सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

जोगिन्दरको नेताहरूलाई झटारो ‘मिसन नौटङ्की’

बुधबार, ०७ साउन २०८२

काठमाडौँ । हास्य र  व्यङ्ग्यको पर्व ‘गाईजात्रा’ नजिकिँदै गर्दा यसैलाई लक्षित गर्दै हास्य व्यङ्ग्य सामाग्री पनि बजारमा भित्रिने गर्छन् । सोही क्रममा लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ ले नेताहरूलाई व्यङ्ग्यको झटारो हान्दै गाईजात्रे कमेडी कोसेली ‘मिसन नौटङ्की’ ल्याएका छन् ।

ओएसआर डिजिटल मार्फत सार्वजनिक ‘मिसन नौटङ्की’ मा उनले देशमा सबैको चासो र चिन्ताको विषय भ्रष्टाचार र नेताहरूको गलत क्रियाकलाप उठाएका छन् । उनले पछिल्लो समय जुनै दलको नेताहरूले भन्ने गरेको ‘मिस चौरासी’ का विषयलाई समेत नौटङ्कीको रूपमा सङ्ख्या दिँदै तिखो व्यङ्ग्य गरेका छन् । 

नेताहरूको क्रियाकलाप र समाजका विकृति विसंगतिमाथि व्यङ्ग्य गर्दै दर्शक तथा श्रोतालाई हास्य व्यङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिने उद्देश्यले ‘मिसन नौटङ्की’ सार्वजनिक गरेको कलाकार रिजालले बताए ।

हरेक वर्ष जस्तै यो पटक पनि उनले आफ्नो ‘गाईजात्रे’ कोसेलीमा प्यारोडी समेटेका छन् । यसपटक उनले हिट फिल्म ‘जाजै जात्रा’ को गीत ‘लाइदेउ माया पिरिम’ मा प्यारोडी बनाएका छन् । जसमा रवि लामिछानेको जेल, नेताहरूको क्रियाकलाप, भ्रष्टाचार, लुटपाट लगायतका विषय उठाएका छन् । 

२०६१ देखि नियमित ‘जाइजात्रे’ कोसेली ल्याउँदै आएका रिजालको ‘मिसन नौटङ्की’ २२ औँ कोसेली हो । गतवर्ष उनले ‘लुछाचुडी’ ल्याएका थिए ।

‘मिसन नौटङ्की’ मा रिजालको अलवा राधिका हमाल, प्रेम शर्मा पौडेल, साबित्रा लामिछाने ‘सबु’, धिरेन्द्रसिंह, किरण खनाल, वेदमणि अधिकारी, बलराम धमला ‘ठुले दाइ’, सबिना बिक, भीम परियार, र बालकलाकार पोस्ना श्रेष्ठको अभिनय छ । ‘मिसन नौटङ्की’ लेखन, प्रस्तुति र निर्देशन रिजाल आफैँ गरेका हुन् ।

गाईजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव भएकोले सधैँ झैँ यो वर्षपछि गाईजात्रे झटारो ल्याएको रिजालले बताए । ‘सधैँ झैँ यो वर्ष पनि दर्शक श्रोताले मेरो कोसेलीमा माया दिनुहुन्छ भन्ने विश्वास छ’, रिजालले भने  । रिजाल अहिले राष्ट्रिय नाचघरले आयोजना गर्ने गाईजात्रे कार्यक्रम तयारीमा जुटेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया