माओवादी अन्तरद्वन्द्व : शिवकुमार मण्डलले खोले हेडक्वटरविरूद्ध फायर
सारांश
- पूर्वमन्त्री शिवकुमार मण्डलले उपमहासचिव जनार्दन शर्माको लोकतान्त्रिक विचारलाई दबाएर माफियालाई बल दिन खोजेको आरोप लगाए।
- मण्डलले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै स्वार्थपूर्तिको घेराले ऐतिहासिक योगदान गुम्ने खतरा औंल्याए।
- उनले आगामी मंसिरमा हुने विशेष महाधिवेशनलाई वैचारिक पुनर्जागरणको थलो बनाउन जोड दिए।
काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले उपमहासचिव जनार्दन शर्माले उठाएको लोकतान्त्रिक विचारलाई दबाएर माफियालाई बल दिन खोज्ने प्रवृत्तिले पार्टी र देश दुवै नजोगिने बताएका छन् ।
पार्टीभित्र अन्तरविरोध बढ्दै गएको वेला मण्डलले बिहीबार सामाजिक सञ्जालमार्फत संस्थापन पक्षको प्रवृत्तिप्रति विरोध जनाएका हुन् ।
पछिल्लो समय उनले नेतृत्वको कार्यशैलीप्रति तीव्र रूपमा असन्तुष्ट जनाउँदै आएका छन् । यस्तै अध्यक्षको वरिपरि स्वार्थपूर्तिको घेरा बनाएर सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिले ऐतिहासिक योगदानलाई गुमाउने खतरा हुने मण्डलले बताए ।
‘कमरेड प्रभाकरले उठाएको लोकतान्त्रिक विचारलाई दबाएर माफियालाई बल दिन खोज्ने प्रवृत्तिले न पार्टी जोगिन्छ, न देश । अध्यक्ष वरिपरि स्वार्थपूर्तिकारी घेरा बनाएर सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिले ऐतिहासिक योगदानलाई गुमाउने खतरा हुन्छ । केपी ओलीलाई विधि मिचेर माफियासँग दलाली गर्न दिएका गल्तीहरू आज पनि हाम्रो सामु छर्लङ्गै छन्। ओली प्रवृत्तिलाई हुर्काउने पात्रहरूको विरुद्ध सशक्त प्रतिवाद गर्नु आजको अनिवार्य राजनीतिक जिम्मेवारी हो’, उनले लेखेका छन् ।
माओवादीभित्रको अन्तरविरोधबारे थप प्रस्ट पार्दै उनले सत्य बोल्ने आँट गर्नेलाई पार्टी विभाजन गर्न खोजेको ट्याग लगाउने काम नेतृत्वबाट नै भएको आरोप समेत लगाए । यस्ता भ्रमको खेती चिर्दै आगामी मङ्सिरमा हुने विशेष महाधिवेशनलाई वैचारिक पुनर्जागरणको थलो बनाउनुपर्नेमा मण्डलले जोड दिए ।
‘हामी एउटा यस्तो मोडमा उभिएका छौँ, जहाँ सत्य बोल्ने आँट गर्नेलाई पार्टी विभाजन गर्न खोजेको ट्याग लगाइन्छ, र जनताको भरोसा माफियावादको छायाँमा हराउँदैछ। पार्टी फुट्ने हल्ला तलबाट होइन, सत्ताको शीर्ष स्तरबाटै चलाइएको देखिन्छ — विचारको केन्द्र भत्काउने योजनासहित। हामीले यो भ्रमको खेती चिर्दै, मङ्सिरको विशेष महाधिवेशनलाई वैचारिक पुनर्जागरणको थलो बनाउनु छ’, उनले उल्लेख गरेका छन् ।
उनले प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका वर्षमान पुनबारे कांग्रेसका नेता डा सुनिल शर्माले प्रचण्डको आलोचना गर्दै पुनको इतिहासकै उत्कृष्ट अर्थमन्त्रीको उपाधि दिएको विषयमा सामान्य नभएको उल्लेख गरेका छन् ।
‘म सम्झन्छु — त्यो समय, जब अध्यक्ष कमरेड प्रचण्ड सरकार सुशासनको मार्गमा समर्पित थियो, र मोरङका सांसद डा. सुनिल शर्माले उनको आलोचना गर्दै अनि अनन्त कमरेडलाई ‘इतिहासकै उत्कृष्ट अर्थमन्त्री’ को उपाधिसम्म दिए’, उनले लेखेका छन्, ‘त्यो विरोध र प्रशंसाको सन्दर्भ सामान्य थिएन ! यो हामी कहाँ उभिएका छौँ भन्ने गम्भीर प्रश्न हो। पूर्वको नोबेल मेडिकल अस्पतालको सेयर काण्डजस्ता घटनाले देखाएको हाम्रै पार्टी भित्रको नेताको घृणित चरित्रलाई जनताले बिर्सेका छैनन् ।’
साँचो सुशासन चाकरी र चाप्लुसीमा होइन, जवाफदेहिता र विधि पद्धतिमा आधारित हुन्छ। पार्टी सही प्रक्रियामा चले मात्र जनयुद्ध र त्यसबाट प्राप्त उपलब्धिहरू संस्थागत हुन्छन्। देश सङ्कटमा परेको बेला संविधान संशोधन, आर्थिक पुनःसंरचना र पार्टीको पुनर्गठन आजको ऐतिहासिक आवश्यकता भएको उनले उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण