यस कारण अर्को कार्यकाल पनि ओलीकै नेतृत्व आवश्यक छ
सारांश
- नेकपा एमाले अहिले निर्णायक मोडमा उभिएको छ, र केपी शर्मा ओलीलाई अर्को कार्यकाल अध्यक्ष बनाउन आवश्यक देखिन्छ।
- ओलीको नेतृत्वले पार्टीलाई विभाजनबाट जोगाएको र राष्ट्रिय स्वाभिमानको पक्षमा उभिएको थियो, जसले उनको नेतृत्वलाई महत्वपूर्ण बनाएको छ।
- पूर्व राष्ट्रपति विद्या भण्डारीको पुन: सक्रियतालाई स्वागत गर्दै, पार्टीले उनको अनुभवको सदुपयोग गर्नुपर्नेछ।
नेपालको कम्युनिस्ट आन्दोलनमा दशकौँसम्म केन्द्रीय भूमिका निर्वाह गर्दै आएको नेकपा (एमाले) अहिले एक निर्णायक मोडमा उभिएको छ।
नेतृत्व हस्तान्तरण वा निरन्तरताको बहस पार्टीभित्र तीव्र रूपमा चलिरहँदा अहिलेको राजनीतिक परिप्रेक्ष्यमा केपी शर्मा ओलीलाई अझै अर्को कार्यकालका लागि अध्यक्ष बनाउनु अपरिहार्य देखिन्छ। ओलीको अनुभव, दूरदृष्टि र पार्टी निर्माणमा देखिएको निरन्तर सक्रियता आज पनि सान्दर्भिक र आवश्यक छन्।
- अनुभव, नेतृत्व र दूरदृष्टि
केपी शर्मा ओलीले आफ्नो लामो राजनीतिक जीवनमा आन्दोलन, संगठन र शासन सबै तहमा विशिष्ट योगदान पुर्याइसक्नु भएको छ। संविधान जारी गर्ने संवेदनशील चरणमा देखाएको उहाँको सक्रियता, राष्ट्रिय हितमा स्पष्ट र निर्भीक अभिव्यक्ति, तथा भारतसँगको रणनीतिक सन्तुलनमा देखिएको राजनीतिक कौशल समकालीन नेताहरूमा दुर्लभ विशेषता हो। यस्तै कठिन घडीमा कार्यकर्तालाई एकताबद्ध बनाउन सक्ने नेतृत्व अहिले पनि ओलीमै देखिन्छ। अहिलेको आन्तरिक द्वन्द्व र असन्तोषको बिचमा पार्टीलाई सुरक्षित रूपमा हाँक्न अनुभवी नेतृत्व अपरिहार्य छ। जुन काम ओली बाहेक तत्काल अरूबाट अपेक्षा गर्नु हतारो हुन सक्छ ।
- विभाजनपछिको पुनर्जागरण
नेतृत्व विवादकै कारण एमाले विगतमा विभाजनको सिकार भएको तीतो यथार्थ हाम्रा सामु छ। तर त्यसपछिको अवस्थालाई पुनः सशक्त रूपमा उकास्ने काम ओलीकै नेतृत्वमा सम्भव भयो। पार्टी सत्ताबाट बाहिर हुँदा, सबै राजनीतिक शक्तिहरू एकजुट भएर एमालेविरुद्ध उभिँदा पनि एमालेको अस्तित्व र शक्ति जोगाउनु ओलीकै दूरदृष्टिको परिणाम हो। स्थानीयदेखि सङ्घीय चुनावसम्मको सशक्त उपस्थिति त्यसको प्रमाण हो।
- विकल्पको बेमौसमी बहस
वर्तमान समयमा ओलीबाहेकका सम्भावित अध्यक्षीय उम्मेदवारहरू अहिले खोज्नु पर्छ जस्तो लाग्दैन । अहिलेको विषम परिस्थितिलाई हाँक्न सक्ने हक्की नेता ओलीबाहेक अर्को हुन सक्ने अवस्था पनि छैन । यी सबै परिस्थितिले ओलीलाई यति बेला निर्विकल्प उम्मेदवार बनाएको हो । विचार, संगठन सञ्चालन, जनसम्पर्क र राष्ट्रिय रणनीतिका विषयमा ओलीको स्पष्टता, गहिराइ र अनुभवलाई पार्टीले अझै उपयोग गर्नु पर्ने देखिन्छ । नेतृत्व हस्तान्तरण केवल अनुहार फेरिने प्रक्रिया होइन; त्यो विचार, रणनीति र संकट व्यवस्थापनमा दृढ क्षमताको माग गर्दछ। ओलीले प्रदर्शन गरिसकेको नेतृत्वको स्तर तत्काल अरू नेताबाट अपेक्षा गर्नु पार्टीकै लागि जोखिमपूर्ण निर्णय हुनेछ।
- कूटनीति र राष्ट्रिय स्वाभिमानको पहरेदार
ओलीको कार्यकालमा भारत र चीनसँगको सम्बन्ध सन्तुलित राख्न गरिएको कूटनीतिक प्रयास उल्लेखनीय छन्। संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीको विरुद्धमा राष्ट्रिय स्वाभिमानको पक्षमा उभिँदा ओलीले देखाएको नेतृत्व केवल एमाले होइन, सारा नेपाली जनताको आत्मसम्मानसँग जोडिएको थियो। अहिलेको जटिल अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा त्यस्तो स्पष्ट दृष्टिकोण र नेतृत्व झनै आवश्यक देखिन्छ।
- पूर्व राष्ट्रपति विद्या भण्डारीको आगमनलाई कसरी बुझ्ने?
पूर्व राष्ट्रपति विद्या भण्डारीले राजनीतिमा सक्रिय भूमिका खेल्ने घोषणा गरेसँगै पार्टी पङ्क्तिमा चर्चा चुलिएको छ। निःसन्देह उहाँ एमालेकी अनुभवी नेतृ हो , जसले महिला आन्दोलन र संसदीय राजनीतिमा योगदान दिनुभएको छ। तर विगत ८ वर्ष कार्यकारी भूमिकाबाट टाढा रहँदा संगठनात्मक स्तरमा उहाँको सक्रियता सीमित रह्यो। नेकपा एमाले जस्तो जटिल र विशाल संगठनको नेतृत्व गर्न आवश्यक रणनीति, आन्तरिक समन्वय र गठबन्धन निर्माणमा उहाँलाई थप अनुभव आवश्यक देखिन्छ। उहाँको पुनर्सक्रियतालाई स्वागत गरिनु पर्दछ, पार्टीले उहाँको चाहना र पार्टीको आवश्यकतालाई ध्यानमा राखेर उहाँलाई जिम्मेवारी दिइनुपर्छ । पार्टीको पूर्व उपाध्यक्ष समेत भएको नाताले पार्टी सुदृढीकरणमा लाग्ने उहाँको चाहनालाई सबैले स्वागत गर्नै पर्छ ।
- निष्कर्ष
ओलीको नेतृत्वमा एमालेले विगतमा हासिल गरेका उपलब्धिहरू अहिले पनि पार्टीले खोजिरहेको छ। राष्ट्रिय स्वाभिमानमा अडिग अडान, संगठनात्मक चुस्तता, विकास प्रतिको दृढता र अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलित दृष्टिकोण ओलीको विशेषता हो। उहाँको अनुभवी नेतृत्वबिना एमालेलाई सुदृढ बनाउने र देशलाई समृद्धिको बाटोमा डोर्याउने लक्ष्य अपुरो हुन सक्छ।
यही कारण अर्को कार्यकाल पनि केपी शर्मा ओलीकै नेतृत्व अपरिहार्य देखिन्छ। उहाँकै नेतृत्वमा पार्टी अखण्ड, संगठित र भविष्यमुखी बन्नेछ भन्नेमा एमालेजन मात्र होइन, राष्ट्रिय राजनीतिका सजग आम मान्छे पनि ढुक्क छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण