आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

सामाजिक क्षेत्रमा सैनिक कल्याणकारी कोषको योगदान बढ्नेमा प्रधानमन्त्रीकाे विश्वास

बुधबार, १४ साउन २०८२, २१ : ००
बुधबार, १४ साउन २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक कल्याणकारी कोषले कल्याणकारी कार्यक्रममार्फत सामाजिक कार्य र विकासको साझा गन्तव्यमा थप योगदान दिने विश्वास व्यक्त गरेका छन् । 

सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा बुधबार जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा कोषका संरक्षक प्रधानमन्त्री ओलीले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा र आश्रित परिवारको हितका लागि सैनिक कल्याणकारी निर्देशनालयले कल्याणकारी कोष मार्फत सञ्चालन गरेका विविध कल्याणकारी कार्यको प्रशंसा गरे । 

संयुक्त राष्ट्र सङ्घको मिसनबाट आर्जित रकमबाट आफ्नै कोष खडा गरी स्थापना भएको सैनिक कल्याणकारी कोषले शिक्षा, स्वास्थ्य, परिवार आवासलगायत सामाजिक सुरक्षासँग सम्बन्धित विविध क्षेत्रमा योगदान दिई राज्यको दायित्व समेत कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री ओलीले बताए ।

“नेपाली सेनाका अवकाश प्राप्त सकलदर्जालाई क्षमता अभिवृद्धि तथा स्वावलम्बनका कार्यक्रम मार्फत सेवा निवृत्त भएपश्चात् समेत ससम्मान जीवन व्यतीत गर्न यस कोषले विशेष योगदान दिँदै आएको छ ।’’, प्रधानमन्त्री ओलीले भने, “नेपाल अहिले विकास र समृद्धिको यात्रामा अघि बढिरहेको छ । हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्यमा सक्रिय छौँ । सरकारको विकास र उत्पादन मुलुक काम यसले लगानी गर्न सक्नेछ । यस अवस्थामा कोषको दिगोपनाका लागि मेरो तर्फबाट थप पहल हुनेछ ।"

उनले कोषद्वारा सञ्चालित शिक्षण संस्थाहरूको नतिजालाई अध्ययन गर्दा समेत गुणस्तरीय शिक्षा प्रदान गर्नमा अब्बल रहेकोमा खुसी व्यक्त गर्दै सैनिक महाविद्यालय र विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा ख्याती प्राप्त गरेको उदाहरणप्रति सन्तोष व्यक्त गरे । 

उनले नेपाली सेनाले कल्याणकारी कार्यक्रमहरूको समयानुकूल पुनरावलोकन, पहुँच विस्तार र गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखी अझ सहज रूपमा सेवा तथा सुविधा उपलब्ध गराउँदै लैजाने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कोषको स्थापना र सञ्चालनमा योगदान दिने अगुवाहरूलाई सम्मान प्रदान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप