बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एनपीएल विवाद

‘पहिलेको टी-२० को होइन, अहिले एनपीएलको कुरा गरौँ’

मङ्गलबार, २० साउन २०८२

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले गत बिहीबार नेपाल प्रिमियर लिग (एनपीएल)को आय-व्यय विवरण सार्वजनिक गर्‍यो । तर क्यानको एक पक्षले भने प्रक्रिया पूरा नगरिएको भन्दै यसलाई यत्तिकै पारित हुन नदिने अडान राख्यो । 

आफूहरूसँग कुनै परामर्श नै नगरी एक्कासि बोर्डमा आय-व्यय विवरण पेस गरेको भन्दै क्यानको असन्तुष्ट पक्षले विरोध जनाएको छ । क्यानका केन्द्रीय सदस्य प्रदीप मजगैयाँ एनपीएलको आयव्यय विवरणमा आफ्नो असहमति आर्थिक अनियमितताको आरोप नभई प्रक्रियागत त्रुटिप्रति लक्षित रहेको बताउँछन् । 

‘हामीले हिसाबै ठिक भएन भनेका छैनौँ । हाम्रो प्रश्न प्रक्रियामाथि हो । मिटिङकै दिन हतारमा एक्सेल सिटमा हिसाब देखाएर तुरुन्तै पास गर भन्दा अध्ययन गर्ने समय नै भएन,’ रातोपाटीसँग उनी भन्छन्, ‘यति ठुलो प्रतियोगिता र २८ करोडको कारोबार भएको विषयलाई विना अध्ययन अनुमोदन गर्नु गैरजिम्मेवारपूर्ण हुन्छ ।’ 

गत साता सम्पन्न क्यानको बोर्ड बैठकमा एनपीएलको पहिलो संस्करणको हिसाबकिताब सार्वजनिक गरिएको थियो । जसलाई मजगैयाँसहित क्यानका आठ जना केन्द्रीय सदस्यले तत्काल पास गर्न अस्वीकार गरेका थिए । यो विषयले क्यानभित्रको विवाद सतहमा आएको थियो । यसलाई विवादको रूपमा नभई संस्थागत सुशासन र पारदर्शिताको अभ्यासको रूपमा बुझ्नुपर्ने मजगैयाँ बताउँछन् । 

pradeep majgaiyan (1)

आठ सदस्यको विरोधपछि अब गभर्निङ काउन्सिलसहित बोर्डका सबै सदस्यको सर्वसम्मतिमा आयव्यय विवरण सार्वजनिक गरिने भएको छ । त्यसका लागि एक महिना अध्ययनका लागि समय दिने र अर्को बैठकबाट टुङ्ग्याउने निर्णय भएको छ । 

‘यो कुनै गुटको जित वा हारको विषय होइन । हामीले संस्थालाई सही प्रक्रियामा हिँडाउन गरिएको सामूहिक प्रयास हो । जसमा अध्यक्ष, सचिव लगायत सबै सदस्य सहमत हुनुहुन्छ,’ मजगैयाँ बताउँछन् । 

  • ‘व्यक्ति विशेषविरुद्ध नभई संस्थागत प्रणालीको पक्षमा छौँ’ 

क्यान सचिव पारस खड्का र उनीनिकट समूहलाई लक्षित गरेर घेराबन्दी गरिएको आरोप छ । सोही विषयलाई लिएर चौतर्फी विरोध पनि हुने गरेको छ । 

विशेषगरी पछिल्लो समय एनपीएलको खर्च विवरण सार्वजनिक गर्ने विषयमा दुई पक्षबिच लामो समयदेखि विवाद चलिरहेको छ । 

pradeep majgaiyan (2)

‘पारसजीलाई सचिव बनाउन हाम्रो समूहको पनि महत्त्वपूर्ण भूमिका थियो । उहाँको क्षमता देखेरै हामीले अगाडि बढाएका हौँ,’ मजगैयाँ भन्छन्, ‘तर कुनै पनि संस्था व्यक्तिको इच्छाले होइन, विधान र नीतिले चल्नुपर्छ । हाम्रो माग यही हो । कुनै पनि व्यक्तिले एकलौटी ढङ्गले निर्णय गर्नु हुँदैन । त्यसले संस्थालाई दुर्घटनामा लैजान्छ ।’

आठ सदस्यले अध्यक्षलाई लेखेको पत्र पनि व्यक्तिगत आरोप नभई संस्थालाई विधि र प्रक्रियामा चलाउन गरिएको सचेत प्रयास भएको उनको दाबी छ । 

‘हामीले आन्तरिक रूपमा इमेलमार्फत पठाएको पत्र बाहिरिनु दुःखद हो । यदि हामीलाई मिडियामै आएर ज्ञापनपत्र बुझाउनु थियो भने पत्रकार सम्मेलन गर्ने छुट पनि थियो । तर इमेलमार्फत पठाएको पत्र बाहिर कसरी आयो थाहा भएन,’ मजगैयाँ भन्छन् । 

  • नेपाल टी–ट्वान्टी लिगको विवादमा मौनता 

पछिल्लो समय एपीएलको खर्च विवरण माग गर्ने क्यानको एक पक्षले नेपाल टी–ट्वान्टी लिगको विषयमा कुनै चर्चा नहुनुमा रहस्य रहेको समेत आरोप लगाएको छ । 

यता क्यानका अध्यक्ष चतुरबहादुर चन्द पनि तटस्थ भएर बसेका छन् । उनको पालामा भएको नेपाल टी–ट्वान्टी लिगको हालसम्म हिसाबकिताब सार्वजनिक भएको छैन । चन्द उक्त लिगबाट क्यानलाई दुई करोड नाफा भएको दाबी गर्छन् । 

pradeep majgaiyan (3)

लिगको कुनै पनि ठाउँमा हिसाबकिताब सार्वजनिक गर्ने माग नगरेको विषयमा भने मजगैयाँ दुई विषयमा फरक परेको बताउँछन् । 

‘नेपाल टी–ट्वान्टीको विषयमा राष्ट्रिय खेलकुद परिषद् र अख्तियार जस्ता निकायबाट ‘क्लिन चिट’ आइसकेको छ  । क्यानलाई २ करोडभन्दा बढी नाफा भएको छ । त्यो अध्याय बन्द भइसक्यो,’ उनी भन्छन्, ‘अहिलेको हाम्रो चासो एनपीएलको प्रक्रिया पारदर्शी बनाउनेमा केन्द्रित हो ।’

  • दोस्रो संस्करणमा गभर्निङ काउन्सिलमा हेरफेर

एनपीएलको दोस्रो संस्करणमा गभर्निङ काउन्सिलमा हेरफेर हुने मजगैयाँ बताउँछन् । अघिल्लो सिजनमा भएका समितिहरूमा परिवर्तन आउने पनि उनी बताउँछन् । 

‘पहिलो संस्करणको गभर्निङ काउन्सिल असफल भएर होइन, बरु थप विज्ञता र अनुभव समेटेर कार्यविभाजन गर्न र अझ प्रभावकारी बनाउन केही सदस्य थपिन सक्नुहुन्छ,’ मजगैयाँ भन्छन् । 

दोस्रो संस्करणको लिग रोक्न आफूहरूले आय-व्ययको विषयमा कुरा उठाएको भन्ने भाष्य गलत भएको उनी दाबी गर्छन् । 

‘बाहिर हल्ला भएजस्तो एनपीएल रोक्ने हाम्रो कुनै मनसाय होइन । यो हाम्रो सपनाको परियोजना हो,’ उनी भन्छन्, ‘अक्सनको तयारी भइरहेको छ । प्रतियोगिता भव्य रूपमा सम्पन्न हुनेछ ।’

क्यानले एनपीएलको अक्सन साउन २४ गते गर्दैछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया