महिलामैत्री छैन सिरहाको कारागार
सारांश
- सिरहा कारागारमा महिला कैदीबन्दीका लागि आवश्यक सुविधा र संरचनाको अभाव रहेको छ।
- महिला कैदीबन्दीका लागि निर्माणाधीन भवन अधुरो छ र सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण सामग्री प्रयोग गरिएको छ।
- कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन्, जसले गर्दा सुरक्षा र व्यवस्थापनमा समस्या आएको छ।
सिरहा । महिला कैदीबन्दीको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राखी ‘महिलामैत्री’ कारागारको आवश्यकता बारम्बार उठ्दै आएको छ । तर सिरहाको कारागारमा अहिले त्यस्तो कुनै सुविधा उपलब्ध छैन ।
महिला कैदीबन्दीका लागि छुट्टै संरचना नहुनु, बनाइएको भवनमा आवश्यक संरचना नपुगेको र वर्तमान कारागारको भीडभाडले यो समस्या थप जटिल बनाएको कारागार प्रशासक सुवोधकुमार महतोले बताए । उनका अनुसार महिला कैदी तथा बन्दीलाई राख्नका लागि छुट्टै प्रकारको कारागार छैन । महिना दिनअघिबाट यहाँका महिला कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।
महिला कैदीका लागि छुट्टै आवासीय भवन, पर्याप्त र सुरक्षित शौचालय तथा स्नान गृह, शिशुसहितका महिलाका लागि बाल संरक्षण कक्ष, सुरक्षित भेटघाट कक्ष र गोपनीयता सुनिश्चित गर्ने सुविधा आवश्यक मानिन्छ ।
अधुरो भवन, अपूरो योजना
मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटअन्तर्गत करिब रु ६० लाखको लागतमा महिला कैदीबन्दीका लागि भनेर एक नयाँ भवन निर्माण थालिएको भए पनि हालसम्म त्यो अधुरो छ । झन् त्यस भवनमा महिलामैत्री आवश्यक संरचना पनि छैन । कारागार प्रशासक महतोले भने, “कम्पाउन्ड वाल, खानेपानीको सुविधा, शौचालय, सेफ्टीट्याङ्की, सेन्ट्री पोस्ट, भेटघाट कक्ष यति नहुँदासम्म उक्त भवन प्रयोगविहीन हुन्छ ।”
झन् चिन्ताको विषय त उक्त भवनमा प्रयोग गरिएको झ्याल सिसाको हो, जुन सुरक्षाका दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण मानिन्छ । महतो भन्छन्, “त्यहीँ सिसा फुटाएर अवाञ्छित क्रियाकलाप हुने तथा विभिन्न घटना घटाउन सक्ने सम्भावना हुन्छ । किन र कसरी त्यो प्रयोग गरियो, म अनभिज्ञ छु । म यहाँ प्रमुख बनेर आएको डेढ महिनामात्र भएको छ ।”
जीर्ण संरचना र क्षमताभन्दा बढी कैदी
सिरहाको मुख्य कारागार २०२८ सालमा निर्माण भएको हो, जुन आजसम्म स्तरोन्नति गरिएको छैन । पुरानो संरचना, अपुग सुविधा र कैदीबन्दीको अत्यधिक सङ्ख्याले स्थिति अझ भयावह बनाएको छ ।
यो कारागारको क्षमता एक सय ५० जनाको मात्र भए पनि हाल यहाँ चार सय ४२ जना कैदीबन्दी राखिएको छ । साउन ४ गते कारागारभित्रै आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए । हाल उनीहरूको काठमाडौँमा उपचार भइरहेको कारागार प्रशासक महतोले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण