शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सामुदायिक वनको आगामी गन्तव्यः चुनौती, अवसर र नयाँ दिशा

आइतबार, २५ साउन २०८२, १८ : १५
आइतबार, २५ साउन २०८२

सारांश

  • सामुदायिक वन नेपालको पहिचान बनेको छ, जुन विश्वकै लागि अनुकरणीय संरक्षण मोडल हो।
  • जलवायु परिवर्तनको सामना गर्न सामुदायिक वनको भूमिका महत्त्वपूर्ण छ, जसले कार्बन सञ्चितीकरण र जैविक विविधता संरक्षणमा योगदान पुर्‍याउँछ।
  • सामुदायिक वनलाई आर्थिक अवसरसँग जोड्दै युवा पुस्तालाई आकर्षित गर्न र प्रविधिमैत्री बनाउनुपर्छ।

चार दशक लामो यात्रामा सामुदायिक वन नेपालको पहिचान र गौरवको प्रतीक बनेको छ । यो केवल नेपालको मात्र होइन, विश्वकै लागि एक सफल र अनुकरणीय संरक्षण मोडल हो ।

संरक्षणको सामान्य उद्देश्यबाट सुरु भएको यो अभियान आज समुदायको जीवनस्तर उकास्ने, वातावरण सन्तुलन कायम गर्ने र स्थानीय लोकतन्त्रलाई बलियो बनाउने एक महत्त्वपूर्ण साधन बनेको छ । विश्वका अनेक देशका विज्ञ, विद्यार्थी र नीति–निर्माताहरू नेपालको सामुदायिक वनबाट सिक्न आइरहनुले यसको सफलतालाई प्रमाणित गर्छ । तर, यो सफलतामा रमाएर मात्र पुग्दैन, अब यो यात्रालाई नयाँ उचाइमा पुर्‍याउने र भविष्यका चुनौतीहरूको सामना गर्न तयार हुने बेला आएको छ । 

समावेशिताको शक्तिः सफलताको आधारस्तम्भ

सामुदायिक वनको सफलताको कथा आदिवासी, महिला, दलित र सीमान्तकृत समुदायको योगदानबिना अपूरो हुन्छ । उनीहरूको सहमति, अथक प्रतिबद्धता र नेतृत्वदायी भूमिकाले नै आजको यो परिवर्तन सम्भव भएको हो । विशेषगरी, सामुदायिक वन उपभोक्ता समूहहरूमा ५० प्रतिशतभन्दा बढी महिलाको समावेशी नेतृत्व र सहभागिता यसको सबैभन्दा ठुलो शक्ति हो । यही समावेशी अभ्यासले नै सामुदायिक वनलाई दिगो र जनउत्तरदायी बनाएको छ । 

जलवायु परिवर्तन र सामुदायिक वनको विस्तारित भूमिका

आज विश्व जलवायु संकटको गम्भीर चपेटामा छ । कार्बन उत्सर्जनमा नगण्य योगदान भए पनि नेपालले तापक्रम वृद्धि, अनियमित वर्षा, खडेरी र पानीका मुहान सुक्ने जस्ता समस्याहरू भोगिरहेको छ । यस्तो विषम परिस्थितिमा सामुदायिक वनले आशाको किरण छरेको छ । कार्बन सञ्चितीकरण, पानीका मुहान संरक्षण, रिचार्ज पोखरी निर्माण, जैविक विविधताको संरक्षण र भूक्षय नियन्त्रणमा सामुदायिक वनले अग्रपंक्तिमा रहेर काम गरिरहेको छ । 

अब हाम्रो ध्यान कार्बन व्यापारतर्फ केन्द्रित हुनुपर्छ । समुदायले रातदिन खटेर जोगाएको वनले सञ्चित गरेको कार्बनको उचित मूल्य विश्व बजारबाट प्राप्त गर्नु हाम्रो अधिकार हो र यही नै जलवायु न्याय हो । यसका लागि अन्तर्राष्ट्रिय स्तरमा संगठित रूपमा दबाब, पैरवी र सार्थक छलफललाई अगाडि बढाउनु अपरिहार्य छ । 

संघीयतामा सामञ्जस्यताको खोजी

संघीय शासन व्यवस्था लागू भएसँगै संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारले आ–आफ्ना कानुन र नीतिहरू बनाएका छन् । तर, यी नीति–नियमबारे उपभोक्ता स्तरमा पर्याप्त जानकारी पुग्न सकेको छैन, जसले गर्दा कार्यान्वयनमा द्विविधा र चुनौतीहरू देखिएका छन् । संघीयताको विकेन्द्रीकरणको मर्मलाई आत्मसात् गर्दै तीनै तहका सरकारबीच समन्वय स्थापित गर्न र सामुदायिक नेतृत्वको क्षमता अभिवृद्धि गर्न तत्काल ध्यान दिनु आवश्यक छ । नीति–कानुन बुझ्ने र कार्यान्वयन गर्ने क्षमता विकास गरेर मात्र हामी सामुदायिक वनलाई अझ मजबुत बनाउन सक्छौं । 

आर्थिक अवसर र उद्यमशीलताः समृद्धिको आधार

'समृद्ध नेपाल, सुखी नेपाली' को राष्ट्रिय लक्ष्य हासिल गर्न वन–स्रोतको दिगो उपयोग अपरिहार्य छ । अब वनलाई संरक्षणमा मात्र सीमित नराखी आर्थिक अवसरसँग जोड्नुपर्छ । हरित उद्यमशीलताः हिमाल, पहाड र तराईको भौगोलिक विशेषताअनुसार वन पैदावारमा आधारित उद्यमहरू स्थापना गर्नुपर्छ । फर्निचर र काठ उद्योगलाई नेपालमै विकास गरी आयात प्रतिस्थापन गर्न सकिन्छ । 

जडीबुटी प्रवर्द्धन : सामुदायिक वनमा पाइने बहुमूल्य जडीबुटीहरूको संकलन, प्रशोधन र बजारीकरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुपर्छ । 

हरित रोजगारी (ग्रीन जब्स) : वनमा आधारित उद्यमहरूले गाउँमै हरित रोजगारी सिर्जना गर्छन्, जसले युवालाई विदेश पलायन हुनबाट रोक्न र सामुदायिक वनको आर्थिक आधारलाई सुदृढ बनाउन मद्दत गर्छ ।

नेतृत्व हस्तान्तरण र नयाँ पुस्ताको आह्वान

सामुदायिक वन अभियानले आज तीनै तहमा करिब ३० हजार सक्षम नेतृत्व जन्माइसकेको छ । सबै राजनीतिक दलले पनि यसको महत्त्वलाई स्वीकार गरेका छन् । तर, अब यो यात्रामा नयाँ र ऊर्जावान पुस्ताको प्रवेश अनिवार्य भएको छ । जसरी महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरियो, त्यसैगरी अब युवाको अर्थपूर्ण सहभागिता र नेतृत्वमा समानुपातिक प्रतिनिधित्व बढाउनुपर्छ । ग्रामीणदेखि सहरी क्षेत्रसम्मका युवालाई सामुदायिक वनको महत्त्व बुझाएर उनीहरूलाई यस अभियानतर्फ आकर्षित गर्न विशेष अभियान सञ्चालन गर्न जरुरी छ । 

प्रविधिमैत्री सामुदायिक वन

एक्काइसौँ शताब्दीको मागअनुसार अबको सामुदायिक वन तथ्यांकमा आधारित, प्रविधिमैत्री र पारदर्शी हुनुपर्छ । 

आधुनिक प्रविधिः वनको निगरानीका लागि ड्रोन प्रविधि, स्रोतको अभिलेख राख्न डिजिटल प्रणाली (जीआईएस म्यापिङ) र विश्वले घरमै बसेर नेपालका सामुदायिक वन हेर्न सक्ने 'भर्चुअल टुर’ जस्ता प्रविधिहरू अपनाउनुपर्छ । 

लगानी र सहकार्यः यस्ता प्रविधिहरू भित्र्याउन राज्य, दातृ निकाय र निजी क्षेत्रले आवश्यक सहयोग र लगानी गर्नुपर्छ । 

सामुदायिक वन नेपालको मात्र नभएर विश्वकै साझा सम्पत्ति र जलवायु परिवर्तनविरुद्ध लड्ने एक शक्तिशाली हतियार हो । यसलाई अझ सुदृढ पार्ने, समावेशी नेतृत्वलाई थप सशक्त बनाउने, युवा पुस्तालाई आकर्षित गर्ने, जलवायु न्यायको आवाजलाई विश्वस्तरमा बुलन्द गर्ने र आर्थिक अवसरसँग जोड्ने हाम्रो स्पष्ट आगामी गन्तव्य हो । 

सामुदायिक वनको शक्ति समुदायमै छ— हामी सबै मिलेर यसलाई अझ हरियो, सबल र समृद्ध बनाऔँ ।

(पाठक सामुदायिक वन उपभोक्ता महासंघको पूर्वध्यक्ष, बागमती प्रदेशसभा सांसद हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भारती पाठक
भारती पाठक
लेखकबाट थप