शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘स्वर्ग मेरो’ लिएर आए ओकिली

आइतबार, ०४ साउन २०८२, १५ : ५४
आइतबार, ०४ साउन २०८२

काठमाडौँ । ९० को दशकमा ‘मेरी ओकिली...’, ‘झ्यालबाट हेर...’ जस्ता गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियता कमाएका गायक अनिस ‘ओकिली’ सापकोटाले नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन् ।

अमेरिकामा बसेर पनि नेपाली संगीतलाई निरन्तरता दिँदै आएका उनले यो गीतमा शब्द, संगीत र स्वर आफैँले दिएका छन् । 

‘मैले अमेरिकामा पनि नेपाली दाजुभाइ/दिदीबहिनीका लागि गीत गाइरहेँ, कहिल्यै छोडिनँ र निरन्तरता दिइरहेको छु । यसपटक गीत तयार गर्नुका साथै भिडियोमा आफैं प्रस्तुत हुनु मेरो लागि फरक अनुभव रह्यो’, उनले भने । 

उनले लगभग तीन महिनामा यो गीतलाई तयार गरेका हुन् । पप/सफ्टरक विधामा पर्ने गीतमा उनले मायाको वर्णन गरेका छन् । यसपटक म्युजिक भिडियोमा समेत उनी आफैं प्रस्तुत भएका छन् । गीतमा ओकिलीसँगै एरिशा श्रेष्ठले मोडलिङ गरेकी छन् । गीतको भिडियो गायक तथा संगीतकार जेम्स प्रधानले तयार पारेका हुन्, जसमा छायांकन, सम्पादन, रंग संयोजन र निर्देशन उनकै रहेको छ । अमेरिकाको रमणीय दृश्यमा खिचिएको यो गीतले दर्शकको ध्यान तान्नेमा ओकिली विश्वस्त छन् ।

‘एउटा प्रेमभावको गीत तयार गर्ने इच्छा यसपटक पूरा भएको छ । यो गीतले प्रेमको काल्पनिक संसारमा वर्णन गरेको छ’, उनले भने ‘मेरा अघिल्ला गीतमा अरु नै मोडल छन् । तर यसपटक गीतको भावअनुसार निर्देशक जेम्स दाईले खेल्ने प्रस्ताव राख्नुभएपछि म आफैँ अगाडि आएको हुँ ।’ 

पछिल्लो समय ‘रिदम काठमाडौँ’ नामक गीतिसंग्रह ल्याएका ओकिलीले यसपटक सिङ्गल ट्रयाक ल्याएका छन् । प्रचारप्रसारसँगै तयार गर्न पनि सजिलो हुने भएकाले उनले यसपटक एउटा गीत मात्र लिएर आएको बताए । उक्त गीतलाई जेनरिक्सले एरेन्ज गरेका हुन् । उक्त गीतलाई अनिश ओकिली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

नेपाली–अमेरिकी संगीतकार ओकिलीले १९९० को दशकमा नेपालमा ‘ओकिली’ ब्यान्डको संस्थापक सदस्यका रूपमा संगीत यात्रा सुरु गरेका थिए । ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिम्रो बानी ब हो’, ‘तिमी नै राम्री’ र पछिल्लो ‘सिमला भुवा’ मार्फत उनले विश्वभरका नेपाली दर्शकमाझ पहिचान बनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप