बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य

बुधबार, २४ असार २०८३, २२ : ४५
बुधबार, २४ असार २०८३

काठमाडौँ । पछिल्ला वर्षहरूमा अनलाइन ठगी र मानव बेचबिखनका केही घटनाका कारण कम्बोडियामा नेपाली समुदायमाथि परेको नकारात्मक प्रभावलाई चिर्न नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडिया सक्रिय भएका छन् । दुवै पक्षको संयुक्त सक्रियताले कम्बोडियामा नेपालको सकारात्मक पहिचानलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

यस क्रममा एकातर्फ साइबर अपराध र मानव बेचबिखन नियन्त्रणमा सरकारी स्तरमा कूटनीतिक समझदारी भएको छ भने अर्कोतर्फ बृहत् मानवीय सेवामार्फत स्वास्थ्य कूटनीतिलाई बलियो बनाइएको छ ।

नेपालका लागि कम्बोडियासमेत हेर्ने राजदूत धनबहादुर ओली र कम्बोडियाको परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयकी स्थायी सचिव ईट सोफियाबिच भएको उच्चस्तरीय भेटवार्तामा मानव बेचबिखन, अनलाइन स्क्याम र साइबर अपराध नियन्त्रणमा संयुक्त रूपमा काम गर्ने सहमति भएको छ । भेटमा व्यापार, लगानी, पर्यटन, शिक्षा, कृषि र सार्वजनिक स्वास्थ्य प्रवर्द्धन गर्नेबारे पनि समझदारी बनेको छ ।

राजदूत ओलीले अनलाइन स्क्याम केन्द्रहरूबाट नेपाली नागरिकको उद्धारमा कम्बोडिया सरकारले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्दै अपराधमा संलग्न सीमित व्यक्तिका कारण सम्पूर्ण नेपाली समुदायलाई नकारात्मक दृष्टिकोणले हेर्न नहुने स्पष्ट पारे । ‘नेपाल र कम्बोडियाबिचको सम्बन्ध मानवीय सहकार्य र जनस्तरको विश्वासमा आधारित छ, यस्ता कार्यक्रमले हाम्रो अन्तर्राष्ट्रिय छवि थप बलियो बनाउँछन्,’ राजदूत ओलीले भने ।

साथै, दुई देशबिचको सम्बन्धलाई जनस्तरमा थप प्रगाढ बनाउन कम्बोडियाको कम्पोङ चाम प्रान्तमा पहिलो पटक बृहत् निःशुल्क आँखा उपचार तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ, लुम्बिनी आँखा अस्पताल तथा अनुसन्धान केन्द्र, एनआरएनए कम्बोडिया र नेपाली दूतावासको समन्वयमा आयोजित शिविरमा हजारौँ बिरामीले विशेषज्ञ सेवा पाएका थिए भने सयौँको निःशुल्क शल्यक्रिया गरिएको थियो ।

शिविरमा उल्लेखनीय कम्बोडियाली नागरिकहरूको उपस्थिति रहेको थियो । त्यहाँ उपस्थित सम्पूर्ण आँखाका बिरामीहरूलाई निःशुल्क औषधि तथा १२ सयभन्दा बढीलाई चस्मा वितरण गरिएको थियो । यस सहकार्यअन्तर्गत कम्बोडियाली चिकित्सकहरूलाई नेपालमा तालिम तथा क्षमता अभिवृद्धि गराइने सहमति समेत भएको छ ।

अभियान सफल बनाउन एनआरएनए कम्बोडियाका पूर्वअध्यक्ष एवं एसिया–प्यासिफिक क्षेत्रीय डीआरसी लाल सिंह खड्का, एनआरएनए दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाध्या तथा एनआरएनए कम्बोडियाका अध्यक्ष शिव पराजुली लगायतको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

कार्यक्रमलाई सफल बनाउन दिनरात खटिएका कम्बोडिया निवासी रामप्रसाद पाध्याले नेपाली चिकित्सक र स्वयंसेवकहरूको सेवाले कम्बोडियाली नागरिकको मन जितेको बताए । यस्तै, एनआरएनए कम्बोडियाका अध्यक्ष शिव पराजुलीले नेपाली समुदाय जिम्मेवार, अनुशासित र मानवीय सेवामा समर्पित छ भन्ने सन्देश दिन यो अभियान सफल भएको उल्लेख गरे ।

नेपाली दूतावासले कार्यक्रम सफल बनाउन सहयोग गर्ने एनआरएनए कम्बोडिया, कम्पोङ चाम चेम्बर अफ कमर्स, नेपाल नेत्रज्योति संघ, लुम्बिनी आँखा अस्पताल तथा प्रादेशिक अस्पताल कम्पोङ चामलगायत सबै सहयोगी र चिकित्सकहरूप्रति आभार व्यक्त गरेको छ । कूटनीति, स्वास्थ्य र गैरआवासीय नेपाली समुदायको यो साझा पहलले नेपाल–कम्बोडिया सम्बन्धमा नयाँ आयाम थपेको विश्वास गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप