बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

नेपाल–चीन सम्बन्धको ७० वर्ष : सम्बन्धलाई थप सुदृढ बनाउने दुवै देशको प्रतिबद्धता

शुक्रबार, १६ साउन २०८२, १८ : २३
शुक्रबार, १६ साउन २०८२

काठमाडौँ । नेपाल र चीन बिच कूटनीतिक सम्बन्ध स्थापना भएको शुक्रवार ७० वर्ष पूरा भएको छ । सो अवसरमा दुवै देशले एक अर्कालाई शुभकामना दिनुको साथै अगामी दिनमा द्विपक्षीय सम्बन्ध अझै बलियो बनाउने प्रतिबद्धता जनाएका छ । 

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई शुभकामना सन्देश पठाउँदै दुई देशबिचको दीर्घकालीन मित्रता, आपसी विश्वास, सार्वभौम समानता र शान्तिपूर्ण सहअस्तित्वमा आधारित सम्बन्ध रहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले दुवै मुलुक बिचको सहकार्यलाई शान्ति, प्रगति र समृद्धिको साझा दृष्टिकोणअनुसार अझ सुदृढ बनाउनुपर्ने धारणा राखे । चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति पौडेललाई शुभकामना सन्देश पठाएर नेपाल–चीन मित्रता पर्वत–नदी जस्तै जोडिएको प्राचीन सम्बन्ध रहेको धारणा राखे ।

विगत केही वर्षयता द्विपक्षीय राजनीतिक विश्वास, तथा बीआरआइमा सहकार्य र रणनीतिक साझेदारीमा उल्लेखनीय प्रगति भएको भन्दै राष्ट्रपति सीले प्रशंसा गरेको मन्त्रालयले जनाएको छ । 

उनले परम्परागत मित्रतालाई अघि बढाउँदै क्षेत्रीय शान्ति र समृद्धिमा योगदान दिन दुवै देश मिलेर काम गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई शुभकामना सन्देश पठाउँदै सात दशकदेखिको द्विपक्षीय सम्बन्धमा कुनै अवरोध नआएको उल्लेख गर्दै ‘एक चीन नीति’ प्रति नेपाल प्रतिबद्ध रहेको बताए । 

चीनले नेपालको सार्वभौमिकता र भू–अखण्डतालाई सधैँ सम्मान गरेको प्रधानमन्त्री ओलीले धारणा राखेका छन् । प्रधानमन्त्री ओलीले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सीको ऐतिहासिक नेपाल भ्रमण र आफ्ना तीन पटकका चीन भ्रमणलाई सम्बन्ध विस्तारका लागि महत्त्वपूर्ण मान्दै, सीमा पार सम्पर्क, पूर्वाधार, व्यापार, कृषि, हरित ऊर्जा र विपद् व्यवस्थापनलगायत क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिएको बताए । 

चीनको अद्वितीय उपलब्धिहरूले नेपाली जनताको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षामा समेत सकारात्मक अवसर प्रदान गरेको उनले बताए । त्यस्तै, प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्री लीलाई पठाएको सन्देशमा आपसी हितमा आधारित सहकार्यलाई अझ बलियो बनाउने धारणा राखे ।

चीनका प्रधानमन्त्री ली छ्याङले पनि नेपालको प्रधानमन्त्री ओलीलाई पठाएको सन्देशमा द्विपक्षीय सम्बन्धको सुदृढ प्रगतिको प्रशंसा गर्दै बीआरआइ सहकार्यलाई अझ अघि बढाउने तयारी रहेको बताए । 

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले पनि चिनियाँ समकक्षी वाङ यीलाई शुभकामना सन्देश पठाउँदै नेपाल–चीन सम्बन्धको सामाजिक, सांस्कृतिक, राजनीतिक र विकासात्मक आयामहरूलाई उजागर गरेकी छिन् । उनले जलवायु परिवर्तनको सीमा–पार जोखिम न्यूनीकरणमा समेत सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

चिनियाँ विदेश मन्त्री वाङ यीले पनि नेपाललाई शुभकामना सन्देश पठाउँदै आपसी सम्मान, समानता र पारस्परिक हितमा आधारित चीन–नेपाल सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता जनाएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप