एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
सारांश
- एक वर्षमा २३ केजी १४१ ग्राम खैरो हेरोइन, १३ केजी ३४७ ग्राम कोकिन, ७ केजी ८ सय ग्राम सेतो हेरोइन, ४३ केजी अफिम र २०४ केजी गाँजा बरामद भएको छ ।
- लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बरामद गरिएको लागुऔषधको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ८५ करोड ७७ लाख ५४ हजार रुपैयाँ रहेको छ ।
- आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषध कारोबारमा संलग्न १ हजार ७६८ जना पक्राउ परेका छन्, जसमध्ये १ हजार ११३ जना पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।
काठमाडौँ । साउन ६ गते नेपालगञ्जबाट दुई जना महिला ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ परे । पक्राउ पर्नेमा रुकुम पश्चिमकी ३३ वर्षीया ललिता बुढाथोकी र नेपालगञ्जकी २४ वर्षीया निशा मगर थिए । प्रहरीले उनीहरूका साथबाट ४ सय ग्राम खैरो हेरोइन बरामद गर्यो ।
त्यसको दुई दिनअघि मात्रै (साउन ४ गते) मोरङको रंगेलीबाट भारतबाट नेपालतर्फ खैरो हेरोइन बेच्न आएका दुई भारतीय नागरिक मोहम्मद मुन्ना र मोहम्मद मुकुल समातिए । उनीहरूको साथबाट १०० ग्राम खैरो हेरोइन बरामद भयो ।
यी घटनाहरू प्रतिनिधि उदाहरण मात्र हुन् । पछिल्लो समय भारतबाट नेपालतर्फ खैरो हेरोइन भित्र्याएर बेचबिखन गर्ने गिरोह सक्रिय भइरहेको अनुसन्धानले देखाएको छ ।
एकै वर्षमा २३ केजी खैरो हेरोइन बरामद
लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार पछिल्लो एक वर्ष (२०८२ साउनदेखि २०८३ असार मसान्तसम्म) मा काठमाडौँ उपत्यका र मातहतका युनिटहरूबाट मात्रै २३ केजी १४१ ग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
खैरो हेरोइनबाहेक नेपाललाई ट्रान्जिट बनाएर भारत तथा अन्य मुलुकतर्फ ओसारपसार हुने कोकिन र सेतो हेरोइन पनि ठुलो परिमाणमा नियन्त्रणमा लिइएको छ। एक वर्षको अवधिमा ब्युरोले १३ केजी ३४७ ग्राम कोकिन र ७ केजी ८ सय ग्राम सेतो हेरोइन बरामद गरेको छ ।
यस्तै, ४३ केजी अफिम र थाइल्यान्डबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याइएको २०४ केजी गाँजासमेत नियन्त्रणमा लिइएको ब्युरोका सहप्रवक्ता (डीएसपी) जीवन निरौलाले जानकारी दिए। ब्युरोले पछिल्लो एक वर्षमा कुल १३ प्रकारका लागुऔषध बरामद गरेको छ, जसको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ८५ करोड ७७ लाख ५४ हजार रुपैयाँ रहेको छ।
सीमा क्षेत्रबाट मेडिकल ड्रग्सको अवैध ओसारपसार पनि उस्तै चिन्ताजनक छ । ब्युरोले एक वर्षमा ५ लाख ४१ हजार क्याप्सुल ट्रामाडोल बरामद गरेको छ । त्यस्तै, ३४ हजार नाइट्राभेट ट्याब्लेट र ५५० ग्राम एम्फेटामाईन बरामद गरिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषध कारोबारमा संलग्न आरोपी पक्राउ पर्ने क्रम ५.५५ प्रतिशतले बढेको छ। पछिल्लो एक वर्षमा लागुऔषध कारोबारमा संलग्न १ हजार ७६८ जना आरोपीहरूलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूविरुद्ध सरकारी वकिल कार्यालयमार्फत अदालतमा ९ सय ९३ थान मुद्दा दायर गरिएको छ ।
अदालतमा पेस गरिएका १ हजार ३१५ जना आरोपीमध्ये १ हजार ११३ जना पुर्पक्षका लागि थुनामा गएका छन् । यसबाहेक, विगतमा जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका २४ जना र प्रहरी हिरासतबाट भागेका २७ जना पुराना कारोबारीलाई समेत ब्युरोले पुनः पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।
जनस्वास्थ्यमा गम्भीर असर
अनुसन्धान अधिकृतहरूका अनुसार लागुऔषधको यो बढ्दो सञ्जालले जनस्वास्थ्यमा भयावह असर पारिरहेको छ। प्राविधिक विश्लेषणअनुसार १ ग्राम मात्र खैरो हेरोइनले १० जना व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ । यसै हिसाबले १०० ग्रामले १ हजार जनालाई असर गर्छ ।
ब्युरोले एक वर्षमा बरामद गरेको २३ केजीभन्दा बढी खैरो हेरोइन बजारमा पुगेको भए यसले २ लाख ३० हजारभन्दा बढी नागरिकको स्वास्थ्य र जीवन बर्बाद बनाउन सक्ने जोखिम थियो । लागुऔषधको यो अवैध सञ्जाल तोड्न सीमा क्षेत्रमा कडाइ र विशेष अपरेसनहरू जारी राखिएको ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण