बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सामुदायिक विद्यालयमा पढेर पनि सफलता पाउन सकिन्छ

बुधबार, १४ साउन २०८२, ०९ : ४३
बुधबार, १४ साउन २०८२

सारांश

  • विशाल सुवेदी, नवीन औद्योगिक कदर बहादुर रिता माविका पूर्व विद्यार्थी, हाल संघीय निजामती सेवामा इन्जिनियरको रूपमा कार्यरत छन्।
  • उनले सामुदायिक विद्यालयमा पढेरै इन्जिनियरिङ परीक्षामा सफलता हासिल गरेको अनुभव सुनाएका छन्।
  • सुवेदीले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सरकारको सहयोग र अनुगमन आवश्यक रहेको बताए।

अचेल सामुदायिक विद्यालयमा छोराछोरीलाई पढाउन हुँदैन भन्ने मान्यता बोक्ने अभिभावक प्रशस्त भेटिन्छन् । सामुदायिक विद्यालयमा त आयस्रोत थोरै भएका, गरिब परिवारका छोराछोरीमात्र पढ्ने हो भन्ने खालको भाष्य समाजमा व्याप्त छ । कतिपयले यही भाष्यका कारण आफ्नो जीवनमा धेरै कुरामा सम्झौता गरेर भए पनि छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउने गरेको पाइन्छ ।

सुरुवातमा मैले पनि बोर्डिङ स्कुलमै अध्ययन गरेको थिएँ । कपिलवस्तुकै बोर्डिङ स्कुलमा नर्सरीदेखि कक्षा ७ सम्म अध्ययन गरेँ । त्यसपछि काठमाडौँ गएर कक्षा ८ मा पढ्न थालेँ । त्यहीवेला दिदीले नर्सिङ पढ्न बुटवल आउनुपर्ने भयो । किनकि काठमाडौँका कलेजमा उहाँले नाम निकाल्न सक्नुभएन ।

दिदीसँगै म पनि बुटवल नै फर्किनुपर्ने भयो । बाध्यतामै बुटवल फर्किएर मैले नवीन औद्योगिक कदर बहादुर रिता माविमा प्रवेश परीक्षा पास गरेर भर्ना भएँ । तर यतिवेला मलाई गर्व लाग्छ– मैले नवीन औद्योगिक कदर बहादुर रिता माविमा पढ्न पाएकै कारण आफूलाई शैक्षिक प्रतिस्पर्धामा अब्बल साबित गर्न सकेको छु ।

मैले संघीय निजामती सेवा अन्तर्गत लोक सेवा आयोगबाट बिल्डिङ एन्ड आर्किटेक्ट इन्जिनियरिङमा नाम निकालेको छु । मेरो पोस्टिङ हुन बाँकी छ । त्यसअघि मैले विभिन्न ठाउँमा प्रतिस्पर्धामै उत्रिएर नाम निकाल्दै जागिर खाने अवसर पनि पाएँ । 

इन्जिनियरिङ पढ्ने इच्छा सानैदेखि थियो । काठमाडौँ पुगेर बुटवल फर्किनु परेको अवस्थामा पनि आफूले चाहेकै विषयमा कक्षा ९ देखि पढ्न पाएर अहिले रोजगारीको क्षेत्रमा समेत आफूलाई सफल तुल्याउन सक्नुमा विद्यालय र शिक्षकहरूको योगदानलाई बिर्सन मिल्दैन ।

त्यतिवेला मलाई एक जना आफन्तले नै बुटवलमा प्राविधिक धारतर्फ अध्यापन सुरु गरेका दुई वटा विद्यालयमध्ये एउटामा पढ्न सुझाव दिएका थिए । जस अनुसार मैले बुटवल–१० मा रहेको कालिका मावि र बुटवल–११ मा रहेको नवीन माविमध्ये एउटा रोज्नुपर्ने थियो । कालिका माविमा कम्प्युटर साइन्स र नवीन माविमा सिभिल इन्जिनियरिङतर्फ प्राविधिक विषय पढाइन्थ्यो । प्राविधिक विषय भर्खरमात्र पढाउन थालिएको, त्यसमा पनि सामुदायिक विद्यालय भएका कारण पढाइको गुणस्तर कस्तो होला भन्ने अन्योल नै थियो । परिवारमा पनि पढाइ बिग्रिने हो कि भन्ने एक प्रकारको चिन्ता थियो ।

मलाई यतिका परीक्षामा सफल हुने दक्षता र आत्मविश्वास प्रदान गर्ने विद्यालय कुनै ठुलो बोर्डिङ स्कुल नभएर एउटा सामुदायिक विद्यालय हो भन्न पाउँदा गर्व लाग्छ ।

त्यो वेला नेपालमा इन्जिनियरिङ पढ्दा महँगो शुल्क, विद्यार्थीहरू पनि राम्रो अङ्क ल्याएर पास भएकालाई मात्र छनोट गरिन्थ्यो । त्यसैले सामुदायिक विद्यालयले इन्जिनियरिङ विषय कसरी धान्छ होला र पढाइको गुणस्तर कस्तो होला भन्ने द्विविधाका बिच मैले पढ्न थालेँ । त्यतिवेला अहिलेको जस्तो दक्ष शिक्षक तथा प्रयोगशालाका सामग्रीसमेत धेरै थिएनन् । त्यो अवस्थाका बाबजुद शिक्षक र विद्यार्थी दुवैले निकै मेहनत गरेर अध्ययन–अध्यापन अघि बढाइएको थियो । राम्रै नम्बर ल्याएर मैले १२ कक्षा पास गरेँ ।

त्यसपछि धरान इन्जिनियरिङ कलेजमा २०७५ सालमा भर्ना भएँ । कोभिड महामारीका कारण ४ वर्षे कोर्स पूरा गर्न ५ वर्ष लाग्यो । कोर्स पूरा गरेपछि २०८० सालमा धरान उपमहानगरपालिकामै असिस्टेन्ट इन्जिनियरिङमा नाम निकालेर काम गरेँ । सोही वर्ष तेह्रथुम जिल्लाको म्याङलुङमा पनि नाम निकालेँ तर म त्यहाँ नियुक्ति पत्र लिन गइनँ । किनकि त्यो मेरो लागि निकै दुर्गम थियो । सब डिभिजन कार्यालय तुम्लिङटार, संखुवासभामा पनि मैले नाम निकालेँ । त्यसको ८ महिनापछि बागमती प्रदेश लोक सेवा आयोगद्वारा माग भएको आवेदन अनुसार इन्जिनियरिङमा नाम निकालेर जल तथा सिँचाइ डिभिजन कार्यालय धादिङमा काम गरेँ । 

त्यहाँ काम गरेकै अवस्थामा यही साउन ५ गते सङ्घीय लोक सेवा आयोगबाट लिइएको परीक्षामा म पास भएँ । अब मैले फेरि नयाँ जिम्मेवारी सम्हाल्नु परेको छ । मेरो लक्ष्य इन्जिनियरिङतर्फ निजामती सेवाको सहसचिवसम्म पुग्ने हो ।

मलाई यतिका परीक्षामा सफल हुने दक्षता र आत्मविश्वास प्रदान गर्ने विद्यालय कुनै ठुलो बोर्डिङ स्कुल नभएर एउटा सामुदायिक विद्यालय हो भन्न पाउँदा गर्व लाग्छ । सामुदायिक विद्यालयमा राम्रो पढाइ हुँदैन भन्ने भाष्य बिस्तारै चिरिँदै गएको छ । राम्रो व्यवस्थापन, दक्ष शिक्षक, प्रविधिको प्रयोग र विद्यालयमा पठनीय वातावरण बनाउने हो भने सामुदायिक विद्यालयबाटै योग्य जनशक्ति उत्पादन गर्न सकिन्छ । 

सरकारले प्राविधिक विषय पढाइ हुने सामुदायिक विद्यालयमा समय–समयमा अनुगमन र मूल्याङ्कन गर्नुपर्छ । सोही मूल्याङ्कनको आधारमा अनुदान वृद्धि गर्नुपर्छ ।

म मात्र होइन, मसँगै पढेका धेरै साथीहरू पनि दक्ष भएर आफ्नो क्षेत्रमा काम गरिरहेका छन् । बुटवलमा त्योवेला सामुदायिक विद्यालयमा सिभिल इन्जिनियरिङतर्फ कक्षा सञ्चालन गर्ने योजना ल्याउने, त्यो योजनालाई साकार पार्ने काम आफैँमा चुनौतीपूर्ण त थियो नै, त्यही चुनौती सामना गर्दै आज आफू पढेको विद्यालय देशकै एउटा महत्त्वपूर्ण शैक्षिक संस्थाका रूपमा आफूलाई स्थापित गर्न सफल भएकोमा गर्व लाग्छ ।

सामुदायिक विद्यालयमा अनुभवी प्रशिक्षकको अभाव, प्राविधिक प्रशिक्षकहरू बारम्बार परिवर्तन हुने, प्राविधिक पाठ्यपुस्तकहरूको न्यून उपलब्धता, प्रयोगात्मक तालिमको कमी जस्ता कारणले राम्रो नतिजा आउन सक्दैन । यस्ता कुरालाई ध्यान दिने हो भने अन्य सामुदायिक विद्यालय पनि नवीन औद्योगिक कदर बहादुर रिता माविजस्तै राम्रो नतिजा ल्याउन सफल हुन्छन् भन्ने मलाई लाग्छ ।

सरकारले प्राविधिक विषय पढाइ हुने सामुदायिक विद्यालयमा समय–समयमा अनुगमन र मूल्याङ्कन गर्नुपर्छ । सोही मूल्याङ्कनको आधारमा अनुदान वृद्धि गर्नुपर्छ । विद्यार्थीहरूलाई समय समयमा राष्ट्रिय आयोजनाहरूमा फिल्ड भिजिट गराउनु पर्छ । विद्यालयको मात्र प्रयासले शिक्षाको स्तर उकास्न सम्भव हुँदैन । सरकारले पनि त्यस्ता विद्यालयलाई आवश्यक सहयोग समयमै उपलब्ध गराउने हो भने अहिलेको भन्दा अझ राम्रो नतिजा प्राप्त हुन्छ भन्नेमा म विश्वस्त छु ।

(कपिलवस्तु जिल्लाको तौलिहवा–३ निवासी विशाल सुवेदी बुटवलकै नवीन औद्योगिक कदर बहादुर रिता माविका पूर्वविद्यार्थी हुन् । उनीसँग रातोपाटीका लागि तेजेन्द्र केसीले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विशाल सुवेदी
विशाल सुवेदी
लेखकबाट थप