बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
स्थानीय तह

धरानमा हर्क सम्पाङको लोकप्रियता बढ्यो कि घट्यो ?

साम्पाङको श्रम अभियानमा अहिले पनि सयौँ व्यक्तिको ताँती
सोमबार, ०५ साउन २०८२, १६ : १०
सोमबार, ०५ साउन २०८२

सारांश

  • धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा खानेपानीको पाइपलाइन निर्माणका लागि श्रमदान अभियान चलिरहेको छ।
  • श्रमदानमा युवा, वृद्धवृद्धा, र विभिन्न पेशाका मानिसहरूको उत्साहजनक सहभागिता रहेको छ, तर केहीले यसको आलोचना पनि गरेका छन्।
  • विभिन्न राजनीतिक दलहरू र स्थानीय नेताहरूबीचको सम्बन्ध तथा आगामी निर्वाचनमा हर्क साम्पाङको सम्भावित नतिजाबारे चर्चा भइरहेको छ।

विराटनगर । गत शनिबार बिहान ९ बजेतिर धरानको पटनाली खोला हुँदै कोकाहा खोलाबाट ल्याएको खानेपानीको पाइपलाई भूमिगत गर्न श्रमदाताको लस्कर लम्किँदै थियो । ह्याण्ड माइक बोकेर काजी डाँडो उक्लिँदै गएका धरान उपमहानगर प्रमुख हर्क साम्पाङले भने, ‘ए है...ए है... धराने ।’

त्यति भन्नेबित्तिकै सबैले औजार बोकेका हात उठाएर हुटिङ गरे । जङ्गल गुञ्जायमान भयो । साम्पाङकै लागि बनाइएका गीतका भाकाहरूका साथमा के बुढाबुढी, के केटाकेटी, युवायुवती सबै श्रमदान अभियानमा हिँडेको देखिन्थ्यो ।

हातमा बेल्चा र गैँती बोकेका सयौँ अनुहारको लस्कर पटनालीको फेदबाट उकालो लागिरहेको दृश्य हेर्न लायक थियो । धरानको चिरपरिचित खानेपानी समस्या समाधान गर्न कोकाहा खोलाको पानीलाई सहरसम्म पुर्‍याउने अभियानमा युवा, वयस्क र वृद्धवृद्धा एकसाथ जुटेका छन् । त्यो पनि एक पटक होइन, दुई पटक होइन, हप्तौँहप्ता यस्तै श्रम भइरहेको छ ।

514178957_1267886138466447_986171667410928558_n

परम्परागत राजनीतिक नेतृत्व प्रायः चिल्ला गाडी र औपचारिक कार्यक्रममा सीमित हुन्छ, तर यी तस्बिरहरूमा हर्क साम्पाङ आफैँ कार्यक्षेत्रमा छन् । कहिले काँधमा गैँती बोकेर भिडको अगाडि हिँडिरहेका छन् । कहिले सहभागीहरूसँग संवाद गरिरहेका छन् त कहिले कामको प्रत्यक्ष कमाण्ड सम्हालिरहेका छन् ।

उनको उपस्थिति कुनै पर्यवेक्षकको जस्तो होइन, बरु एक सहकर्मी र अभियानको मुख्य सिपाहीको जस्तो देखिन्छ । कोही पानीको बोतल बोकेर सहयोगी बनिरहेका छन्, कोही बेल्चा चलाइरहेका छन्, त कोही केवल उपस्थित भएर नैतिक समर्थन दिइरहेका छन् । बेल्चा र अन्य औजारहरू पिक–अप गाडीबाटै लगिएको थियो ।

सेतो टिसर्ट र हाफ पाइन्टमा सजिएका ऊर्जाशील युवाहरूदेखि लिएर पाका व्यक्तिहरूसम्म– सबैको एउटै लक्ष्य छ ‘धरानको विकास’ ।

Harka Sampang Shram Aviyan (3)

धरान–९ का कुन्दन श्रेष्ठलाई पहिले हर्क साम्पाङ बोलेको मनै पर्दैनथ्यो, तर जब हर्कले श्रम अभियान सुरु गरे, त्यसपछि राम्रो लागेर उनी पनि श्रम अभियानमै जोडिए । ‘पहिले म अर्कै थिएँ । हर्क छुच्चो मान्छेजस्तो लाग्थ्यो र मन पर्दैन थियो । तर, जब उहाँले काम गर्न थाल्नुभयो, त्यसले मलाई तान्यो र म पनि अभियानमा जोडिएँ,’ श्रेष्ठले भने ।

धरान–१७ का लक्ष्मीराम कार्की नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन् । गत शनिबार हर्क साम्पाङले नेतृत्व गरेको श्रमदाताको लस्कर हेरिरहेका उनले भने, ‘हामीजस्तो मानिस जान भ्याउँदैनौँ । भ्याउनेहरू जाने हो । कसैले केही काम गर्छ भने त्यो खण्डन गर्नु हुँदैन ।’

Harka Sampang Shram Aviyan (12)

हर्क साम्पाङले श्रमदान गरेको कार्कीलाई पनि मन पर्छ । तर, उनी आफ्नै घर व्यवहारको कामले जान भ्याउँदैनन् ।

हर्क साम्पाङले आगामी निर्वाचनमा फेरि जित्लान् ? भनेर सोधेको प्रश्नमा कार्कीले भने, ‘मैले केही सुन्नु परेको पनि छैन । खण्डन गर्नु पनि परेको छैन । स्वतन्त्र भनेर उसलाई हेपिरहेका छन् । सबै चोर पार्टी छन् ।’

कार्कीले मूलधारका भनिएका पार्टीहरूको आलोचना गरे । हर्कका केही कुरा उनलाई मन पर्दैन । साम्पाङको ‘गुइँठे’ र ‘चोर–चोर’ भनेर फेसबुकमा लेखेको या गीत गाएको आफूलाई मन नपर्ने उनले सुनाए ।

Harka Sampang Shram Aviyan (11)

‘नगरपिताले त्यसो भन्दा अरुले सुन्दा के बुझ्लान्,’ कार्कीले भने । ०७९ सालमा कांग्रेसका उम्मेदवारलाई मत दिएका उनले ०८४ मा के हुन्छ भन्ने कुरा स्पष्ट बताउन चाहेनन् ।

स्वतन्त्र उम्मेदवार बनेर विजयी बनेका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको लोकप्रियता घट्यो कि बढ्यो ? यो विषयमा चासो र चर्चा छ । तर, साम्पाङको श्रमदान अभियानमा सहयोग गर्नेहरू भने लोकप्रियता बढिरहेको बताउँछन् ।

Harka Sampang Shram Aviyan (18)

कतिपयले हर्क साम्पाङको श्रमदानमा मानिसहरू ‘मासुभात खान’ गएको भनेर आलोचना पनि गर्छन् । तर, मासुभात खानै नपाउनेहरू होइन, धेरैजसो फुर्सदिला, जाँगरिला र हुनेखाने धरानेहरू नै श्रमदानमा जोडिएका छन् ।

धरान–१० का बुद्धि प्रधान केही वर्ष अगाडि भारतीय सेनाबाट अवकाश पाएर आए । त्यसपछि उनी हर्क साम्पाङको श्रम अभियानमा जोडिएर काम गरिरहेका छन् । ‘उमेर हुँदासम्म लाहुरे जीवन बिताइयो । अर्कैको लागि योगदान गरियो । अब धरानको लागि गर्ने हो,’ उनले भने ।

Harka Sampang Shram Aviyan (20)

नागरिक समाजका अगुवा प्राध्यापक डाक्टर टंक न्यौपानेको विश्लेषणमा साम्पाङको समर्थनमा सर्वसाधारणको सङ्ख्या बढेको छ । ‘माथिल्ला तहका शिक्षित राजनीतिज्ञहरू उनको विपक्षमा छन् । दलहरूप्रतिको वितृष्णा र धरानको मुख्य मुद्दामा केन्द्रित भएकाले चुनावपछि उनको जनमत झनै बढेको छ,’ प्राध्यापक डाक्टर न्यौपानेले भने ।

उनले हर्क साम्पाङ आफैँ ढुङ्गा, गिट्टी बोकेर श्रममा लागेकोमा प्रशंसा गरे । यसलाई एउटा राजनीतिक आदर्शका रूपमा हेर्नुपर्ने उनको भनाइ छ । यद्यपि अहिले साम्पाङमा अहम् बढेको उनले बताए । सामाजिक सञ्जालमा जे पायो त्यही लेख्ने बानीलाई नकारात्मक पक्षको रूपमा आफूले लिएको उनले प्रस्ट पारे ।

Harka Sampang Shram Aviyan (24)

एमालेबाट विजयी धरान–४ का वडाध्यक्ष धनबहादुर राई पनि हर्क साम्पाङको अभियानमा निरन्तर लागिरहेका छन् । उनलाई एमालेले कारबाही गर्ने तयारी गरेको छ । तर, यस घटनाले पनि साम्पाङका समर्थकहरू बढेकै सङ्केत गर्छ ।

नगरप्रमुख साम्पाङ र अरू जनप्रतिनिधिबिचको विवादलाई पनि प्राध्यापक न्यौपानेले स्वतन्त्र व्यक्ति र पार्टी प्रतिनिधिबिचको द्वन्द्वको रूपमा हेरेका छन् ।

Harka Sampang Shram Aviyan (1)

‘भ्रष्टाचार रोक्न खोज्ने मेयरको प्रयास र आफ्नो क्षेत्रको बजेटमाथि नियन्त्रण खोज्ने वडाध्यक्षहरूको चाहनाबिचको टकराव हो जस्तो मलाई लाग्छ,’ न्यौपानेले भने ।

धरानमा आगामी निर्वाचनमा फेरि हर्क साम्पाङले जित्ने हो कि भन्ने चिन्ता दलहरूमा देखिन्छ । अहिलेका ठुला पार्टी भनिएका कांग्रेस, एमाले र माओवादीहरू आगामी निर्वाचनमा एक्लाएक्लै भिड्छन् कि संयुक्त रूपमा साम्पाङसँग भिड्लान् ? अहिले नै अनुमान लगाउनु हतारो हुन्छ । तर, व्यक्तिगत हिसाबमा चिया चौतारोमा यसबारे छलफल भइरहेकै छन् ।

धरानकै सन्तोष काफ्ले भन्छन्, ‘आगामी निर्वाचनमा दलहरू एक्लाएक्लै लडे भने साम्पाङले चुनाव हार्छन् । गठबन्धन गरे भने फेरि साम्पाङले चुनाव जित्छन् ।’ गठबन्धन गरे असन्तुष्ट मतहरू साम्पाङमा केन्द्रित हुने उनको विश्लेषण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप