बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

१० मिनेटको ‘झप्की’ बाटै पाइन्छ गहिरो निद्रा जस्तो ताकत

शुक्रबार, २३ साउन २०८२, १५ : ५५
शुक्रबार, २३ साउन २०८२

सारांश

  • हार्वर्ड मेडिकल स्कुलको अनुसन्धानले पावर न्यापले मानिसलाई ऊर्जावान बनाउने र कार्य प्रदर्शनमा सुधार ल्याउने देखाएको छ।
  • अनुसन्धानमा २५ जना मानिसको मस्तिष्कको गतिविधि अध्ययन गर्दा, पावर न्यापले निर्णय लिने क्षमता र काम गर्ने क्षमता बढाएको पाइयो।
  • विभिन्न अध्ययनहरूले राम्रो निद्राले अल्जाइमरको जोखिम कम गर्ने र किशोरकिशोरीहरूको मानसिक स्वास्थ्यमा सुधार ल्याउने देखाएको छ।

काठमाडौँ । शरीरले राम्रोसँग काम गर्न हामी पूरा निदाउन जरुरी छ । तर केही समयको झप्की (पावर न्याप) ले पनि मान्छेले ऊर्जावान महसुस गर्न सक्ने अनि उसको कार्य प्रदर्शनमा सुधार आउन सक्छ भन्ने कुरा तपाईँलाई थाहा छ ? हालसालै, हार्वर्ड मेडिकल स्कुलका वैज्ञानिकहरूले गरेको एउटा अनुसन्धानले यस्तो तथ्य बाहिर ल्याएको हो । यो अध्ययनको प्रतिवेदन न्यूरोसाल पत्रिकामा प्रकाशित छ । 

पावर न्याप लिएपछि केही व्यक्तिहरूले दिमागको हिस्सा (कर्टेक्स)मा तीव्र अनि बारम्बार दोहोरिरहने ढाँचाहरू देखिएको प्रतिवेदनमा भनिएको छ । यसमा हार्वर्ड मेडिकल स्कुलका अन्वेषकहरूले २५ जना मान्टेको दिमागको गतिविधिको अध्ययन गरेका थिए । प्रतिवेदनका लेखक डाना मनोचका अनुसार सुतिरहेको समयमा शरीरले आराम पाउँछ । जसका कारण हामीले स्फूर्त महसुस गर्छौ । कसैले पूरा निद्रा लिन पाउँदैन भने उसले पावर न्यापकै माध्यमबाट पनि आफ्नो ऊर्जा र काम गर्ने क्षमतामा सुधार गर्न सक्छ । 

यस अध्ययनमा २५ जनाको गतिविधिलाई समय सीमा दिइएको थियो । उनीहरूले काम गरिरहेको समयमा अनि फेरि पावर न्याप लिइरहेको समयमा सो सम्बन्धी रेकर्ड गरिएको थियो ।  पावर न्याप लिएपछि निर्णय लिने र काम गर्नसँग सम्बन्धित मस्तिष्कको हिस्सामा सक्रियता बढेको र सोही प्याटर्न दोहोरिएको पाइयो ।

पावर न्याप लिइरहेको समयमा शरीरमा नयाँ ऊर्जा बन्ने र यसले पूरा निद्रा लिएको जस्तै गरी मस्तिष्कमा बदलाव ल्याउने डाना मनोच भन्छन् । तर पावर न्यापको सही समयलाई लिएर वैज्ञानिकहरूको मत फरक छ । केही वैज्ञानिकले १० मिनेटदेखि ३० मिनेटसम्मको पावर न्याप पर्याप्त हुने बताउँछन् । 

यसअघि भएका कयौँ अध्ययनले पनि राम्रो निद्राले कार्य प्रदर्शन सुधार्ने मात्रै होइन अन्य कयौँ रोगहरूबाट समेत जोगाउन मद्दत गर्दछ भन्ने देखाइसकेका छन् । हालसालै, क्यालिफोर्निया विश्वविद्यालय र स्ट्यानफोर्ड युनिभर्सिटीले एउटा अनुसन्धान गरेका थिए । गहिरो निद्रा निदाउने वृद्ध वृद्धाहरूमा अल्जाइमरको खतरा कम हुने सो अनुसन्धानबाट थाहा भएको थियो । यो अध्ययन शारीरिक रूपमा स्वस्थ ६२ जना वृद्ध वृद्धाहरूमाझ गरिएको थियो । 

मस्तिष्कको पीईटी स्कयानको क्रममा गहिरो निद्रा सुत्ने मान्छेहरूले स्मरण परीक्षामा राम्रो प्रदर्शन गरेका थिए । उनीहरूमा अल्जाइमर हुने सम्भावना कम भेटियो ।

क्यालगारी विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले तीन हजार भन्दा बढी किशोर–किशोरीहरूलाई अध्ययन गरेका थिए । जसमा छिटै सुत्ने अनि अबेरसम्म सुत्ने बच्चाहरू मानसिक रूपमा बढी बलियो हुने अनि उनीहरूको साथीभाइसँग सम्बन्ध पनि राम्रो हुने पाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप