शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जलवायु वित्त परिचालनका लागि अर्थ मन्त्रालयले बनायो कार्यविधिको मस्यौदा

बिहीबार, २२ साउन २०८२, १६ : ५९
बिहीबार, २२ साउन २०८२

सारांश

  • सरकारले जलवायु परिवर्तनका समस्या समाधान गर्न नयाँ कार्यविधि प्रस्ताव गरेको छ।
  • नयाँ कार्यविधिले जलवायु वित्त परिचालन गरी अन्तर्राष्ट्रिय सहयोग रकमलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
  • कार्यविधिले जलवायु परिवर्तनका कारण सिर्जित विपद् व्यवस्थापन, अनुकूलन, उत्सर्जन न्यूनीकरण र कार्बन व्यापारलाई प्राथमिकता दिनेछ।

काठमाडौँ । सरकारले जलवायु परिवर्तनबाट सिर्जित समस्याको समाधान गर्ने जलवायु वित्त परिचालनका लागि नयाँ कार्यविधि प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले नयाँ ‘जलवायु वित्त परिचालन कार्यविधि, २०८२’ प्रस्ताव गरी सोको मस्यौदा तयार गरेको हो। 

मन्त्रालयले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त हुने सहयोग रकमलाई प्रभावकारी रूपमा परिचालन गर्ने लक्ष्यका साथ नयाँ कार्यविधि प्रस्ताव गरेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले तयार पारेको जलवायु वित्त परिचालन कार्यविधिको मस्यौदा सार्वजनिक गर्दै सरोकार भएका निकायहरूसँग आवश्यक राय सुझाव माग गरेको छ ।

कार्यविधि तयार भई कार्यान्वयनमा आएपछि जलवायु परिवर्तनका कारण सिर्जित समस्याको समाधानका लागि कोसेढुंगा हुने सरकारले विश्वास लिइएको बताएको छ। मस्यौदामा जलवायु परिवर्तनबाट सिर्जित विपद्बाट हुने हानी नोक्सानी बापतको सम्बोधन, जलवायु अनुकूलन, उत्सर्जन न्यूनीकरण र कार्बन व्यापारको क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ । 

मस्यौदा अनुसार नीति योजना तथा कार्यक्रम तय गर्दा नेपालको संविधान, प्रचलित नेपालको कानुन, सरकारले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धता, वैदेशिक सहायता परिचालन नीतिमा ध्यान दिनुपर्ने उल्लेख छ । त्यस्तै, राष्ट्रिय अनुकूल योजना, प्रदेश तथा स्थानीय तहको अनुकूलन योजना, जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय निर्धारित योगदान, दिगो विकास लक्ष्यका योगदान, सरकारका वार्षिक नीति तथा कार्यक्रम र प्राथमिकतालाई ध्यान दिनुपर्नेछ ।  

जलवायु परिवर्तनमा नेपालको खासै योगदान नभए पनि वातावरणमा समस्याका साथै प्राकृतिक सङ्कट व्यहोर्नुपरेको छ । पानीका मुहान सुक्दै गएका, हिमाली क्षेत्रमा बाढी पहिरोको समस्या, हिमरेखा माथितिर सर्दै गएको, हिमालहरू काला पहाडमा परिणत हुँदै गएका छन्। बाढी पहिरोको जोखिम बढेको छ भने पानी पर्ने चक्रमा समेत परिवर्तन भएको छ। 

नेपालमा जलवायु परिवर्तनको असरको सामना गर्न थप स्रोतको आवश्यकता बढ्दै गएको छ । यसरी बढेको खर्चको आवश्यकतालाई सीमित आन्तरिक स्रोतले मात्र धान्न नसक्ने भए पनि बाह्य स्रोतको खोजी र पहुँच अभिवृद्धिका लागि नयाँ अवधारणा अगाडि सारिएको अर्थ मन्त्रालयले बताएको छ । 

प्रदेश तथा स्थानीय तहमा कोषबाट रकम प्रवाह गर्दा सशर्त अनुदानको रूपमा प्रवाह गर्ने, जलवायु परिवर्तनको जोखिम, स्थानीय अनुकूलन योजना, जलवायुसम्बन्धी कार्यमा गरेको कार्यसम्पादन मूल्याङ्कनलगायत अन्य सूचकलाई आधार मान्ने उल्लेख छ।

निजी क्षेत्रमा जलवायु वित्त परिचालन गर्न चाहेको खण्डमा मान्यता प्राप्त निकायले मन्त्रालयमा स्वीकृतिको लागि पेस गर्नुपर्ने प्रावधान मस्यौदामा राखिएको छ। आर्थिक कार्यविधि ऐन, २०७६ को दफा ६५ दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले जलवायु वित्त परिचालन कार्यविधि–२०८२ जारी गर्न लागेको उल्लेख गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप