आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

शान्ति समाजले एकै दिन पाँच राजदूतावास अगाडि प्रदर्शन गर्ने

शुक्रबार, २३ साउन २०८२, १० : २३
शुक्रबार, २३ साउन २०८२

सारांश

  • मानव अधिकार तथा शान्ति समाजले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा काठमाडौँस्थित विभिन्न दूतावास अगाडि प्रदर्शन गर्ने भएको छ।
  • प्रदर्शनको उद्देश्य सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरूलाई युद्ध अन्त्यका लागि योगदान गर्न आग्रह गर्नु हो।
  • शान्ति समाजले सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूलाई युद्धमा संलग्न नहुन र आणविक विभीषिकाबाट मुक्त राख्न आग्रह गरेको छ।

काठमाडौँ । काठमाडौँस्थित अमेरिका, रुस, चीन, संयुक्त अधिराज्य (ब्रिटेन) र फ्रान्सका राजदूतावास अगाडि मानव अधिकार तथा शान्ति समाजले एकै दिन प्रदर्शन गर्ने भएको छ । ४४ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस अवसरमा त्यसैको सेरोफेरोमा २०८२ असोज २ गते बिहीबार दिउँसो १ बजे गरिने प्रदर्शन आधा घण्टाको हुनेछ ।

अन्तर्राष्ट्रिय शान्ति दिवसले समस्त मानवतालाई सबै मतभेद भन्दा माथि उठेर शान्तिका लागि प्रतिबद्ध हुन र शान्ति संस्कृतिको योगदान गर्नका लागि विश्वव्यापी रूपमा साझा मिति प्रदान गर्दछ भने अहिंसा र युद्धविरामको माध्यमबाट शान्तिको आदर्शलाई सुदृढ गर्नका लागि समर्पित दिनको रूपमा शान्ति दिवसको घोषणा भएको थियो ।

स्मरणीय छ, भावी पुस्तालाई युद्धको विभीषिकाबाट बचाउने दृढतासहित सन् १९४५ को २४ अक्टोबरमा संयुक्त राष्ट्रसङ्घको स्थापना भएको थियो । संयुक्त राष्ट्रसङ्घ बडापत्रले ६ वटा मुख्य अङ्गहरू स्थापना गरेको छ जसमा सुरक्षा परिषद् एक हो । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने प्राथमिक जिम्मेवारी सुरक्षा परिषद्मा छ जसले शान्तिका लागि खतरा उत्पन्न भएको अवस्थामा बैठक बस्ने गर्दछ । अमेरिका, रुस, चीन, संयुक्त अधिराज्य (ब्रिटेन) र फ्रान्स राष्ट्रसङ्घ सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्र हुन ।

यस्तो गहन दायित्व बोकेका सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरू सो दायित्व निर्वाह गर्न असफल भएको मात्र होइन, स्वयं नै  अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतरा हुन थालेका छन् । पछिल्लो चरणमा रुसले युक्रेनमाथि आक्रमण गरी युद्ध थालेको तीन वर्ष नाघेको छ भने अमेरिकाले इजरायल इरान युद्धमा इजरायलको पक्ष लिएको मात्र होइन इरानमाथि बमबारी समेत गरेको थियो । 

सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरू युद्धलाई निरुत्साहित गर्न र युद्ध अन्त्यका लागि योगदान गर्नुको सट्टा आफै युद्धरत हुनु र युद्धरत राष्ट्रको पक्षमा उभिनुले सुरक्षा परिषद्को म्यान्डेट माथि गम्भीर घात गरेको धारणा शान्ति समाजको छ । 

यही पृष्ठभूमिमा संयुक्त राष्ट्रसङ्घ र सुरक्षा परिषद्को प्राथमिक जिम्मेवारी अनुरूपको भूमिका निर्वाह गर्न, आक्रमणकारीको भूमिकाबाट अलग हुन, युद्धरत राष्ट्रको पक्षपोषण नगर्न र युद्धमा संलग्न नहुन एवं  विश्वका विभिन्न भूभागमा चलिरहेको युद्ध अन्त्यका लागि सार्थक योगदान गर्न, आणविक विभीषिकाबाट विश्वलाई सधैँका लागि मुक्त राख्न ठोस पहल हेतु सुरक्षा परिषद्का ५ स्थायी सदस्य राष्ट्रहरूलाई आग्रह गर्दै शान्ति समाजले यो प्रदर्शन आयोजना गर्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप