आकाश हेर्दै किसान, खडेरी लम्बिँदा उत्पादन घट्ने चिन्ता
सारांश
- कैलालीमा पर्याप्त वर्षा नहुँदा धानखेतीमा समस्या आएको छ, उत्पादन घट्ने सम्भावना बढेको छ।
- किसानहरू पानीको प्रतीक्षामा छन्, खडेरीका कारण धानबालीमा नकारात्मक असर परेको छ।
- कृषि प्रसार अधिकृतका अनुसार समाधानका लागि डिप ट्युबेल र दीर्घकालीन योजना आवश्यक छ।
धनगढी । शनिबार राति कैलालीका विभिन्न स्थानमा सामान्य वर्षा भयो । तर उक्त वर्षा अर्थहीन देखियो । पर्याप्त पानी नपर्दा धानखेतीमा समस्या कायमै छ । अबको दश दिनभित्र पनि पर्याप्त वर्षा नभए कैलालीमा धानको उत्पादन १० देखि २० प्रतिशतसम्म घट्ने देखिएको छ ।
कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत टेक बहादुर विष्टले रातोपाटीसँग भने, ‘यदि दश दिनभित्र पनि पर्याप्त वर्षा नभए कैलालीमा यस वर्ष धानको उत्पादन १० देखि २० प्रतिशतसम्म घट्ने निश्चित छ ।’
हुन पनि सुदूरपश्चिमको अन्न भण्डार मानिने कैलालीमा खडेरीका कारण किसानको मनमा चिसो पस्न सुरु भइसकेको छ । साउनको पहिलो साता बितिसक्दा पनि मनसुन सक्रिय नहुँदा किसानहरू हरेक दिन खुल्ला आकाश हेर्दै पानीको आशामा बस्न विवश छन्। खडेरीले खेतमा धाँजा फाट्न थालेका छन् भने धानका हरिया बोट पहेँलिँदै मर्न थालेका छन्।
कैलालीको घोडाघोडी नगरपालिकाका किसान खुसीराम थारु हरेक बिहान उठ्नासाथ आकाशतिर हेर्छन्। तर, मनसुनको यो समयमा पनि आकाशमा बादलको सानो टुक्रासमेत नदेख्दा उनको मन भारी हुन्छ। ‘आकाशतिर हेर्यो, पानी छैन। खेतमा धाँजा फाटिसक्यो । साँझ पानी पर्ला जस्तो गर्छ तर, पर्दैन,’ उनले निराश हुँदै भने ।
उनलाई यो साल खेती बिग्रिने हो कि भन्ने चिन्ताले निद्रासमेत लाग्न छोडेको छ।
खुसीरामको जस्तै पीडा कैलालीका हजारौँ किसानको साझा समस्या बनेको छ। धान रोप्ने मुख्य समय असार सकिएर साउन लागिसक्दा पनि पानी नपर्दा जिल्लाको कृषि प्रणाली नै जोखिममा परेको छ। सिँचाइको सुविधा नभएका र आकासे पानीको भरमा खेती गर्ने किसानहरू सबैभन्दा बढी मारमा परेका छन्।
कृषि प्रसार अधिकृत विष्टका अनुसार पानीको अभावमा खेतमा माटो फुटेर धाँजा परेका छन्। धानका बोटले माटोबाट आवश्यक पोषक तत्त्व, विशेषगरी नाइट्रोजन र जिंक, लिन सकेका छैनन्। जसले गर्दा बोट पहेँलो हुने र बढ्न नसक्ने समस्या देखिएको छ। ‘मल र जलको सम्बन्ध नङ र मासु जस्तै हो,’ विष्टले भने, ‘पानी नभएपछि जमिनमा मल भएर पनि बिरुवाले लिन सक्दैन। अहिले त्यही भइरहेको छ।’
_vuhCeXrRMg.jpg)
विगतमा कैलालीमा साउनको मध्यदेखि भदौसम्म धान रोपाइँ हुन्थ्यो। तर पछिल्ला वर्षहरूमा सिँचाइका लागि बोरिङ र नहरको सुविधा विस्तार भएसँगै किसानहरूले असारमै, कतिपय अवस्थामा त असार १५ अगावै रोपाइँ सक्न थालेका छन्। यसले छिटो उत्पादन दिने भए पनि मौसममा आएको फेरबदलले नयाँ चुनौती थपिदिएको छ। जमिनको पानीको सतह घट्दै जाँदा बोरिङले पनि पानी तान्न छोड्दैछन् र बिजुलीको अनियमितताले थप समस्या बढाएको छ।
कैलालीमा करिब ६३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। यसमध्ये अधिकांश क्षेत्र अहिले खडेरीको चपेटामा छ। विशेषगरी पूर्वपश्चिम राजमार्गको उत्तरतर्फका चुरे फेदका क्षेत्रहरू, जहाँ सिँचाइको स्रोत खोला र आकासे पानी मात्र हो। त्यहाँको अवस्था झनै नाजुक छ। ती क्षेत्रका खोलाहरू सुकिसकेका छन् र जमिन पूरै सुख्खा छ।
विज्ञहरूका अनुसार सुदूरपश्चिमको भू–बनोट नै अन्य प्रदेशको तुलनामा बढी सुख्खाग्रस्त छ। यहाँ मनसुन ढिलो भित्रिने र छिटो बाहिरिने हुँदा पानी पर्ने दिनहरू कम हुन्छन्। यस्तो अवस्थामा वर्षामा आधारित कृषि प्रणालीमा टिकिरहनु निकै चुनौतीपूर्ण छ।
_hNQGB4UrYd.jpg)
सुरुमा मौसमविद्हरूले यो वर्ष अत्यधिक वर्षा हुने अनुमान गरेका थिए। जसले किसानमा उत्साह थपेको थियो। तर, वास्तविकता ठिक उल्टो भएपछि किसान र कृषि क्षेत्र नै चिन्तित बनेको छ।
खडेरीको यो संकटबाट पार पाउन तत्काल र दीर्घकालीन योजना आवश्यक देखिन्छ। कृषि प्रसार अधिकृत विष्ट अल्पकालीन समाधानका रूपमा स्यालो ट्युबेल (सानो बोरिङ) को सट्टा डिप ट्युबेल (गहिरो बोरिङ) मा जानुपर्ने सुझाव दिन्छन् । उनका अनुसार जमिनको पानीको सतह निकै तल गइसकेकाले डिप ट्युबेलमा जानुपर्ने उनको भनाइ छ
तर, दीर्घकालीन समाधानका लागि राज्यस्तरबाटै कदम चाल्नुपर्ने देखिने उनले बताए । ‘हामीले कर्णाली र महाकालीको पानीलाई नहर प्रणालीमार्फत जिल्लाको माथिल्लो भेगसम्म जोड्ने गुरुयोजना बनाउनैपर्छ,’ विष्टले भने, 'चुरे क्षेत्रको संरक्षण गरेर पानीका मुहानहरू जोगाउनु र रानी जमरा कुलरियाजस्ता ठुला सिँचाइ आयोजनालाई छिटो सम्पन्न गर्नुको विकल्प छैन।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण