आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे

आइतबार, २१ असार २०८३, ०१ : २९
आइतबार, २१ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को अन्तिम १६ मा फ्रान्स र पाराग्वे भिड्दैछन् ।
  • फ्रान्सले नकआउट चरणमा स्विडेनलाई ३-० ले हराएको थियो भने पाराग्वेले जर्मनीलाई स्तब्ध पारेको थियो ।
  • पाराग्वेले फ्रान्सलाई हराएमा यो विश्वकपको क्वाटरफाइनलमा उसको दोस्रो सहभागिता हुनेछ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) अन्तर्गत दुई पटकको विश्व विजेता फ्रान्स र पाराग्वेबिच अमेरिकाको फिलाडेल्फियामा आइतबार बिहान (नेपाली समय अनुसार २ः४५ बजे) प्रतिस्पर्धा हुँदैछ । 

सन् १९९८ र २०१८ को विश्वकप उपाधि जितेको फ्रान्स यस संस्करणमा तेस्रो उपाधि थप्ने रणनीतिका साथ मैदानमा उत्रिँदैछ । ‘ले ब्लुज’ उपनामले चिनिने फ्रान्सेली टोली जारी प्रतियोगितामा निकै उत्कृष्ट लयमा देखिएको छ । फ्रान्सले यसअघि खेलिएको ‘राउन्ड अफ ३२’ को नकआउट खेलमा स्विडेनलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको हो ।

अर्कोतर्फ, दक्षिण अमेरिकी टोली पाराग्वे फ्रान्सका लागि अप्रत्याशित चुनौती साबित हुन सक्ने देखिन्छ । पाराग्वेले यसअघि चार पटकको विश्व विजेता जर्मनीलाई स्तब्ध पार्दै अन्तिम १६ मा फ्रान्ससँगको ऐतिहासिक भेट पक्का गरेको हो । यदि पाराग्वेले फ्रान्सलाई पराजित गर्न सकेमा यो उसको फुटबल इतिहासमै दोस्रो पटक विश्वकपको क्वाटरफाइनल प्रवेश हुनेछ ।

यी दुई देशबिचको खेल इतिहास हेर्दा फ्रान्स निकै हाबी देखिएको छ । हालसम्म यी दुई टोली ५ पटक आमनेसामने भएका छन्, जसमा फ्रान्सले ३ खेल जितेको छ भने २ खेल बराबरीमा सकिएका छन् । उनीहरूबीचको पछिल्लो भेट सन् २०१७ को मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ फ्रान्सले ५–० को जित निकाल्दा ओलिभियर जिराउडले ह्याट्रिक गरेका थिए ।

विश्वकपको इतिहासमा भने यी दुई टोली दुई पटक भिडेका छन् र दुवै खेल फ्रान्सले जितेको छ । सन् १९५८ को विश्वकपको समूह चरणमा फ्रान्सले पाराग्वेलाई ७–३ को फराकिलो गोल अन्तरले हराएको थियो ।

त्यस्तै, सन् १९९८ को विश्वकपको अन्तिम १६ को ऐतिहासिक खेलमा फ्रान्सले अतिरिक्त समयमा लरेन्ट ब्लान्कको ‘गोल्डेन गोल’ को मद्दतले पाराग्वेलाई १–० ले पराजित गरेको थियो । सोही खेलको जितले फ्रान्सलाई आफ्नो पहिलो विश्वकप उपाधिसम्म पुर्‍याएको थियो, जहाँ फ्रान्सका वर्तमान प्रशिक्षक डिडिएर देसच्याम्प्स तत्कालीन टोलीका कप्तान थिए । इतिहास दोहोर्‍याउने फ्रान्सको दाउ र जर्मनीलाई हराएर उच्च मनोबलमा रहेको पाराग्वेको यो रोमाञ्चक भिडन्तले क्वाटरफाइनलमा पुग्ने दोस्रो टोलीको टुङ्गो लगाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप