बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निःस्वार्थी मजदुर जगन्नाथ

एक भुइँमान्छे, जसको निधनमा बजार बन्द भयो

शनिबार, १७ साउन २०८२, १२ : ५९
शनिबार, १७ साउन २०८२

सारांश

  • ६५ वर्षीय मजदुर जगन्नाथ खनालको मंगलसेन बजारमा निधन भयो, जो आफ्नो श्रममा सन्तुष्ट थिए।
  • खनाल नागरिकता र सम्पत्तिभन्दा टाढा रहेर आफ्नो पसिना र कर्ममा विश्वास गर्थे।
  • जगन्नाथको मृत्युले मंगलसेन बजार शोकमा डुब्यो, स्थानीयले उनको अन्तिम संस्कारका लागि सहयोग जुटाए।

धनगढी । हाम्रो समाज यतिबेला नाम, दाम र चर्चालाई लक्ष्य बनाएर दौडिरहेको छ । मान्छेहरू एउटा पहिचान बनाउन, सम्पत्ति जोड्न र सामाजिक प्रतिष्ठा कमाउन अनेक तानाबाना बुन्छन् । अंशबन्डाका लागि दाजुभाइबिच रगतको खोला बग्छ । नागरिकता पाउनकै लागि हजारौँ किर्ते कागजपत्र तयार हुन्छन् तर यही समाजमा एउटा यस्तो मान्छे पनि थिए, जसका लागि यी सबै कुरा अर्थहीन थिए ।

उनलाई न नागरिकताको लोभ थियो, न सम्पत्तिको मोह । उनले आफ्नो पसिना र कर्ममा मात्र विश्वास गरे । अनि त्यही कर्मले दिएको दुई छाक भातमा सन्तुष्टि खोजे । यो कथा हो– ६५ वर्षको उमेरमा भौतिक संसारबाट बिदा भएका निःस्वार्थी मजदुर जगन्नाथ खनालको ।

बिहीबार साँझ अछामको मंगलसेन बजार एकाएक स्तब्ध बन्यो । दिनभरि बजारमा भारी बोकेर, ग्यास सिलिन्डर ओसारेर आफ्नो गुजारा चलाउने जगन्नाथ एउटा पुरानो, खाली घरभित्र मृत अवस्थामा फेला परे । पञ्चदेवल विनायक नगरपालिका–७ का बासिन्दा भए पनि उनको कर्मभूमि र घर दुवै मंगलसेन बजार थियो ।

उनी जीतेन्द्र शाहको खाली घरमा एक्लै बस्थे । दिनभरि काममा नदेखिएपछि र घरबाहिर ननिस्किएपछि स्थानीयले खोजखबर गर्दा उनी अन्तिम सास फेर्दै थिए । अस्पताल पुरर्‍याउने तयारी गर्दागर्दै उनले प्राण त्यागे ।

जगन्नाथको मृत्युको खबरले मंगलसेन बजारलाई नै भावुक बनायो । जोसँग उनले काम गर्थे, जसको आँगनमा उनी भारी बिसाउँथे, ती सबैका आँखा रसाए । उनको यो भौतिक बिदाइ एक मजदुरको मृत्युमात्र थिएन, यो त एउटा निःस्वार्थ जीवन दर्शनको अन्त्य थियो ।

khanal 2

जगन्नाथको जीवन कथा कुनै फिल्मको पटकथाभन्दा कम छैन । उनका भतिजा ताराप्रसाद खनालका अनुसार उनको जन्म विसं. २०१९ तिर भएको अनुमान छ । करिब १२–१३ वर्षको उमेरमा उनले आफ्नी आमा गुमाए । आमाको मृत्युपछि उनी यति विरक्तिए कि, आफ्नो गाउँ, घर र परिवार सबै त्यागेर मंगलसेनतिर लागे ।

‘उहाँ आमा बितेपछि घरबाट निस्किनुभएको हो । त्यसपछि कहिल्यै गाउँ फर्किनुभएन । गत वर्ष मेरो बुबा (उहाँको दाइ) बित्नुभयो । खबर गर्दा पनि आउनुभएन । एउटा भाइ बित्दा पनि आउनुभएन । उहाँलाई संसार र पारिवारिक मोहले कहिल्यै तानेन,’ ताराप्रसादले भने ।

मंगलसेन आएपछि जगन्नाथले अछामका तत्कालीन राजा योगेन्द्रबहादुर शाहको दरबारमा आश्रय पाए । स्थानीय शिक्षक तथा पसल सञ्चालक लक्षीप्रसाद भाटका अनुसार उनी राजाको घरमा औपचारिक कामदार थिएनन्, तर दरबारकै एउटा पुरानो घरमा उनलाई बस्ने व्यवस्था मिलाइएको थियो । त्यहीँ बसेर उनले आफ्नो कर्मको यात्रा सुरु गरे ।

जगन्नाथको दिनचर्या सरल थियो । बिहान उठ्ने, बजार डुल्ने र जसले जे काम लगायो, त्यही गर्ने । पछिल्लो समय उनी लक्षीप्रसाद भाटको ग्यास पसलमा काम गर्थे । ‘उहाँ मेरो पसलमा आउनुहुन्थ्यो, ग्यास सिलिन्डर घर–घरमा पुर्‍याइदिनु हुन्थ्यो । एउटा सिलिन्डर पुर्‍याएबापत सय रुपैयाँ लिनुहुन्थ्यो । कहिलेकाहीँ पैसाभन्दा पनि खानाकै भरमा काम गरिदिने,’ भाटले सुनाए ।

जगन्नाथले भारी बोकेकै भरमा हुने कमाइबाट जीवन गुजारा गरे । प्रहरी जवान खेम बोगटीका अनुसार जगन्नाथको एउटा अनौठो बानी थियो– उनी महिलाको कपडा लगाउँथे, तर यो उनको लैङ्गिक पहिचानको कारणले थिएन ।

उनका भतिजा ताराप्रसादले यसको कारण खोल्दै भने, ‘उहाँ कहिलेकाहीँ अलिअलि मदिरा पिउनुहुन्थ्यो । केटाहरूले पैसा माग्ने, दुःख दिने गर्न थालेपछि त्यसबाट बच्न उहाँले महिलाको लुगा लगाउन थाल्नुभएको हो । महिलाको भेषमा हिँडेपछि कसैले जिस्काउँदैन, पैसा माग्दैन भन्ने उहाँको सोच थियो ।’

जगन्नाथ खनालको जीवनको सबैभन्दा मार्मिक पक्ष भनेको उनको निःस्वार्थ स्वभाव हो । अहिलेको समयमा मानिसहरू सामाजिक सुरक्षा भत्ता पाउन अनेक तिकडम गर्छन्, तर जगन्नाथले नागरिकता बनाउन र त्यसबाट पाइने सरकारी सुविधा लिन ठाडै अस्वीकार गरे ।

उनका भतिजा ताराप्रसाद पूर्ववडा अध्यक्षसमेत हुन् । उनले भने, ‘मैले धेरै पटक नागरिकता बनाइदिन्छु भनेँ । वडाबाट सिफारिस गरेर सबै मिलाइदिन्छु भन्दा उहाँले मान्नुभएन ।’

जगन्नाथलाई उद्धृत गर्दै ताराप्रसादले भने, ‘मैले सरकारको सित्तैको पैसा किन खाने ? म आफ्नो पसिनाले कमाएर खान्छु । त्यो कागज (नागरिकता) मा मेरो बुवा, आमाको नाम आउँछ । त्यो देखेपछि मलाई दुःख लाग्छ, मलाई त्यो चाहिँदैन ।’

khanal

खनालका अनुसार पत्रकार मेनुका ढुंगानाले उनको बारेमा समाचार लेखेपछि पनि धेरैले नागरिकता बनाइदिन चासो देखाएका थिए । तर उनी कसैको कुरा सुन्न तयार भएनन् । उनलाई थाहा थियो– नागरिकता भएमा वृद्धभत्ता आउँछ, तर उनलाई त्यो सित्तैको धनको कुनै लालच थिएन । उनको लागि आत्मसम्मानभन्दा ठुलो अरू केही थिएन र त्यो आत्मसम्मान उनले आफ्नो पसिनाले किनेका थिए ।

बिहीबार जब उनको मृत्युको खबर फैलियो, सिङ्गो मंगलसेन बजार शोकमग्न भयो । एउटा भुइँमान्छेको मृत्युमा सिङ्गो बजार शोकाकुल भएको थियो । उनी कुनै ठुलो मान्छे थिएनन्, न त उनीसँग धनदौलत थियो । यद्यपि उनले आफ्नो सरलता र इमानदारीले सबैको मन जितेका थिए । लक्षीप्रसाद भाटका अनुसार उनको मृत्युपछि बजारका व्यवसायीहरूले स्वतःस्फूर्त रूपमा पसल बन्द गर्ने निर्णय गरे ।

‘हामीले उहाँको सम्मानमा चार घण्टा बजार बन्द गर्‍यौँ,’ भाटले भने, ‘उहाँ लामो समयदेखि हामीसँगै हुनुहुन्थ्यो । उहाँको कोही छैन भन्ने हामीलाई थाहा थियो । त्यसैले हामी सबै मिलेर उहाँको काजकिरियाका लागि सहयोग जुटाएका छौँ ।’

बजारवासीले करिब ४०–४५ हजार रुपैयाँ संकलन गरेर उनको अन्तिम संस्कारका लागि परिवारलाई हस्तान्तरण गर्ने तयारी गरेका छन् । जो मान्छेले जीवनभर कसैसँग केही मागेनन्, उनको अन्तिम यात्राका लागि आज सिंगो बजारले स्वतःस्फूर्त सहयोग गरिरहेको छ । योभन्दा ठुलो सम्मान र कमाइ एउटा मानिसका लागि अरु के हुन सक्छ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप