बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अठारौँ पुस्तकालय दिवस मनाउन मूल समारोह समिति गठन

शनिबार, २४ साउन २०८२, १७ : ५६
शनिबार, २४ साउन २०८२

सारांश

  • शिक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा १८औँ पुस्तकालय दिवस मनाउन मूल समारोह समिति गठन गरिएको छ।
  • यस वर्ष 'हाम्रो पुस्तकालयः हाम्रो भविष्य' भन्ने नाराका साथ देशभर विविध कार्यक्रम हुनेछन्।
  • पुस्तकालय दिवसको अवसरमा उत्कृष्ट पुस्तकालय र अभियानकर्मीलाई पुरस्कृत गरिनेछ।

काठमाडौँ । अठारौँ पुस्तकालय दिवस मनाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । 

नेपाल सरकारले हरेक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ । यस वर्ष ‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ भन्ने आदर्श वाक्यका साथ दिवस मनाइँदैछ । ‘यस वर्षको पुस्तकालय दिवस मुलुकभर रचनात्मक र सन्देशमूलक विविध कार्यक्रमसहित मनाउने तयारी भइरहेको छ”, प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले भने । 

मूल समारोह समितिको उपाध्यक्षमा मन्त्रालयका विद्यालय शिक्षा महाशाखा प्रमुख सहसचिव रुद्रप्रसाद अधिकारी र पुस्तकालय समन्वय, अभिलेख शाखा उपसचिव प्रेमराज अधिकारी सदस्य सचिव रहेका छन् । समितिमा नेपालको राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय, डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय, नेपाल सामुदायिक पुस्तकालय सङ्घ, नेपाल पुस्तकालय सङ्घलाई समावेश गरिएको छ ।

त्यसैगरी कोशी प्रदेश पुस्तकालय महासङ्घ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, त्रिभुवन विश्वविद्यालय पुस्तकालय विज्ञान विभाग केन्द्रीय विभाग, नेपाल खुला विश्वविद्यालयलगायत २० भन्दा बढी महत्त्वपूर्ण संस्थाका प्रतिनिधि रहेका छन् । पुस्तकालय दिवसलाई सफल तुल्याउन पुस्तकालय क्षेत्रको विकास तथा विस्तारमा संलग्न सबै सरोकारवालाको मूल समारोह समितिमा सहभागिता रहनेछ ।

पुस्तकालय दिवसका अवसरमा सम्मान तथा पुरस्कार छनोटका  लागि सहसचिव अधिकारी संयोजक रहेको पाँच सदस्यीय उपसमिति तथा नेपाल सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेय संयोजक रहनुभएको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ स्थानीय तह, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ, शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत ७७ शिक्षा विकास तथा समन्वय एकाइ, विश्वविद्यालय अनुदान आयोगमार्फत सबै विश्वविद्यालय तथा उच्च शिक्षा प्रदायक संस्था एवं पुस्तकालयको विकास र विस्तारमा संलग्न सबै गैरसरकारी सङ्घसंस्थामा विविध कार्यक्रम गरी दिवस मनाउन अनुरोध गर्ने निर्णय गरेको छ ।

यसैक्रममा सम्बन्धित सबैलाई पुस्तकालय दिवसका अवसरमा विविध कार्यक्रम सञ्चालन गरी तिनको प्रतिवेदन सचिवालयमा पठाउन परिपत्र गरी जानकारी गराउन अनुरोध गरिएको छ । नेपालभरि पुस्तकालय विकास, पाठक, पुस्तक, पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका योग्य पुस्तकालय, पुस्तकालय अभियानकर्मी र पुस्तकालयकर्मीको विवरण सङ्कलन सुरु गरिएको छ ।

यसअन्तर्गत देशभरका उत्कृष्ट पुस्तकालय र तिनका अभियानकर्मीलाई पुरस्कारका लागि छनोट प्रक्रियामा समावेश गरी कार्य मूल्याङ्कनका आधारमा पुरस्कृत तथा सम्मानित गर्ने कार्यक्रमसमेत रहेको छ । यस कार्यक्रममार्फत पुस्तकालय सेवा प्रवर्द्धनमा सक्रिय रहेका व्यक्ति र संस्थालाई सम्मान गरी नेपालमा पुस्तकालय क्षेत्रको विकासलाई अझ सशक्त बनाउने उद्देश्य राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप