बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
वैदेशिक रोजगार

भिजिट भिसामै गएर करिब ७० हजार नेपाली यूएईमा कार्यरत, दैनिक दर्जनभन्दा बढी डिपोर्ट

एक वर्षमा ३१२ जना नेपालीको मृत्यु
बुधबार, ०७ साउन २०८२, १९ : ३०
बुधबार, ०७ साउन २०८२

सारांश

  • यूएईमा करिब ८ लाख नेपाली कार्यरत रहेको अनुमान छ, जसमध्ये ७० हजार भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन भएका छन्।
  • यूएईमा काम गर्ने क्रममा दैनिक १२-१५ जना नेपाली डिपोर्ट हुने गरेका छन् भने ३४३ जना जेलमा छन्।
  • सरकारले यूएई जाने श्रमिकको न्यूनतम तलब १ हजार दिराम तोकेको छ, र गत वर्ष ३१२ नेपालीको मृत्यु भएको थियो।

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा करिब ८ लाख नेपाली कार्यरत रहेको पाइएको छ ।  तीमध्ये करिब ७० हजार नेपाली नेपालबाट भिजिट भिसामा त्यहाँ पुगेर अहिले वर्किङ भिसामा रूपान्तरित भइ कार्यरत रहेको आबुधाबीस्थित नेपाली दूतावासको अनुमान छ । यस बाहेक कैयन नेपाली भिजिट भिसा मार्फत दुबईलाई ट्रान्जिट बनाएर त्यहाँबाटै सेटिङमा अन्य मुलुकमा  पनि पुग्ने गर्छन् ।

 यूएईस्थित नेपाली दूतावासका कन्सुलर (श्रम) दीपेन्द्र पौडेलले यूएई नेपाली श्रमिकको आकर्षक गन्तव्य बनिरहेको तथ्यांकले नै देखाउने बताए । उनका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ को ११ महिनाको अवधिमा मात्रै २ लाख १ हजार १४८ यूएईमा पुगेका छन् । 

भिजिट भिसामा पुगेका ७० हजारले पनि श्रमिककै रूपमा काम गरिरहेकाले उनीहरूलाईसमेत श्रमिककै श्रेणीमा लिनुपर्ने उनले बताए। 

उसो त कुल कामदारमध्ये दैनिक दर्जनभन्दा बढी नेपाली कामदार विभिन्न कारणले डिपोर्ट यूएईबाट भइरहेका छन् । ‘यूएईबाट दैनिक रूपमा औसत १२–१५ जना नेपाली डिपोर्ट हुने गरेका छन्। उनीहरू प्रायः अध्यागमन कानुन उल्लंघन (ओभरस्टे, कम्पनी छोडेर भाग्ने, फ्रड) जस्ता मामिलामा परेका हुन्छन्’, पौडेलले भने । 

 दूतावासका अनुसार अहिले झण्डै ३४३ जना नेपाली यूएईको जेलमा छन् भने डिटेन्सनमा राखिएकाहरूको संख्या दैनिक फेरिइरहन्छ। डिटेन्सनमा राखिएका व्यक्तिलाई सामान्यतया १० दिनदेखि तीन महिनासम्म राखिएपछि ट्राभल डकुमेन्ट बनाएर नेपाल पठाइने गरिन्छ।

‘८ लाख नेपालीमध्ये दैनिक १२–१५ जना डिपोर्ट हुनु भनेको अत्यन्तै सानो प्रतिशत हो’, पौडेलले रातोपाटीसँग भने । 

519020527_24402632486034158_2709788109761527966_n

  • सीपको अभावले समस्या

अधिकारीहरूका अनुसार यूएईमा २०–२२ वर्ष उमेरका थुप्रै नेपाली युवा सीप तथा अनुभव बिना नै काम गर्न जान्छन्। नेपालमा कुनै पेसागत तालिम नलिएका त्यस्ता युवा यूएईजस्ता प्रतिस्पर्धात्मक श्रम बजारमा आफू अनुकूल नभएपछि समस्यामा पर्ने गरेका हुन् ।  दूतावासकै अर्का एक अधिकारीले भने, ‘हाम्रा नेपाली ठुलो सपना लिएर यहाँ आउँछन्, तर धेरैको न त सीप हुन्छ न त भाषा। यसैले समस्या उत्पन्न हुन्छ ।’

उनका अनुसार विशेषगरी लाइफ गार्ड, सेक्युरिटी गार्ड, हाउस किपिङ आदि क्षेत्रमा काम गर्नेहरूलाई उच्च सतर्कता र जिम्मेवारी चाहिन्छ। यी क्षेत्रमा अलिकति गल्ती हुँदा पनि ज्यान जोखिममा पर्न सक्छ। 

केहीअघि मात्रै एक नेपाली लाइफ गार्ड युवराज थापा (सल्यान) विरुद्ध ड्युटीमा एक व्यक्तिको डुबेर मृत्युपछि ब्लड मनीबापत ८३ लाख रुपैयाँ नेपालबाट संकलन गरेर भुक्तानी गर्नुपरेको थियो।  यस्तै अर्का जीवन पुरी पनि १ लाख १० हजार दिराम ब्लड मनी तिर्नु परेको थियो।

हालैमात्र सरकारले कामदारका लागि १ हजार दिराम भन्दा कम तलब सुविधा भए मागपत्र प्रमाणीकरण नगर्ने निर्णय गरेको थियो । श्रममन्त्री शरतसिंह भण्डारीले मन्त्री स्तरीय निर्णय गर्दै युएई जाने श्रमिकको न्यूनतम तलब एक हजार दिराम तय गरेका हुन् ।

युएई नेपाली कामदारका लागि आकर्षण गन्तव्यको रूपमा रहेकाले दूतावासकै सुझावका आधारमा न्यूनतम तलब १ हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्री स्तरीय निर्णय गरिएको हो । 

युएई जाने कामदारको हकमा पहिले ८ सय, हजार र १२ सय दिराम तलबको अनुपात लागु थियो । तर, अब अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्युन्तम १ हजार, १२ सय र १५ सय दिराम तलब निर्धारण गरिएको छ । 

नेपाल सरकारको जुन निर्णयका आधारमा अब नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्नुपर्ने छ । 

यद्यपि यूएई सरकार स्वयंले भने न्यूनतम तलब तोकेको छैन। नेपालले जस्तै अधिकांश देशहरूकै सरकारले तलब दर तोकेको पाइन्छ । ‘यूएईकै हकमा भने त्यहाँको मार्केटले स्यालरी डिसाइड गर्छ। नेपाल सरकारले भनेको न्यूनतम स्यालरी हामीले मार्केटअनुसार तोकेको हो,’ कन्सुलर पौडेलले भने । 

आकर्षक गन्तव्य भएर नै यूएईमा नेपालीको उपस्थिति लगातार बढ्दो क्रममा रहेको बुझाइ राजदूत तेजबहादुर क्षेत्रीको छ । 

tejbahadur

 श्रम स्वीकृति लिएर गएका ६ लाख ५० हजार नेपाली, भिजिट भिसाबाट रूपान्तरण भएका करिब ७० हजार, परिवार, पर्यटक, विद्यार्थी, इन्भेस्टमेन्ट तथा गोल्डेन भिसा लिनेहरूसमेत गरेर नेपालीको कुल संख्या झण्डै ८ लाख पुगेको अनुमान उनको भनाइ छ । 

  • एक वर्षमा ३१२ जनाको मृत्यु

एक वर्षको अवधिमा यूएईमा कार्यरत ३१२ जना नेपालीको मृत्यु भएको छ ।दूतावासका अनुसार गत वैशाखमै मात्र ३५ जनाको शव नेपाल पठाइएको छ । जुन अघिल्लो आर्थिक वर्षको सबैभन्दा बढी हो । अहिले कुनै पनि शव यूएईमा बाँकी नरहेको बताइएको छ । कहिलेकाहीँ पुलिस केस हुँदा शव नेपाल पठाउन ढिलाइ हुने गरेको छ । 

  • ७० करोड राजश्व 

यस्तै दूतावासले गत आर्थिक वर्षमा करिब ७० करोड राजश्व संकलन गरेको छ । जुन संकलन दर हालसम्मकै उच्च भएको राजदूत क्षेत्रीको भनाइ छ । यद्यपि नेपालीको चाप र सीमित जनशक्ति र स्रोत साधनका कारण काम गर्न कठिनाइ भने रहेको उनको भनाइ छ । सीमित स्रोत साधनका बीच पनि नेपाली समूदायलाई दूतावासले हरदम सेवा दिइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप