राष्ट्रिय कोदो दिवस : पोखरामा कोदो उत्पादक किसान सम्मानित
सारांश
- पोखरामा राष्ट्रिय कोदो दिवस मनाइयो, जसमा उत्कृष्ट किसानहरूलाई सम्मान गरिएको थियो।
- कोदो उत्पादनमा उत्कृष्ट चार जना किसानलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।
- कार्यक्रमको उद्देश्य कोदो खेतीको प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्नु थियो।
कास्की । ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नाराका पोखरामा आज राष्ट्रिय कोदो दिवस मनाइएको छ । सो अवसरमा महानगरले चार जना कोदो उत्पादक किसानलाई नगदसहित सम्मान गरेको हो ।
महानगरभित्र सबैभन्दा बढी कोदो फलाउने किसान सम्मानित भएका हुन् । लामो समयदेखि कोदोखेती गर्दै आएका चार जना किसानलाई महानगर प्रमुख धनराज आचार्यले सम्मान गरे । सो अवसरमा कोदोजन्य बालीका परिकारको प्रदर्शनी गरिएको थियो ।
पोखरामा १२ रोपनी क्षेत्रफलमा कोदोखेती गर्ने पोखरा–२१ का कर्णबहादुर थापालाई नगद रु १० हजारसहित सम्मान गरिएको छ । यसैगरी आठ रोपनी क्षेत्रफलमा कोदोखेती गर्ने पोखरा–२८ की अम्बिका भण्डारी नगद रु सात हजारसहित पुरस्कृत भइन् ।
करिब १० रोपनी क्षेत्रफलमा कोदोखेती गर्ने पोखरा–२३ का सचेन गुरुङ रु पाँच हजारसहित र आठ रोपनी क्षेत्रफलमा कोदोखेती गर्ने पोखरा–१६ की बबिता गुरुङ रु तीन हजारसहित सम्मानित भए । कोदोका परिकार प्रदर्शनीतर्फ करुङे कृषक समूह पोखरा–२२ प्रथम हुँदै रु १० हजार पुरस्कार प्राप्त गरेको छ । अन्नपात एग्रो प्रालि द्वितीय हुँदै रु सात हजार तथा नमूना प्राङ्गारिक कृषि सहकारी र जैविक स्रोत संरक्षण अभियान सान्त्वना हुँदै क्रमशः रु पाँच हजार र तीन हजार पुरस्कार पाएका छन् ।
कार्यक्रममा महानगर प्रमुख आचार्यले परम्परागत बालीको संरक्षण तथा विकासका लागि महानगर प्रतिबद्ध रहेको बताए । ‘रैथाने बाली उपेक्षित बन्दै गएको छ । लोपोन्मुख अवस्थामा पुगेका बालीहरूको संरक्षण तथा किसानलाई आकर्षित गर्ने अभियानमा महानगर छ’, उनले भने ।
परम्परागत बालीको संरक्षण, कोदोजन्य पोसिलो अन्नको प्रवर्द्धन, किसानको आम्दानी वृद्धि, कोदोखेतीप्रति किसानको आकर्षण वृद्धि गर्ने उद्देश्यले कोदो दिवस विशेष कार्यक्रम गरेर मनाइएको महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।
कोदोखेतीको विस्तार, प्रवर्द्धन र किसानको आकर्षण बढाउन महानगरपालिकाले न्यूनतम समर्थन मूल्यसमेत उपलब्ध गराउँदै आएको कडरियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण