भारत र चीनमा चिकुनगुनिया भाइरसको महामारी, नेपाल कति जोखिममा ?
सारांश
- लेखमा डेंगुसँगै चिकुनगुनियाको जोखिमबारे चर्चा गरिएको छ, जुन एडिस लामखुट्टेबाट सर्ने गर्छ।
- भारत र चीनमा चिकुनगुनिया बढ्दै जाँदा नेपालमा पनि यसको परीक्षण आवश्यक रहेको र सतर्कता अपनाउनुपर्ने देखिएको छ।
- विश्व स्वास्थ्य संगठनको चेतावनी र नेपालमा परीक्षण रोकिएको अवस्थामा, यो भाइरसको रोकथामका लागि पहल थाल्नुपर्ने कुरा औंल्याइएको छ।
मनसुन सुरु भए यता हामी सम्भावित डेंगु प्रकोपको बहसमा छौँ । डेंगु भाइरस एडिस जातको लामखुट्टेले सार्ने गर्दछ । हाल लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने योजना अगाडि बढाइरहेका पनि छौँ ।
चिकुनगुनिया नामक अर्को भाइरस पनि यही लामखुट्टेले सार्ने गर्दछ भन्ने तथ्य धेरैलाई थाहा नहुन सक्छ । हाल छिमेकी देश भारतमा यो भाइरस तीव्र गतिमा बढेको समाचार आइरहँदा अर्को छिमेकी देश चीनमा भने भाइरसले महामारीको रूप नै लिइसकेको जानकारी आइरहेका छन् ।
अमेरिकाको सीडीसीले चीन जाने योजना भएका आफ्ना नागरिकलाई ‘ट्राभल नोटिस’ नै जारी गरेको देखिन्छ । जुलाई महिनामा देखिन सुरु भएको उक्त भाइरस यो लेख लेख्दैगर्दा झन्डै ५,००० को हाराहारीमा सङ्क्रमण पुष्टि भइसकेको भनिएको छ ।
सन् २०१३ मा मैले गरेको अनुसन्धानबाट पहिलो पटक यो भाइरस नेपालमा पत्ता लागेको थियो । सो अनुसन्धानको लेख सन् २०१४ मा एक अन्तर्राष्ट्रिय मेडिकल जर्नलमा प्रकाशित भएको थियो । तत् पश्चात् नेपालमा बर्सेनि मनसुन सिजनमा देखिँदै आइरहेकोमा यो भाइरस केही वर्ष यता यसको परीक्षण (सरकारी प्रयोगशालामा) लगभग ठप्प प्रायः भएको छ । तसर्थ हाल यो भाइरसको अवस्था नेपालमा के–कस्तो छ भन्ने जानकारी छैन ।
केही दिन अगाडि विश्व स्वास्थ्य संगठनले आगामी दिनमा चिकुनगुनिया भाइरस महामारीको रूपमा फैलन सक्ने भन्दै चेतावनी दिइसकेको छ ।
अचानक ज्वरो आउनु र जोर्नीमा कडा दुखाई हुनु यसको मुख्य लक्षण हो । ५० प्रतिशतभन्दा बढी सङ्क्रमितमा जोर्नीको दुखाई ३ वर्षभन्दा बढी देखिने गरेको विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।
चिकुनगुनिया भाइरस डेंगु फैलाउने एडिस जातको लामखुट्टेले सार्ने गर्दछ । तसर्थ यो भाइरस डेंगु फैलने समयमै देखिने गर्दछ । विगत केही वर्षदेखि यो भाइरसको परीक्षण नगर्दा डेंगुको लक्षणहरूसँग मिल्दोजुल्दो देखिने तर प्रयोगशाला परीक्षणमा नेगेटिभ देखिनेहरू सम्भवतः चिकुनगुनिया भाइरस सङ्क्रमित भएका हुनसक्ने आकलन गर्न सकिन्छ । यो भाइरसले सङ्क्रमण गरेको औसतमा ४ देखि ८ दिनमा लक्षणहरू देखा पर्ने गर्दछ ।
अचानक ज्वरो आउनु र जोर्नीमा कडा दुखाई हुनु यसको मुख्य लक्षण हो । ५० प्रतिशतभन्दा बढी सङ्क्रमितमा जोर्नीको दुखाई ३ वर्षभन्दा बढी देखिने गरेको विभिन्न अनुसन्धानहरूले देखाएका छन् । टाउको दुख्नु, मांसपेशी दुख्नु, वाकवाक लाग्नु तथा शरीरमा बिमिराहरू देखिनु यो भाइरसका थप लक्षण हुन् । ज्वरो आउनु, शरीरमा बिमिरा देखिनु तथा जोर्नी दुख्नुजस्ता मुख्य लक्षणहरू डेंगु र चिकुनगुनिया दुवै भाइरसमा देखिने साझा लक्षण हुन् । यसकारण पनि लक्षणको आधारमा मात्र यी दुई भाइरसलाई छुट्ट्याउन सहज हुँदैन ।
यी लक्षण भएका बिरामीमा डेंगु नेगेटिभ देखिए चिकुनगुनिया भाइरस सङ्क्रमणलाई नकार्न सकिँदैन । किनभने दुवै भाइरस फैलाउने लामखुट्टे एकै हुनका साथै दुवै भाइरस एक साथ प्रकोपको रूपमा फैलन सक्ने/गरेको विभिन्न अनुसन्धानले देखाइसकेका छन् ।
नेपालका केही अनुसन्धानकर्तासँग मेरो अनौपचारिक कुराकानीमा पनि उनीहरूले नेपालमा पाइने एडिस जातका लामखुट्टेमा प्रशस्त मात्रामा चिकुनगुनिया भाइरस पाइने गरेको भनेका थिए । यसबाट पनि डेंगु सिजनमा चिकुनगुनिया भाइरसको पनि प्रयोगशाला परीक्षण उपयुक्त र आवश्यक देखिन्छ । यी दुई भाइरसलाई छुट्ट्याउनु पर्ने मुख्य कारण भनेको सङ्क्रमित बिरामीलाई चिकित्सकले दिनुपर्ने फरक परामर्श र उपचार विधि नै हो ।
चिकुनगुनिया भाइरसविरुद्धको विशेष औषधि नहुने भएकाले लक्षणमा आधारित उपचार गर्ने गरिन्छ ।
चिकुनगुनिया भाइरसलाई तुलनात्मक रूपमा डेंगुभन्दा कम घातक वा शारीरिक पीडा दिने संक्रमणको रूपमा लिने गरिन्छ, तर केही वर्ष यता भाइरसबाट हुने मृत्युदर पनि बढ्दै गइरहेको देखिन्छ । भारतको अहमदाबादमा फैलिएको महामारीमा संक्रमितको मृत्युदर झन्डै १२ प्रतिशतको हाराहारीमा भएको तथ्यांक मेडिकल जर्नलमा प्रकाशित गरिएको थियो । मृत्यु हुनेहरूमा विशेषतः अधिकांश ज्येष्ठ नागरिक थिए । सन् २०१७ मा नेपालमा पनि ३ जनाको चिकुनगुनिया संक्रमणबाट उत्पन्न जटिलताबाट मृत्यु भएको तथ्यांक देखिन्छ । यो नै नेपालमा पहिलो पटक यो भाइरसबाट मृत्यु भएको रिपोर्ट थियो ।
चिकुनगुनिया भाइरसबाट विशेषतः आँखा, मुटु र स्नायु प्रणालीमा जटिलता देखिने गर्दछ । मैले उपचार गरेको चिकुनगुनिया सङ्क्रमित बिरामीमा पनि स्नायु सम्बन्धी समस्या देखेको थिएँ । पछिल्लो समयमा गरिएका विभिन्न अनुसन्धानहरूले पनि स्नायुसँग सम्बन्धी समस्या बढी देखिने गरेको निष्कर्ष निकालेका छन् ।
चिकुनगुनिया भाइरसविरुद्धको विशेष औषधि नहुने भएकाले लक्षणमा आधारित उपचार गर्ने गरिन्छ । यो भाइरसबाट बच्ने उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो । तर एडिस लामखुट्टे विशेषतः दिनमा बढी सक्रिय हुने हुँदा लामखुट्टेको टोकाइबाट बच्न व्यावहारिक कठिन देखिन्छ । अर्थात् दिनमा काममा ब्यस्त हुने हुँदा लामखुट्टेको टोकाइबाट बच्न त्यति सहज नहुने धेरैको अनुभव छ । चिकुनगुनिया भाइरसविरुद्ध खोपहरू पनि उपलब्ध छन् । हाल अमेरिकाको सीडीसीले पनि आफ्ना नागरिकहरूलाई भाइरस फैलिरहेको ठाउँमा जानुपर्ने अवस्था भए चिकुनगुनियाका खोप लगाउन सल्लाह दिइरहेको छ । नेपालमा भने यी खोप उपलब्ध भए/नभएको जानकारी छैन ।
अन्त्यमा, हाल भारत तथा चीनमा चिकुनगुनिया भाइरसले महामारीको रूप लिँदै गर्दा नेपालमा भने कीटजन्य रोग नियन्त्रणका प्रयास अन्तर्गत डेंगुप्रति मात्र लक्षित भएको देखिन्छ । विश्व स्वास्थ्य संगठनले चिकुनगुनिया भाइरस महामारीको चेतावनी दिँदैगर्दा अनि नेपालमा एक दशक अघि नै पुष्टि भइसकेको यो भाइरसको सम्भावित प्रकोप/महामारीलाई नजरअन्दाज गर्न सकिँदैन । तसर्थ हाल स्थगित गरिएको चिकुनगुनिया भाइरसको प्रयोगशाला परीक्षणलाई फेरि सुचारु गर्न आवश्यक भइसकेको छ । यसबाट उपलब्ध हुने तथ्यांकले नेपालमा यो भाइरसको अवस्था थाहा हुने अनि त्यही अनुरुप सङ्क्रमण रोकथाम तथा उपचारका लागि ‘एक्सन प्लान’ तथा निर्देशिका बनाउन सहज हुनेछ ।
(लेखक डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण