लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
सारांश
- लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन भत्किएसँगै सत्ता समीकरणबारे अन्योल देखिएको छ ।
- प्रदेशका तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा केन्द्रबाट आउने निर्देशनको पर्खाइमा छन् ।
- तेस्रो शक्तिका रूपमा रहेको नेकपाले सरकार गठनका लागि निर्णायक भूमिका खेल्ने भए पनि तत्काल सरकारमा जाने पक्षमा नरहेको जनाएको छ ।
बुटवल । नेपाली कांग्रेस र नेकपा एमालेबिच प्रदेश तहमा रहेको गठबन्धन भत्किएसँगै लुम्बिनी प्रदेशमा सत्ता समीकरणबारे अन्योल कायमै छ । प्रदेशका तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) यतिबेला केन्द्रबाट आउने निर्देशन पर्खिरहेका छन् ।
केन्द्रको निर्णय मान्ने बताउँदै आएका दलहरूले प्रदेशमा आ–आफ्नै ढंगबाट राजनीतिक छलफल र भेटघाटलाई समेत तीव्रता दिएका छन् । कांग्रेसले एमालेसँगको सत्ता गठबन्धन तोड्ने निर्णय गरेपछि प्रदेश सभामा तेस्रो शक्तिका रूपमा रहेको नेकपाले पनि आफ्नो राजनीतिक सक्रियता बढाएको छ ।
हाल लुम्बिनी प्रदेशमा नेकपा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन् । अन्य प्रदेशमा कांग्रेस र एमालेबिचको सत्ता सहकार्य तोडिए पनि लुम्बिनीमा भने कांग्रेस–एमाले सहकार्यलाई निरन्तरता दिने प्रयास प्रदेश तहमा भइरहेको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले हालसम्मको अवस्था हेर्दा एमाले अन्य प्रदेशमा जे भए पनि लुम्बिनीमा सहकार्य गरेर अघि बढ्ने पक्षमा देखिएको जानकारी दिए । त्यसका लागि मुख्यमन्त्रीसँग पटक–पटक छलफल भइरहेको उनले बताए ।
‘लुम्बिनीमा सत्ता सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको छ । केन्द्रमा हुने संवादपछि आवश्यक निर्देशन आउन सक्छ,’ पुनले भने ।
कांग्रेसले सत्ता सहकार्य कायम राख्ने सम्भावनालाई ध्यानमा राख्दै आफ्ना मन्त्रीहरूलाई तत्काल फिर्ता बोलाएको छैन ।
मुख्यमन्त्री चेतनारायण आचार्य पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न काठमाडौँ पुगेका छन् । आइतबार साँझ काठमाडौँ पुगेका मुख्यमन्त्री आचार्यले विभिन्न नेताहरूसँग भेटघाट गरिरहेको भए पनि भेटवार्ताको विषय र त्यसबाट प्राप्त निर्देशनबारे सार्वजनिक रूपमा केही बताएका छैनन् ।
‘काठमाडौँमा हुने सबै भेटघाट मिडियालाई जानकारी दिन आवश्यक हुँदैन,’ उनले हिजो रातोपाटीलाई प्रतिक्रिया दिएका थिए । मुख्यमन्त्री आचार्य अझै काठमाडौँमै रहेको उनका स्वकीय सचिव प्रदीप नेपालीले जानकारी दिए ।
कांग्रेस लुम्बिनी प्रदेशकी मुख्य सचेतक जमुना ढकालले प्रदेशमा सरकार फेरबदलका विषयमा पछिल्लो समय कुनै नयाँ निर्णय नभएको बताइन् । ‘हामी केन्द्रबाट आउने निर्देशनको पर्खाइमा छौँ,’ उनले भनिन् ।
एमाले नेता एवं लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रत्न खत्रीले कांग्रेस, एमाले र नेकपा मिलेर अघि बढ्नुपर्ने पक्षमा आफूहरू रहेको बताए । तर,अन्तिम निर्णय केन्द्रबाट आउने निर्देशनमा निर्भर हुने उनको भनाइ छ । ‘हामी मिलेर जाऔँ भन्ने पक्षमा छौँ, तर यो विषय केन्द्रबाट आउने निर्देशनमा भर पर्छ,’ खत्रीले भने ।
मुख्यमन्त्री आचार्य दाङ फर्किएपछि सरकारको गठबन्धन कसरी अघि बढ्ने भन्ने विषयमा थप प्रस्ट हुने खत्रीको भनाइ छ ।
नेकपा लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले भने कांग्रेस र एमालेभित्र देखिएको समस्यालाई लिएर आफूहरूले अहिले धेरै चासो नदिएको बताए । केन्द्रबाट आउने निर्देशनअनुसार नै आफूहरू अघि बढ्ने उनको भनाइ छ ।
लुम्बिनी प्रदेशमा २०८१ साल साउनमा कांग्रेस र एमालेबिच बनेको सत्ता समीकरणअनुसार चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । हाल प्रदेश सरकारमा कांग्रेस, एमालेसहित अन्य साना दल सहभागी छन् ।
अहिले नै सरकारमा जाने अवस्था छैन : महरा
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबिचको सत्ता समीकरण फेरबदल भए नेकपा निर्णायक शक्तिका रूपमा देखिने भएको छ । प्रदेश सभामा १३ सिट रहेको नेकपा सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन दुवै पक्षका लागि महत्त्वपूर्ण बन्ने देखिएको हो ।
नेकपा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महरा तत्काल सरकारमा जाने पक्षमा आफ्नो पार्टी नरहेको बताउँछन् । उनका अनुसार कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिने वा मुख्यमन्त्रीले कांग्रेसका मन्त्रीहरूलाई हटाउने अवस्था आएपछि मात्रै राजनीतिक रूपमा नेकपाको भूमिका निर्णायक बन्नेछ ।
‘पहिला कांग्रेसले विश्वासको मत फिर्ता लिने वा एमालेका मुख्यमन्त्री र मन्त्रीहरू हट्ने अवस्था आउनुपर्छ । त्यसपछि मात्रै बल हाम्रो खुट्टामा आउँछ,’ महराले भने, ‘त्यो अवस्थामा सरकार चलाउन सहयोग माग्ने पक्षलाई समर्थन गर्ने हाम्रो पहिलो सर्त हुनेछ ।’ तर, केवल मन्त्री बन्ने वा ‘झन्डा हल्लाउने’ उद्देश्यले नेकपा सरकारमा नजाने उनको स्पष्ट भनाइ छ ।
एमाले र कांग्रेसले मिलेर बजेट पारित गरिसकेको अवस्थामा तत्काल सरकारमा गएर मन्त्री बन्ने अवस्था नरहेको उनले बताए । ‘हामी झन्डा हल्लाउनका लागि सरकारमा जाने होइनौँ । अहिलेको बजेटमा हाम्रो सहभागिता छैन । त्यसैले त्यही बजेट लिएर हामी मन्त्री बन्ने अवस्था हुँदैन,’ महराले भने ।
उनका अनुसार नेकपा सरकारमा जाने अवस्था आए बजेट पुनर्लेखन गर्नुपर्ने सर्त राखिनेछ । जनतामा पुराना दलहरू मिलेर सत्ता भागबन्डा गरेको सन्देश जाने गरी प्रदेशमा समेत तीन दल मिलेर सरकार बनाउने कुरा उचित नहुने उनको तर्क छ ।
‘तीन दल मिलेर सरकार चलाउने चर्चा नै गलत हुन्छ । अहिले नै पुराना दलहरू मिलेर खाए भन्ने जनताको धारणा छ । यस्तो अवस्थामा प्रदेशमा पनि त्यही ढंगले सरकारमा जाने हो भने त्यसले जनतामा झन् नराम्रो असर पार्छ,’ उनले भने ।
महराले केन्द्रबाट वाम गठबन्धन बनाएर अघि बढ्ने निर्णय आए पनि त्यसलाई दीर्घकालीन र स्पष्ट आधारमा मात्रै कार्यान्वयन गर्नुपर्ने बताए । ‘हामी केटाकेटी पाराले पटक–पटक मोर्चा बनाउने र छोड्ने खालको राजनीति गर्न सक्दैनौँ । यदि वाम गठबन्धन बनाउने हो भने दीर्घकालीन र स्पष्ट आधारमा हुनुपर्छ,’ उनले भने ।
लुम्बिनी प्रदेशमा एमाले र कांग्रेस दुवै पक्षसँग नेकपाको कुराकानी भइरहेको उनले स्वीकार गरे । तर, सरकारमा जाने उद्देश्य र राजनीतिक आधार स्पष्ट नभएसम्म त्यस्ता छलफलको खास अर्थ नहुने उनको भनाइ छ ।
प्रदेश सभामा तेस्रो शक्तिका रूपमा रहेको नेकपा सरकार गठनसम्बन्धी छलफलमा सहभागी हुँदा मुख्यमन्त्रीमा दाबी स्वाभाविक हुने उनले रातोपाटीलाई बताए । ‘तेस्रो शक्ति भएको पार्टीसँग छलफल गर्न आउँदा मुख्यमन्त्रीमा दाबी गर्नु स्वाभाविक हो । त्यो दाबी र सर्त राजनीतिक नै हो, तर अहिले हामी त्यहाँसम्म पुगेका छैनौँ,’ उनले भने ।
लुम्बिनी प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७ र नेकपाका १३ सांसद छन् । ८३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ४२ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेस–एमाले गठबन्धनमा फेरबदल भए नेकपा निर्णायक शक्ति बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण