शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
उपन्यास अंश

पर्खाइको एक जुग

शनिबार, १० साउन २०८२, १४ : ००
शनिबार, १० साउन २०८२

पोषित जेल परेपछिको एक जुग मैले सन्तापमै बिताएँ । पोषितको यादमा मुर्झाएको फूलझैँ भइरहन्थेँ, बेलाबेला । घरीघरी रिस उठेर आउँथ्यो, यो राज्यका बेइमानहरूदेखि । घरी लाचार हुन्थेँ र घोत्लिन्थेँ । आफ्नै ल फर्मबाट अन्यायमा परेका कैयौँ व्यक्तिलाई न्याय दिलाउन सफल भएँ तर आफ्नै जिन्दगी भने अन्यायको मुस्लोमा रुमलिरहेको छ । ‘जिन्दगी बारम्बार पाइन्न, तपाईं बन्दीगृहमा कैद भएको प्रेमीको यादमा नबस्नुहोस् । विवाह गर्नुहोस् र रमाइलो जिन्दगीको ढोका खोल्नुहोस्,’ धेरैले मलाई यस्तै भनेर सल्लाह दिन थालेका थिए ।

मसँग उनीहरूलाई दिने जवाफ हुँदैनथ्यो या भनौँ म तिनका आग्रह र सल्लाहलाई हाँसेरै टारिदिन बानी परेकी थिएँ । 

‘सोच बतासजस्तै हो, यत्रतत्र सर्वत्र डुल्न सक्छ, विचारभित्र मुस्कुराउ प्रिया, व्यथा पूरै भाग्न सक्छ ।’

मनले यस्तै गुनगुनाउँथेँ । मनमा उध्रिएका छिद्रहरू सिलाएर आफूलाई वेदना बनेर चुहिनबाट रोकिरहन्थेँ । म त एक थोपा पानी न थिएँ, पोषितको साथ पाएर विचारको समुद्रसम्म पुग्ने बाटो देख्न सबल भएँ । आफूमा भएको प्रतिभामा निखार ल्याउन, हृदयमा जोस भर्न पनि कसैको प्रेरणाको आवश्यकता पर्दोरहेछ ।

छोटाछोटा प्रेम कविताहरू, लघुकथाहरू र गीतका स्थायी–अन्तराहरू मैले उसलाई सुनाएको क्षण सम्झिन्छु । अहिले पनि कविताहरू लेखिरहन्छु तर सुन्नका लागि ऊ मेरो सामीप्यमा छैन ।

‘तिम्रो अभावमा भएका सिर्जना पनि केही अभाव लिएर जन्मन्छन्,’ आफैँसँग संवाद गर्छु, ‘प्रिय स्वप्नद्रष्टा ! तिम्रै आँखा सापटी लिएर हेर्ने गरेकी छु, आजभोलि यो परिवेश । मेरोपनाले ठम्याउँदैन आजभोलि तर तिम्रोपनाले काम गरिरहेछ ।’

विवाहका प्रस्तावहरू धेरै आए, प्रेमका प्रस्तावहरू पनि थुप्रै आए । चिया–कफी खाने र घुम्न जाने प्रस्तावहरू त झन् कति आए, आए । त्यति सजिलै सम्बन्धको, पहिचानको र प्रेमको स्थानान्तरण हुने भए म एक जुगसम्म उर्वर उमेर उसैको पर्खाइमा किन व्यतीत गर्दी हुँ र ? आफूदेखि आफैँलाई आश्चर्य लागेर आउँछ ।

आफ्नै तनमन र मस्तिष्कलाई सफा राख्न नसक्नेहरू पनि मलाई यहाँ धमिल्याउन खोजिरहन्छन्, तर जो मलाई धमिल्याउन आए उनीहरू मेरा व्यवहारले आफैँ हिमनदीझैँ सङ्लिएर गए, पग्लिएर अनन्त बग्ने नाइल भएर गए । यसरी मेरो मनलाई धमिल्याउन हिँडेका उनीहरूको मन आफैँ सङ्लिएर गएको देख्दा म पुलकित भएँ, हर्षविभोर भएँ र धेरथोर लायक पनि भएँ ।

मलाई लाग्छ, जिन्दगीमा गन्तव्य त मिल्छ तर मनले चाहेको ठाउँसम्म पुग्न दुनियाँले अवरोध गरिरहन्छ ।

मेरी अधिवक्ता साथी साधिकाले एकदिन भनिन्, ‘पोषित एक दिन देशको उच्चस्तरको नेता बन्नेछ र उच्च स्थानमा पुगेपछि तिमीलाई उसले लत्याउँछ । मैले नेताहरूमा प्रायः यस्तै गुण देखेकी छु । उनीहरूमा भावना हुँदैन, उपयोग गर्न मात्र जान्दछन् ।’

मलाई उनका कुरामा विश्वासै लागेन । पोषित नेताको नाममा कलङ्क बन्नेछैन, यही विश्वासमा अडेकी थिएँ म । मलाई एक्लै किनारामा छाडेर आफू मात्र नदी तर्ने मानिस ऊ होइन । उसले मलाई धोका दिन्न र देशलाई पनि धोका दिन्न । ऊसँगको सङ्गतबाट मैले यतिचाहिँ पहिचान गरिसकेकी थिएँ ।

पोषितको यादमा एकोहोरिएपछि म डायरी पल्टाउँछु । डायरीमा पोषितको फोटो छ, जसलाई हेरेर म फेरि एक्लै बर्बराउँछु—

तिमीविनाको सपना के सपना 

तिमीविनाको विपना के विपना ? 

बरु मै ढले ढल्लान् सपना

अनि तिमी ढले ढल्लान् विपना  

तिमीविनाको सपना के सपना... !

फेरि आफैँलाई सम्झाउँछु । जिन्दगी बारम्बारको परीक्षा अनि म परीक्षार्थी न हुँ । लाग्छ, असत्यको घुम्टो एक दिन खुल्नेछ र न्यायको पहारिलो घाम लाग्नेछ । पोषितलाई महसुस गर्दै आफैँले आफैँलाई अङ्कमाल गर्छु । मेरो अँगालोमा ऊ भएको आभास गर्छु ।

यौवनको बन्दीगृहभित्र सिरानीलाई पोषित बनाउँदै म मेरो छातीमा टाँस्छु । त्यसमा मेरो प्यारो मान्छेको स्निग्धताले मलाई स्पर्श गर्छ, सुमसुम्याउँछ... । जवानीका खोल्साखोल्सीलाई अलिकति चिस्याएर ऊ सम्झनाका तरेलीहरूमा कौतूकमय क्रीडा बनिरहन्छ ।

मेरी अधिवक्ता साथी साधिकाले एकदिन भनिन्, ‘पोषित एक दिन देशको उच्चस्तरको नेता बन्नेछ र उच्च स्थानमा पुगेपछि तिमीलाई उसले लत्याउँछ । मैले नेताहरूमा प्रायः यस्तै गुण देखेकी छु । उनीहरूमा भावना हुँदैन, उपयोग गर्न मात्र जान्दछन् ।’

‘म कुर्छु । तिमी आउने बाटो जति लामो भए पनि हाम्रो गन्तव्य एउटै हो । दीर्घजीवी, दूरदर्शी र दीर्घकाय भएर प्रेम रहेन भने सुरुवातको खास के अर्थ हुन्छ र ! बरु ढिलै होस्, प्रेम लामो समयसारिणी भएर अन्तिम श्वासोच्छवाससम्म एकचित्त भएर सँगै हिँड्न पाइयोस् !’ यो भाव ममा बारम्बार जागृत भइरहन्छ ।

‘आँखाबाट ओराली लागेका आँसुलाई बग्न सहज होला प्यारा, तर आँसु लुकाएर आँखाको गाजल पखालिन नदिन कहाँ सहज छ र ?’ म एक्लै बोल्छु । उसको फोटोले केही नबोलेर मलाई एकोहोरो हेरिरहन्छ ।

मनमनै ऊसँग संवाद गर्दछु, ‘प्रिय स्वप्नद्रष्टा, मेरो जिन्दगीको घाम भनेकै तिमी हौ । तिमीविना जिन्दगीमा न घामको न त जूनको न त कोठाको चिरागको उज्यालोमै आफूलाई पाउन सक्छु । तिम्रो अभावमा हरेक दिनको घामलाई मैले मलिनो देखेकी छु । जुन दिन तिमी साथमा थियौ, ती दिनहरूमा त्यो घाम चहकिलो, पहारिलो र जाज्वल्यमान थियो तर आजभोलि मलिनो, बिलिनो धूमिल मात्र लाग्छ ।’

मैले उसको फोटोलाई डायरीकै पानामा सुमसुम्याएँ ।

हाम्रो मन मिल्छ, विचार मिल्छ । भेटिएको गोरेटो र पुगिने गन्तव्य मिल्छ तर किन जिन्दगीको विश्राम एक ठाउँमा मिल्दैन ? मैले आकाशबाट मलाई पुलुक्क हेरेकी पूर्णिमाको चन्द्रमालाई आँखीझ्यालबाट सोधेँ । चन्द्रमामा पोषितको अनुहार मुस्कुराएर भनेझैँ लाग्यो, धैर्य गर डिपू, एकदिन जरुर मिल्नेछ ।

०००

कति रातहरू मैले अनिदा बिताएँ, हिसाब थिएन । जब पोषितका यादहरू मनको भित्ताभरि वाणजसरी गढेर बस्थे, मुटु छियाछिया भएर दुख्थ्यो । मानौँ उसका यादहरूको घर भइदिएको छ मेरो मुटु । म निदाउन त के, झकाउन पनि सक्दिनँथेँ ।

परेला चिम्म गरेर निद्रादेवीको उपासना गर्दा पनि निद्रा तर्केर भागेजस्तो लाग्थ्यो । मेरा नजरमा सम्झनाको बिस्कुनसिवाय केही फिजारिँदैनथ्यो । मलाई लाग्थ्यो, यो मेरो शयन कक्ष, अध्ययन कक्ष र सम्पूर्ण परिवेश सबै सबै पोषितको सम्झना, याद र प्रेमोच्छवासको एउटा बन्दीगृह हो ।

ऊ जसरी यस कोठामा आएर बस्थ्यो, त्यसै गरी बस्छु । मेरा ओठहरूबाट उसका शब्द, वाक्पटुता र वाक्यांश निस्कन थाल्छन् । मलाई मेरो शरीर नै उसको शरीरजस्तो लाग्छ । मन मष्तिस्क पनि उसैको भएजस्तो लाग्छ । मैले आफूलाई उसमा एकाकार गरेँझैँ भान हुन्छ । मैले उसको सर्ट, पाइन्ट र कोट लगाएकी छु । त्यसपछि मैले आफ्नै अनुहारमा उसको सम्पूर्ण रूप पाएँ । म ऊझै उभिएर भाषण गर्छु, देश विकासका योजनाहरू सुनाउँछु । ऊ मेरो अध्ययन कक्षको सानु गलैँचामा जसरी बस्थ्यो त्यसै गरी बस्दछु, ऊ भएर ।

एक रात त उसको यादमा यसै गरी विक्षिप्त भएपछि मैले उसकै कपडा लगाएँ । पोषित भएर पोषितकै कपडामा निदाएँ । निदाउनु अगाडि उसले एकदिन भनेको सम्झिएँ, ‘म आफैँसँग छुट्टिएँ भने पनि तिमीभित्र कतै बाँकी रहनेछु ।’

बिहानीको प्रथम प्रहरमा ब्युँझिँदा म बर्बराइरहेकी रहेछु, ‘रित्तैरित्तै थिएँ रित्तो थिएँ म पूरा रित्तो थिएँ ।  तिमी आयौ, भयौ ममा प्रेमको सागर र मलाई पूर्ण बनायौ... ।’

झ्यालको पर्दा खोलेर बगैँचातर्फ हेरेँ, पानी दरदर दर्केको छ । पानी र जमिनको सम्भोग भइरहेझैँ आनन्ददायक लाग्यो । यस रोमाञ्चक दृश्यले मलाई मनमोहक बनाएको छ । लाग्छ, यो पल जमिन गर्भवती भइन् । म भने देब्रे हातले तल्लो पेट सुमसुम्याउन पुग्छु । 

(पराजुलीको २०८१ मा प्रकाशित ‘प्रिय स्वप्नद्रष्टा’बाट ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

क्रान्ति पराजुली
क्रान्ति पराजुली
लेखकबाट थप