको तालिम दिने पसल धेरै छन् । तापनि सिकाउनेमा ज्ञानको कमीले गर्दा राम्रो प्रगति हुन सकिरहेको छैन । यसले गर्दा विदेशीले हाम्रा दिदी, बहिनीको रोजगारी खोस्दै गइरहेका छन् । यस्तो अवस्थामा यहाँका महिलालाई यथोचित ज्ञान, तालिम, प्रेरणा र प्रोत्साहनको ठुलो खाँचो रहेको धारणा उनी व्यक्त गरिरहन्थिन् । 

बाहिरबाट ताल्चा लगाएर भित्र पढाउने गरिन्थ्यो । केशव, माहिला दाइ, साहिँला दाइले उनीहरूलाई पढाउँथे । राणाकहाँ जागिरे भएकाले बुवा चाहिँ उनलाई पढाउने पक्षमा थिएनन् ।

‘तालिम केन्द्र’ खोलेर बसेकालाई थप व्यावसायिक सीप, कला र कुशलता जुटाउन सरकारी निकायले चासो लिनुपर्ने उनको माग थियो । पुरुष, महिला तथा बालबालिकासम्बन्धी आधुनिक सिलाइ, बुनाइ तथा मेसिनबाट गरिने ‘इम्ब्रोइडरी’ बारे आफूले हासिल गरेको ज्ञान बाँड्न सुनिता सधैँ तत्पर हुन्थिन् । सिलाइ प्रशिक्षणतर्फ अग्रणी भूमिका निर्वाह गरेकी सुनिता अहिले केवल सम्झनामा रहेकी छिन् । 

उनको २०७४ चैत ०७ गते निधन भएको छ ।  मधुमेह, उच्च रक्तचापले गल्दै गएकी थिइन्– सुनिता ।

पछिल्ला चार, पाँच वर्ष खिचापोखरीस्थित ‘सुनिता सिलाई प्रशिक्षण केन्द्र’ जान नसके पनि पुल्चोकको घरमै रहेको ‘सुनिता सिलाई केन्द्र’ मा आफ्नो ज्ञान बाँडिरहेकी थिइन् । छ महिना जति थला परेर स्वर्गीय भएकी सुनिताले आफूले सकुन्जेल काम गरिरहेको पाटो सर्वथा अनुकरणीय छ । 

सुनिताले झन्डै साढे दुई दशकअघि यस सुनाएको उनको जीवनकहानी अनुसार– ‘उनको पालामा स्कुल भन्ने थिएन । राणाले केटीहरूलाई पढ्न दिँदैनथे । तैपनि, ‘आदर्श निकेतन पाटन’ मा उनले पढेकी हुन् । 

बाहिरबाट ताल्चा लगाएर भित्र पढाउने गरिन्थ्यो । केशव, माहिला दाइ, साहिँला दाइले उनीहरूलाई पढाउँथे । राणाकहाँ जागिरे भएकाले बुवा चाहिँ उनलाई पढाउने पक्षमा थिएनन् । तर मुमा चाहिँ पढ्नुपर्छ भनेर जोड दिइरहन्थिन् । 

यसपछि, तुलसी मेहरले बापू आश्रम बर्धा (मध्य प्रदेश, भारत) मा केही जनालाई लगेका थिए । त्यस समूहमा उनी पनि एक थिइन् । १२ वर्षको उमेरमा उनी त्यहाँ गएकी हुन् । पाँच वर्षको अध्ययन पूरा गरी फर्किइन् । 

सौभाग्यले नारायण अग्रवाल भारतको राजदूत भएर काठमाडौँ आए । उनकी श्रीमती मदालसासँग भेट गर्न गइन् सुनिता । ‘मदालसा दिदी’ बर्धामा उनलाई पढाउँथिन् । 

बापू आश्रममा अन्य विषयबाहेक सिलाइ, बुनाइसम्बन्धी तालिम पनि दिइन्थ्यो । बबरमहलस्थित गोर्खा दलमा मृगेन्द्र शमशेरकी रानीले महिलाको स्कुल खोलेकी थिइन् । बर्धाबाट फर्किएपछि उनी त्यहाँ पढाउन थालिन् । भूगोल, इतिहास, नागरिक शास्त्र र खेलकुद पढाउँथिन् उनी । 

२२  वर्षको उमेरमा पुल्चोकका श्याम मलेकुसँग उनको विवाह भयो । श्याम कवि हुन् । समाजसेवामा पनि उनको ठुलो रुचि थियो ।

सुनिता मलेकुका अनुसार– ‘मेरो जे, जति प्रगति भएको छ नि, यसमा उनकै ठुलो हात छ’ । हाल श्याम मलेकुको पनि निधन भइसक्यो । (२०७१ सालमा उनले यो संसार छाडेका हुन् ।) 

विवाहपछि पनि उनी पढाउँदै थिइन् ।  यसबिच उनले दरवार हाईस्कुलबाट एस.एल.सी. गरिन् । उनलाई सिलाइ, बुनाइपट्टि चाख बढ्दै गइरहेको थियो । 

सौभाग्यले नारायण अग्रवाल भारतको राजदूत भएर काठमाडौँ आए । उनकी श्रीमती मदालसासँग भेट गर्न गइन् सुनिता । ‘मदालसा दिदी’ बर्धामा उनलाई पढाउँथिन् । 

सिलाइ पढ्ने इच्छा जाहेर गर्दा उनले नै सुनितालाई मुम्बई पुर्‍याएकी हुन् । यसरी, त्यहाँको ‘झारापकर टेलरिङ कलेज’ मा पढ्ने अवसर पाइन् सुनिताले । सन् १९६६ मा उनी  त्यहाँ गएकी हुन् । 

एक वर्ष प्रशिक्षण लिई ‘मेरिट फर्स्ट क्लास डिप्लोमा’ प्राप्त गरिन् । यहाँ फर्किएपछि खिचापोखरी, चर्खा प्रचारक महागुठीमा ‘सिलाइ स्कुल’ खोली नेपाली दिदी, बहिनीलाई प्रशिक्षण दिन थालिन् । त्यतिखेर नेपालमा सिलाइ, बुनाइसम्बन्धी कुनै केन्द्र थिएन । 

पाँच वर्ष यसैगरी बित्यो । त्यसपछि सुनितालाई यसै विषयमा डिग्री गर्ने विचार आयो । अनि, ‘तुलसीमेहर बा’ लाई अनुरोध गरी उनी समेत पाँचजना सन् १९७१ मा मुम्बई पुगे । 

नेता गणेशमान सिंहले नै उनलाई घरेलुको ‘सुपरभाइजर’ मा जागिर लगाइदिएका हुन् । त्यहाँ सुनिताले चारवर्ष जति काम गरिन् । सुनिता थुनुवामा परिन् ।

उनीसँग जाने अन्य महिलामा पछि, ‘गीता सिलाइ प्रशिक्षण केन्द्र भोटाहिटी’ खोलेकी गीता श्रेष्ठ, ‘नमुना सिलाइ खिचापोखरी’ की ज्ञानु सिक्राकार र भक्तपुरकी रमा प्रजापति तथा उनैकी बहिनी इन्दिरा प्रजापति थिए । सुनिताले त्यहाँ डिग्री त पूरा गरिनन्, तर महाराष्ट्र सरकारको सर्टिफिकेट, लन्डन डिप्लोमा, इम्ब्रोइडरी डिप्लोमा र स्विटर बुत्रे प्रमाणपत्र प्राप्त गरिन् ।

फर्किएपछि सुनिताले पुरानै काम सम्हालिन् । केही वर्षपछि साथीसँगातीले काममा साथ दिएनन् । अनि आफ्ना विद्यार्थीलाई ‘सर्टिफिकेट’ र ‘डिप्लोमा’ प्रमाणपत्र दिन उनले आफ्नै नामबाट २०२२ सालमा ‘खिचापोखरी सुनिता सिलाइ प्रशिक्षण केन्द्र’ खोलिन् ।

पछि, बागबजार र पुल्चोकमा पनि खोलेकी थिइन् । उनको ‘सर्टिफिकेट’ र ‘डिप्लोमा’ लाई सरकारले मान्यता दिएको थियो । यही प्रमाणपत्र राखेका भरमा पनि ऋण पाउने व्यवस्था समेत भयो । यसो हुँदा उनलाई धेरै खुशी लाग्नु स्वाभाविक हो । 

सात सालमा प्रजातन्त्र आउनुपूर्व टोल, टोलमा गई जनचेतना जगाउने काम पनि उनले गरेकी थिइन् । उनका अनुसार– ‘गोर्खा दलमा पढाउँदाखेरि उनी काँग्रेस पार्टीमा पूरै लागेकी थिइन् । ‘गणेशमान दाइ’ सँग विभित्र कार्यक्रममा सहभागी हुन्थिन् । 

नेता गणेशमान सिंहले नै उनलाई घरेलुको ‘सुपरभाइजर’ मा जागिर लगाइदिएका हुन् । त्यहाँ सुनिताले चारवर्ष जति काम गरिन् । सुनिता थुनुवामा परिन् ।

उनी काँग्रेसी भएको र गणेशमान दाइसँग चुनाव प्रचार–प्रसारमा लागेकीले उनलाई टुँडिखेल खरीको बोटनजिकै समाई थुनिएको थियो । सुरक्षा कानुन अन्तर्गत उनलाई ‘सेन्ट्रल जेल’ मा तीनमहिना जति थुनियो । 

यो २०१८ सालतिरको कुरो हुनुपर्छ । रानी एलिजावेथ आएकै दिन सुनिता थुनुवामा परेकी हुन् । सिलाइ, बुनाइकै क्षेत्रमा धेरै काम गर्ने सपना बोकेकी सुनिता बिहान चार बजेदेखि राति दश बजेसम्म सक्रिय रहन्थिन् । 

सिलाइसम्बन्धी ‘क, ख’ पनि नजात्रेले समेत पाँच, छ महिनाभित्रै राम्ररी सिक्न सक्ने बताएकी सुनिता पुरुष, महिला सबैलाई प्रशिक्षण दिन्थिन् । पुरूषका निम्ति चाहिँ फरक समय छुट्याइएको थियो ।

‘पैसावाल कोही सिक्न नआउने, खासगरी निम्न, मध्यम वर्गका महिला, पतिबाट त्यागिएका अथवा बाबु, आमाले वास्ता नगरेका त्यहाँ सिक्न जान्थे । आफ्नै मिहिनेत र कला, सीपले ज्यान पाल्न खोज्ने, दुई, चार पैसा कमाउन खोज्ने महिला नै बढी सिक्न आउनेहुँदा प्रायः सबै बडो ध्यान दिएर लगनशील भई सिक्ने गर्दछन्’ भनी सुनिता मलेकुले सन्तोषको सास फेरेकी थिइन् ।

उनका जेठा छोरा विन्दु मलेकुले एम.कम. पास गरेका छन् । यसै काममा सक्रिय थिए । पछि, संयुक्त राज्य अमेरिकामा बसे । नेपाली सेनामा काम गरेका अर्का छोरा ममविन्दु चाहिँ व्यापारी बने । 

कान्छी बुहारी सप्त मलेकुले ‘सुनिता सिलाई प्रशिक्षण केन्द्र’ मा सासूको बिंडो थामेकी थिइन् । ‘कोरोना–कहर’ मा बन्द भएको केन्द्र बन्दै हुन पुग्यो ।

सिलाइसम्बन्धी ज्ञान सर्वसुलभ तुल्याउने उद्देश्यले उनले २०३३ सालमा एउटा कृति पनि प्रकाशित गरेकी छिन्– ‘सुनिता सिलाइ शास्त्र’ । महिला जागरण तथा सीप विकासको क्षेत्रमा उनको योगदान विशिष्ट छ । ‘प्रथम नेपाली सिलाई प्रशिक्षिका’ सुनिता मलेकुको व्यक्तित्व तथा कृतित्व हामी सबैका लागि अविस्मरणीय रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया