शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

अपानि १२ जारी गर्दै एमालेले भन्यो: पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन, सदर हुँदैन

सोमबार, १२ साउन २०८२, २२ : ३८
सोमबार, १२ साउन २०८२

सारांश

  • एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै नेता भएकाले पार्टीको कार्यकर्ता नबन्ने जनाएको छ।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले अपानि १२ जारी गर्दै भण्डारीलाई सम्मानपूर्वक बस्न र सक्रिय राजनीतिमा नआउन आग्रह गरे।
  • एमालेले भण्डारीको सदस्यता नवीकरण प्रक्रिया विधानअनुसार नमिलेको र सदर नहुने जनाएको छ।

काठमाडौँ । नेकपा एमालेले अन्तर पार्टी निर्देशन (अपानि) १२ जारी गर्दै पुर्व पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै नेता भएकाले पार्टीको कार्यकर्ता बन्न नहुने जनाएको छ । 

अध्यक्ष केपी शर्मा ओलीले सोमबार ३० पेज लामो अपानि १२ जारी गर्दै नवौँ केन्द्रीय कमिटी बैठकका निर्णयसहित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा मातहतका कमिटीमा पठाएका हुन् । अध्यक्ष ओलीले जारी गरेको अपानिमा भण्डारी सिङ्गै राष्ट्रको नेता भइसकेकाले अब पार्टीको कार्यकर्ता बन्न नहुने उल्लेख छ । 

अपानिमा भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्नेमा जोड दिइएको छ । एमालेले भण्डारी राष्ट्रको नेता भएकाले सक्रिय राजनीतिमा आउन नहुने र एमालेले कार्यकर्ता बनाउन नहुने तथा अध्यक्ष भए पनि कार्यकर्ता नै हुने एमालेको भनाइ छ । 

‘सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्दछ । सक्रिय राजनीतिमा आउनुहुन्न’, अपानिमा भनिएको छ, ‘सिङ्गै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा (एमाले) ले कार्यकर्ता बनाउनुहुँदैन । अध्यक्ष भए पनि कार्यकर्ता हो । यहाँ आउनुहुँदैन ।’ 

पूर्व राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गर्ने भनेर एमालेको सदस्यता समेत नवीकरण गरिसकेको बताएका बेला एमालेले अपानिमा भनेको छ, सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो । उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन । विधानको धारा ८ अनुसार हुन्छ ।’

पूर्व राष्ट्रपति पार्टी राजनीतिमा संलग्न हुने सन्दर्भ लोकतान्त्रिक गणतन्त्र एउटा राजनीतिक प्रणाली मात्र होइन, यो आफैँमा संस्कृति, मूल्य र आचरण पनि भएको एमालेले जनाएको छ । एमालेले गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना नगरेको पनि जनाएको छ । 

एमालेले गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामबरण यादवसमेत सक्रिय राजनीतिमा नआएको दृष्टान्त स्मरण गराएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप