बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
कूटनीति

विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै

मङ्गलबार, ०५ साउन २०८३, १८ : ४५
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • प्रधानमन्त्री बालेन शाहले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग एक्लाएक्लै भेट्ने तयारी गरिरहेका छन् ।
  • यसअघि प्रधानमन्त्री बालेनले विभिन्न देशका राजदूतहरूसँग एकसाथ भेटवार्ता गरेका थिए ।
  • प्रधानमन्त्री बालेनले अमेरिका र चीनबाट आएका उच्चस्तरीय प्रतिनिधिहरूलाई भने भेट्न मानेका थिएनन् ।

काठमाडौँ । कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई नभेटेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालमा रहेका विभिन्न देशका राजदूत तथा नियोगमा प्रतिनिधिहरूलाई एक्लाएक्लै भेट्ने तयारी गरिरहेका छन् ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार नेपालस्थित विभिन्न देशका राजदूतसँग भेट्ने तयारी भइरहेको छ । त्यसका लागि समयतालिका बनाउने काम भइरहेको स्रोतले जनायो ।

पहिलो चरणमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव, त्यसपछि चिनियाँ राजदूत चाङ माओमिङसँग भेट्ने कार्यक्रम छ । यद्यपि भेटघाटको समय तय नभएको स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार त्यसपछि अन्य राजदूतलाई भेट्ने कार्यक्रम छ । विदेशी राजदूत तथा नियोगका अधिकारीहरूलाई प्रधानमन्त्रीले नभेटेको भन्दै आलोचना भइरहेको थियो । चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनले चैत २५ गते विभिन्न देशका राजदूतसँग एक साथ भेटवार्ता गरेका थिए ।

सो भेटमा विभिन्न देशका राजदूतले बालेनलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा नेपालको परराष्ट्र नीतिको बारेमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले राजदूतहरूलाई ब्रिफ गरेका थिए ।

त्यसपछि जेठ १२ गते काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ सदस्य राष्ट्रका राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग प्रधानमन्त्री बालेनले संयुक्त रूपमा भेटेका थिए । काठमाडौंस्थित आवासीय राजदूत र दिल्लीस्थित गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूको वार्षिक बैठकमा सहभागी हुन नेपाल आइपुगेका युरोपेली युनियनका राजदूतहरूले प्रधानमन्त्री बालेनसँग भेट्ने चाहना गरेपछि त्यसरी संयुक्त रूपमा भेटेका थिए ।

बालेन प्रधानमन्त्रीमा नियुक्त भएपछि अमेरिका र चीनबाट पटक–पटक उच्चस्तरीय भ्रमण भएको थियो, तर उनीहरूमध्ये कसैसँग प्रधानमन्त्री बालेनले भेट गर्न मानेका थिएनन् । वैशाख ७–९ गतेसम्म अमेरिकी विदेश मन्त्रालयअन्तर्गत दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुरले नेपाल भ्रमण गरेका थिए ।

त्यसपछि वैशाख १७ देखि १९ गतेसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसिया तथा मध्य एसिया हेर्ने विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले पनि नेपाल भ्रमण गरेका थिए । त्यसपछि जेठ १६ गतेदेखि अमेरिकी कूटनीतिज्ञ र सार्वजनिक मामिला हेर्ने उपविदेशमन्त्री सारा बी रोजर्सले नेपाल भ्रमण गरेका थिए । तीनै जनाले प्रधानमन्त्री बालेनसँग भेट्ने प्रस्ताव गरेका थिए तर कसैसँग भेट भएन ।

असार २३ गते चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ चार दिने नेपाल भ्रमण आएका थिए । त्यसअघि पनि चीनबाट विभिन्न भ्रमण भएका थिए । प्रधानमन्त्री बालेनले ती कसैसँग भेट गरेनन् । प्रधानमन्त्री बालेनले भेटघाटको समय नदिएपछि भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रस्तावित नेपाल भ्रमण नै स्थगित गरेका थिए । हालै भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर नेपालको भ्रमण गरी फर्किएका छन् । यसरी पछिल्लो समय नेपाल भ्रमणमा आएका विदेशी राजनीतिक तथा कूटनीतिक प्रतिनिधिले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरे पनि प्रधानमन्त्रीसँग भेट गर्न पाएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप