मधेसका हाेटलहरूकाे अनुगमन
जनकपुरधाम। मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले शुक्रबार संयुक्त रूपमा होटलहरूको अनुगमन गरेको छ।
गुणस्तर मापन गर्ने उद्देश्यले गरिएको उक्त अनुगमनका क्रममा होटलहरूले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने गरी खाद्य सामग्रीको प्रयोग तथा सरसफाइमा लापरबाही गरेको पाइएको छ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार निरीक्षक कृष्ण गैह्रेका अनुसार कसुरको मात्राका आधारमा धनुषाको लक्ष्मीनियामा सञ्चालन रहेको बाबाको ढाबा होटललाई ३५ हजार रुपैयाँ, बाजेको सेकुवालाई ७५ हजार रुपैयाँ, रोयल सम्राट होटलका सञ्चालकलाई ५ हजार रुपैयाँ र बर्गरहाउस लाई ३५ हजार रुपैयाँ जरिवाना गरिएको छ। अनुगमन टोलीले कुल १० वटा होटलको निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा अखाद्य पदार्थको बिक्री–वितरण भइरहेको, म्याद गुज्रिएका खाद्य सामग्री प्रयोग गरिएको तथा सरसफाइमा व्यापक लापरबाही भेटिएकाले कारबाही प्रक्रिया अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले बाध्यता वा रहरले होटलमा खाना खान जाने सर्वसाधारणको स्वास्थ्यसँग खेलबाड गर्ने अन्य होटललाई समेत कडा चेतावनी दिएका छन्।
पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मिथिला नगरपालिकाको लालगढ र ढल्केवरबाट सुरु गरिएको यो अनुगमन कार्यलाई निरन्तरता दिइने उनले बताए।
नाफा कमाउने बहानामा सर्वसाधारणको स्वास्थ्यलाई जोखिममा पार्ने होटलमाथि कारबाही सुरु भएपछि स्थानीय उपभोक्ताले खुसी व्यक्त गरेका छन्।
गुणस्तरहीन खाद्य पदार्थ बिक्री गरी मानव स्वास्थ्यसँग प्रत्यक्ष खेलबाड गर्ने धनुषाका आधा दर्जन होटल सञ्चालक बजार अनुगमनका क्रममा कारबाहीमा परेका हुन्। उनीहरूलाई आर्थिक जरिवानासहित कानुनी कारबाही गरिएको हो।
केही दिनअघि गृह तथा सञ्चारमन्त्री फकिरा महतोले जनकपुरधामका सडक पेटी तथा सार्वजनिक स्थानमा रहेका अतिक्रमित टहरा हटाउने अभियान सञ्चालन गरेका थिए।
तर अहिले जनकपुरधाममा पुनः सडकमै टहरा बजार लाग्न थालेको देखिन्छ। सुरुआत भए पनि कार्यान्वयन प्रभावकारी हुन नसकेको भन्दै स्थानीयले होटल अनुगमन पनि त्यही अवस्थाको शिकार नहोस् भन्ने चिन्ता गरेका छन्।
'जनकपुरधाम उपमहानगरपालिका–४ का सर्वनाथ झाले, सुरुआत त भयो, तर कार्यान्वयन भएन। अहिले पनि जनकपुरधाममा फाटफुट रूपमा बजार लागिरहेको छ। होटल अनुगमन पनि नाम कमाउने उद्देश्यमा मात्रै सीमित नभई निरन्तर हुनुपर्छ। खोइ त कार्यान्वयन' भन्दै प्रश्न गरे।
युवा नागरिक समाजका अगुवा सरोजकुमार मिश्राले गृहमन्त्रीले थालेको होटल अनुगमन अभियान सराहनीय रहेको बताए।
उनले यसको निरन्तरताका लागि सम्बन्धित सरोकारवाला निकाय अग्रसर हुनुपर्नेमा जोड दिए। गृहमन्त्रीले सुरुआत गर्नुभयो, तर त्यसलाई निरन्तरता दिने जिम्मेवारी सम्बन्धित निकायकै हो।
नियमित अनुगमनले खाद्यजन्य जोखिम न्यूनीकरण, उपभोक्ता अधिकारको संरक्षण तथा होटल व्यवसायलाई थप जिम्मेवार र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको पानी बागमतीमा सहज निकास नहुँदा वर्षामा जाम बढेको ट्राफिक प्रहरीको निष्कर्ष
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण