बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
अपडेट

बैंक ब्यालेन्स देखाउने नाममा ठग्ने विशाल घिमिरे ३ महिनापछि पुनः पक्राउ

बुधबार, ०७ साउन २०८२, २० : ३३
बुधबार, ०७ साउन २०८२

काठमाडौँ । बैंक ब्यालेन्स देखाउने नाममा ठगी धन्दा चलाउँदै आएका काभ्रे घर भएका विशाल घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर–२ घर भएका विशाल घिमिरे ३ महिनापछि पुनः पक्राउ परेका हुन् । भक्तपुरको लोकन्थली बस्दै आएका २३ वर्षीय घिमिरेलाई टोखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

अमेरिकामा पढ्न जाने विद्यार्थीहरूलाई बैंक ब्यालेन्स देखाउन एक दिन मात्र रकम डिपोजिट गर्न लगाएर ‘कमिसन’को लोभ देखाएर घिमिरेले ठगी धन्दा चलाएका हुन् । २०८२ वैशाख २० मा पक्राउ परेर छुटेका उनलाई प्रहरीले पुनः त्यही धन्दा चलाएको फेला पारेपछि पक्राउ गरेको हो ।

साउन ६ मा पक्राउ परेका घिमिरेले यस पटक १ करोड २० लाख रुपैयाँ ठगी गरेको एसपी आचार्यले जानकारी दिए । उनले रकम डिपोजिट गर्दा खाता प्रयोग गरिएका अरू दुई जना पनि पक्राउ परेका हुन् । सर्लाही घर भएका २५ वर्षीय समीर सिंह र २६ वर्षीय अशोक कुमार यादवको बैंक खाता प्रयोग गरेको भेटिएको छ । सिंह र यादवलाई अपराध अनुसन्धान कार्यालयको टोलीले मकवानपुरको भिमफेदीबाट पक्राउ गरेको हो ।

बैंक ब्यालेन्स देखाउन नाममा पैसा डिपोजिट गर्न लगाउने र सो बापत ‘कमिसन दिन्छु’ भनेर उनले ठग्ने गरेका थिए । पक्राउ परेका तिनैजनालाई थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।

रकम डिपोजिट गरेपछि विद्यार्थी भिसामा अमेरिका जान खोज्नेहरूलाई घिमिरेले बैंकको फर्जी स्टेटमेन्ट बनाइदिएर रकम लिनेसँग सम्पर्क बिहीन हुने गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप