बारा । अघिल्ला वर्षहरुमा साउनको सुरुवातसम्म त खेतमा रोपाइँ भइसक्थ्यो । तर यसपालि मध्य साउन लागिसक्दा पनि बाराको बधवन गाउँका हरेन्द्र महतोको खेत बाँझै छ । उनी आकाशतिर हेर्छन्, बादल देखिँदैन । जमिनमा मोटर चलाउन खोज्दा बिजुली आउँदैन । केहीगरी बिजुली आइहाले चापाकलबाट पानी आउँदैन । तराई-मधेसमा खडेरीको मार खेपिरहेका किसानका प्रतिनिधि पात्र हुन् हरेन्द्र ।
पीडा शब्दले मात्रै होइन, उनको हाउभाउले पनि उस्तै गरी पोखिरहेको छ । रातोपाटीको टिम उनीसामु पुग्दा एकै सासमा व्यथा पोख्छन्, ‘पानी ना बरसे, ऊपर से लाइन के हालत खराब बा । भोल्टेज एतना कम रहेला कि मोटर ना चलेला । लोग बड़ी मुश्किल से खेती करत बाड़े । तार त लागल बा, बाकिर बिजली के व्यवस्था नइखे’ (‘पानी परेको छैन, त्यसमाथि बिजुलीको हालत खराब छ । भोल्टेज यति कम हुन्छ कि मोटर नै चल्दैन । मानिसहरू ठूलो मुस्किलले खेती गरिरहेका छन् । तार त जडान गरिएको छ, तर बिजुलीको व्यवस्था छैन ।)’
एकातिर खडेरीको मार, अर्कोतिर अनियमित बिजुली । उब्जनीमा यसले कति असर पारेको छ त्यो त हरेन्द्रहरुजति कसले भोगेको होला र ?

‘पहिले एक कट्ठा में तीन–चार मन धान हो जात रहल ह, बाकिर अबकी एको मन होखे के उमेद नइखे’ (पहिले एक कट्ठामा तीन–चार मन धान फल्थ्यो, तर यसपालि एक मन पनि हुने आशा छैन ।)
गत वर्ष र अहिलेको उत्पादनमा आउने यो विशाल अन्तरले उनको परिवारको आर्थिक अवस्था कति नाजुक बन्दैछ भन्ने प्रष्ट हुन्छ ।
खेती नै जीवन धान्ने आधार छ, तर त्यही आधार भत्किँदैछ भने परिवार कसरी पाल्ने ? यो प्रश्नले हरेन्द्रलाई सबैभन्दा बढी सताएको छ । ‘जब पानीए ना बरसी त बाल–बच्चा के कईसे पालब ? जब खेतीए ना होई त काम कईसे चली ?’ (‘जब पानी नै पर्दैन भने बालबच्चालाई कसरी पाल्ने ? जब खेती नै हुँदैन भने घरखर्च कसरी चल्छ ?)’ उनी प्रश्न गर्छन् । समस्या आकाशको पानी र बिजुलीमा मात्र सीमित छैन । जमिनमुनिको पानीको स्रोत पनि सुक्दै गएकोमा पनि छ ।
महागढीमाई नगरपालिकाको एक स्कुलमा कक्षा ९ मा पढ्ने राजकपुर कुमार कुशवाहा विद्यालय नगएको १५ दिन बढी भयो । विद्यालय नजानुको कारण हो, रातभरि खेतमा पानी लगाउनुपर्ने अवस्था ।
आकाशबाट पानी नपर्दा जमिनको पानी तान्न रातदिन पम्पसेट र मोटर चलाउनुपर्दा उनको पढाइ प्रभावित भएको छ । राजको परिवारको दुई बिगाहा खेत छ । मुख्य आम्दानीको स्रोत पनि खेत नै हो । तर अहिले खेतमा पानी नहुँदा समस्या भएकाले बिजुली आउने बित्तिकै मोटर चलाउनुपर्ने भएकाले उनी खेतमै धेरै बस्नुपर्छ ।
‘पहिले साउन लाग्दा लाग्दै सबै रोपाइँ सकिन्थ्यो । तर अहिले मोटर लगाएर मानिसहरू कष्ट गरेर आफ्नो दुःखपीडा सहेर रोपाइँ गरिरहेका छन् तर बिजुलीले धोका दियो,’ उनी भन्छन् ।
‘लाइन आउँछ, पाँच मिनेट रहन्छ अनि थाहा हुँदैन कहिले आउँछ कि आउँदैन । विद्युत आइरहेछ भने भोल्टेज छैन,’ उनले समस्या सुनाए, ‘भोल्टेज छ भने विद्युत छैन, गाउँमा पनि कलहरू सुकिसक्यो । खेत पनि यहाँ हेर्नुस्, सबै सुक्खा नै छ ।’
बाराको वरियापुरकी रामरती पानी नपर्दा गाउँमा मान्छे कसरी बस्ने होला भन्ने चिन्ता गर्छिन् ।
‘पानी ना परसकता, मेघ ना बरसी त लोग कईसे रही ? आउर लाइन भी नइखे रहत । कतहूँ पानी नइखे । का होई ? (पानी नै परे, बादलले झरी नदिए भने मानिस कसरी बाँच्लान्? न त धारामा पानी आउँछ, न त कतै व्यवस्था छ। सबै ठाउँमा पानीको अभाव छ। अब के हुन्छ)’ धान कसरी रोपिएको भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्, ‘पानी पटा के केहू लगावले बा, तनी–मनी क के रोपाईल बा (पानी जमाएर, कसैले अलिअलि गरेर रोपाइँ गरेको छ) ।’ उनले पानी पटाएर (जमाएर) कोही कोही किसानले धान रोपाइँ गरेको बताइन् ।
_copy_2560x1707_lkzy4ctg84_7vERJdwaKa.jpg)
रोपेको धान पनि बिग्रेको छ । रामरती भन्छिन्, ‘ना, अब धान कहाँ से होई ? कुछऊ ना भईल, मकईयो ना भईल ।’ अर्थात् ‘धान कहाँबाट हुनु अब मकै पनि हुन छोड्यो ।'
अब जीवन चलाउन नै कठिन हुने उनले दु:खेसो पोखिन् । ‘अइसन में कईसे होई ? हँ, हमनी का करब ? रउआ खुद देखत बानी (यस्तो अवस्थामा कसरी चल्छ? हैन, हामीले के गर्ने त? तपाईं आफैं हेर्नुहोस् त यो),’ उनी भन्छिन् ।
चर्को घाममा चिरा परेको खेतबाट आकाशतिर हेर्दा सदय महतोले आशाको बादल देख्दैनन् । तल जमिनमुनि पानी छ, तर त्यो निकाल्ने साधन चलाउन बिजुली छैन । उनको अनुहारमा खेतको चिराभन्दा गहिरो पीडाको धर्सा कोरिएको छ । उनका हरेक शब्दले खडेरी र सरकारी उदासीनताको दोहोरो मार खेपिरहेका एक किसानको विवशता बोलिरहेको छ ।
यहाँको समस्या के हो भनेर सोध्दा, उनी फाटेको जमिन देखाउँदै भन्छन् ‘समस्या इहे बा कि पानी के चलते जमीन दरक गईल बा’ (समस्या यही हो कि पानीको अभावले जमिन चिरा–चिरा परेको छ) ।’ यो एउटा वाक्यले नै खडेरीको भयावह अवस्थालाई चित्रण गर्छ । पानीको अभावमा उनको खेत मात्र होइन, धैर्य पनि टुट्दै गएको छ ।
आकाशबाट पानी नपरेपछि जमिनमुनिको पानी नै अन्तिम सहारा हो । तर त्यो सहारा पनि बिजुलीको अनियमितताले खोसिदिएको छ । उनले आफ्नै भाषामा भने, ‘पानी नइखे । लाइन भी नइखे । लाइन घरी–घरी कट जाता । समस्या त इहे बा । बोरिंग त बा, खेत–खेत में बोरिंग बा । बाकिर लाइन रही तब नु चली? लाइन त रहबे ना करेला । दस मिनट चलेला, ओकरा बाद फेन खतम (पानी छैन। लाइन पनि छैन। लाइन बारम्बार काटिन्छ। समस्या यही हो। बोरिङ त छन्, खेत–खेतमा छन्। तर लाइन भएन भने बोरिङ चल्दैन नि! लाइन त दस मिनेट चल्छ, फेरि गायब) ।’

उनको यो पीडाले देखाउँछ कि उनीसँग स्रोत भएर पनि त्यसलाई उपयोग गर्न सक्ने अवस्था छैन । दश मिनेटको बिजुलीले कसरी एक बिघा खेत सिञ्चित हुन्छ ?
अरूको जग्गा अँधियामा कमाएर गुजारा चलाउने सदय महतो जस्ता किसानलाई यो वर्षको खडेरीले झनै थला पारेको छ । उनले दुःख–कष्ट गरेर धान त रोपेका छन्, तर अब त्यो कसरी जोगाउने भन्ने चिन्ताले निदाउन सकेका छैनन् ।
‘हँ, रोपाईल त बा (रोपाइँ त गरिएको छ),’ उनी सुनाउँछन् । तर लगत्तै निराशा पोख्छन्, ‘पानी ना रही त कहाँ से होई (पानी नै नभएपछि कसरी हुन्छ त?) ?’ यो संकटले उनको खेतबारी मात्र होइन, भान्सा र परिवारको भविष्यमाथि नै प्रश्न उठाएको छ । जब उनको सारा जीवन यही खेतीमा अडिएको छ, तब खेत नै बाँझो रहेपछि घर कसरी चल्छ ? उनको खेतमै रिपोर्टिङका लागि पुगेका हामीलाई प्रश्न गर्छन्, ‘जब खेते में कुछ ना होई त घर–परिवार कईसे चली (जब खेतमै केही हुन्न, तब घर–परिवार कसरी चल्छ) ?’
सदयको प्रश्न बारा र आसपासका जिल्लाका अधिकांश किसानको साझा प्रश्न हो ।
‘पानी नपरेपछि धेरै समस्या छ । मोटर चलाउने, पानी नआउने, लाइन ठिक नरहने । परेसान–परेसान भइरहेछ,’ कलैया उपमहानगरपालिका कार्यालय नजिकैको मैनीटोल, रामनगरवाका किसान शिवनाथ साह कानु दु:ख पोख्छन् ।
उनको अनुहारमा खेत सुकेको पीडा र भविष्यको अनिश्चय प्रष्ट देखिन्छ । यस वर्ष मनसुनले धोका दिएपछि आकाशतिर हेरेर थाकेका शिवनाथ जस्ता सयौं किसान अहिले जमिनमुनिको पानीको आशमा थिए । तर जमिनले पनि साथ दिएन । खेतमा गाडिएको बोरिङले मुस्किलले थोरै पानी फ्याँक्छ, जसले डेढ बिघा खेतमा लगाएको धानलाई बचाउन पर्याप्त छैन ।
‘पहिला बोरिङले धेरै पानी दिन्थ्यो, अहिले त पानी नपरेपछि जमिनमुनि पनि पानी सुकेछ,’ उनी निराश हुँदै भन्छन् ।

रोपाइँको समय सम्झिँदै शिवनाथ भन्छन्, ‘रोपाइँ गर्न १५ दिनसम्म खेतमै सुत्नुपर्यो । रातभरि मोटर चलायो, थोरै पानी आउँथ्यो, त्यसैले जेनतेन रोपाइँ त गरियो, तर दुःखले गरेको रोपाइँले पनि सुख दिन सकेन ।’ सिँचाई अभावमा खेतको धानका गाँजहरु पहेंलिँदै र सुक्दै गएका छन् । खेतमा हरियाली हुनुपर्ने बेलामा धुलो उड्ने अवस्था छ ।
शिवनाथको सात जनाको परिवार यही डेढ बिघा खेतको उब्जनीमा निर्भर छ । धान नै उनको आम्दानीको एक मात्र स्रोत हो । गत वर्ष यही खेतमा प्रतिकठ्ठा चारदेखि पाँच मन धान फलाएका उनलाई यस वर्ष लगानी पनि उठ्ने आश छैन, ‘यसपालि त खानैको लागि समस्या हुन्छ,’ उनी भन्छन् ।
यो समस्या शिवनाथको मात्र होइन, रामनगरवा र वरपरका सबै किसानमा देखिन्छ । सबैका खेत सुक्खा छन् र सबैको अनुहारमा चिन्ताको बादल मडारिएको छ । सरकारप्रति किसानको आशा नै छैन । भन्छन्, ‘सरकारले के गर्छ, के गर्दैन, हामी किसान कहाँ माथि पुग्न सक्छौं र ?’
सरकारले यो संकटलाई देखेर केही राहत दिए बाँच्ने आधार मिल्न सक्ने कानु बताउँछन् । ‘सरकारले केही खर्चा–पर्चा दियो भने हामी खान्छौं, नत्र यसै बस्नुपर्छ,’ उनी भन्छन् ।
शिवनाथ र रामनगरवाका किसानहरू रित्तो आकाश र सुक्खा धरती हेर्दै प्रश्न गर्छन्, ‘अब वर्षभरि परिवार कसरी पाल्ने ?’ यो प्रश्नको उत्तर न सरकारसँग छ, न त प्रकृतिले नै दिइरहेको छ ।
आफ्नै आँखा अगाडि १५ दिनअघि रोपेको धानको हरियो बोट पहेंलिँदै सुकेर मर्न लागेको टुलुटुलु हेर्नुको पीडा कति हुन्छ ? यो प्रश्नको जीवन्त उत्तर खोज्ने हो भने बाराको धरमपुर गाउँका किसान सुवास साहको आँखामा हेरे पुग्छ । उनको आँखामा आशा होइन, आकाश रित्तिएपछिको निराशा र धरती सुकेपछिको छटपटी प्रष्टै देखिन्छ ।

‘विश्वासै छैन यसपालि धान फल्छ भनेर,’ फाटेका खेतका धाँजा हेर्दै उनी भन्छन् । सुवासको परिवारको पेट पाल्ने र छोराछोरी पढाउने एक मात्र सहारा धानखेती हो । ‘यसैले कमाउने, यसैले खाने हो,’ उनी भन्छन् । गत वर्ष यही खेतबाट ५०–६० मन धान फलाएर परिवार चलाएका उनलाई यस वर्ष भने प्रकृतिले पूरै धोका दिएको छ । अनि पानी तान्न किनेर ल्याएको मोटर पनि काम नलाग्नेजस्तै भएको छ ।
‘आजै नयाँ मोटर लिएर आएको, तर तलबाट पनि पानी आएन,’ हतासपूर्ण आवाजमा उनी भन्छन्, ‘२४ घन्टामा मुस्किलले चार घण्टा बत्ती आउँछ । एकछिन पानी लगाएको के हुन्छ, बत्ती गइहाल्छ । फेरि आउँदा सुरुबाटै पटाउनुपर्छ ।’
यदि धान फलेन भने घरखर्च र बच्चाको पढाइ कसरी चलाउनुहुन्छ ? यो प्रश्नमा सुवास एकछिन मौन हुन्छन् । सायद, उनले यो भयावह भविष्यको कल्पना पनि गर्न चाहँदैनन् ।
गला अवरुद्ध पार्दै उनी भन्छन्, ‘अब के गर्ने ? यस्तै हो... सरकारले हेर्नुपर्यो नि ।’
उनको आशाको त्यान्द्रो अब सरकारप्रति छ, तर त्यो पनि क्षीण हुँदै गएको छ । ‘हाम्रो खेतमा एउटा ठूलो बोरिङ मात्रै गाडिदिएको भए सबै किसानलाई सजिलो हुन्थ्यो,’ उनी भन्छन् ।
खडेरी, बिजुली अभाव र सरकारी उदासीनताको त्रिपक्षीय मारमा परेका लाखौं सुवासहरु दिनरात खेतमा पसिना होइन, आँसु बगाइरहेका छन्, तर उनीहरूको त्यो आँसु पुछिदिने कोही छैन ।
फोटो/भिडियो : सुवास श्रेष्ठ
प्रतिक्रिया