क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
सारांश
- क्यानाडामा फैलिएको डढेलोका कारण अमेरिकामा वायु प्रदूषण बढेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानाडामाथि नयाँ महसुल लगाउने चेतावनी दिएका छन् ।
- क्यानाडाभर ८८८ सक्रिय डढेलोमध्ये अधिकांश नियन्त्रणबाहिर छन्, जसको धुवाँ अमेरिकाका धेरै राज्यमा फैलिएको छ र वायु गुणस्तर खतरनाक स्तरमा पुगेको छ ।
- जलवायु परिवर्तनलाई डढेलोको मुख्य कारण मानिएको छ, जसले गर्दा क्यानाडाका समुदायहरू ध्वस्त भएका छन् र हजारौँ मानिस विस्थापित भएका छन् ।
- नदिम युसिफ, मार्को सिल्भा, जहारा फतिमा
वासिङ्टन डिसी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा फैलिएका सयौँ डढेलोका कारण उत्तरी अमेरिकाका धेरै क्षेत्र धुवाँले ढाकिएपछि क्यानडामाथि नयाँ महसुल (ट्यारिफ) लगाउने चेतावनी दिएका छन् । अमेरिकी सांसदहरूले क्यानडाको डढेलो व्यवस्थापनको आलोचना गरेपछि र ओन्टारियोका प्रिमियर डग फोर्डले आलोचना गर्नुको सट्टा आगो निभाउन सहयोग पठाउन अमेरिकालाई आग्रह गरेपछि ट्रम्पको यो चेतावनी आएको हो ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘संयुक्त राज्य अमेरिका अनावश्यक रूपमा फोहोर, प्रदूषित र अस्वस्थ हावाको आक्रमणमा परेको छ ।’ उनले क्यानडाको ‘जानाजानी गरिएको लापरबाही’ का कारण नयाँ महसुल लगाउन सकिने चेतावनी पनि दिएका छन् ।
क्यानेडियन वाइल्डल्यान्ड फायर इन्फर्मेसन सिस्टमका अनुसार शुक्रबारसम्म क्यानडाभर ८ सय ८८ वटा डढेलो सक्रिय थिए, जसमध्ये अधिकांश अझै नियन्त्रणबाहिर छन् । तीमध्ये १ सय ९० भन्दा बढी डढेलो ओन्टारियो प्रान्तमा मात्रै फैलिएका छन् ।
ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई फोन गरी क्यानडाको ‘जानाजानी गरिएको लापरबाही’ बारे स्पष्टीकरण माग्ने बताएका छन् । उनले क्यानडाले आफ्ना जङ्गल र झाडीको उचित व्यवस्थापन नगरेको आरोप पनि लगाएका छन् ।
ट्रम्प समर्थक केही रिपब्लिकन नेताहरूले यस विषयलाई क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने ट्रम्पको पुरानो प्रस्तावसँग जोड्दै पुनः उठाएका छन् । उक्त प्रस्तावले धेरै क्यानडेलीहरूलाई असन्तुष्ट बनाएको छ र विरोधस्वरूप धेरैले अमेरिकाको यात्रा नै बन्द गरेका छन् । केहीले त ओन्टारियो र मिशिगन जोड्ने क्यानडाले निर्माण गरेको गोर्डी हाउ अन्तर्राष्ट्रिय पुलको उद्घाटनसमेत ढिलाइ गर्नुपर्ने सुझाव दिएका छन् ।
क्यानडाले ट्रम्पको महसुल धम्कीबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । यद्यपि प्रधानमन्त्री कार्नीले यसअघि जलवायु परिवर्तनसँग जुध्ने जिम्मेवारी दुवै देशको भएको बताएका थिए ।
गत एक वर्षयता अमेरिका–क्यानडा सम्बन्ध मुख्यतः व्यापारका कारण तनावपूर्ण रहँदै आएको छ । ट्रम्पले गत वर्ष क्यानडामाथि महसुल लगाएपछि दुई देशबीच अझैसम्म नयाँ व्यापार सम्झौता हुन सकेको छैन ।

- डढेलो कसरी यति भयावह बन्यो ?
क्यानेडियन वाइल्डल्यान्ड फायर इन्फर्मेसन सिस्टमका अनुसार यस वर्ष हालसम्म झन्डै ३० लाख हेक्टर क्षेत्रफल डढेलोबाट नष्ट भइसकेको छ । यसको धुवाँ अमेरिकाका मिनेसोटा, मिशिगन, पेन्सिलभेनिया, ओहायो र न्युयोर्कसम्म फैलिएको छ ।
धेरै क्षेत्रमा ‘खतरनाक’ स्तरको वायु प्रदूषण घोषणा गरिएको छ, जसका कारण बाहिरी कार्यक्रमहरू रद्द भएका छन् । स्विस वायु गुणस्तर निगरानी संस्था आईक्यूएयरका अनुसार शुक्रबार विश्वकै सबैभन्दा खराब वायु गुणस्तर डेट्रोइटमा मापन गरिएको थियो । त्यसपछि शिकागो, वासिङ्टन डीसी र न्युयोर्क क्रमशः खराब सूचीमा परेका थिए ।
- अमेरिकी सांसदहरूको असन्तुष्टि
अमेरिकी सांसद जोन जेम्स, जोन मुलिनार, ज्याक बर्गम्यान र लिसा म्याक्लेनले क्यानडाका अधिकारीहरूलाई खुला पत्र लेख्दै ‘अब हाम्रो धैर्य समाप्त भएको छ’ भनेका छन् । उनीहरूले ‘अब हामीलाई काम चाहिन्छ माफी होइन’ भन्दै क्यानडाले प्रभावकारी कदम नचाले अमेरिका सीमापार डढेलो नियन्त्रणमा प्रत्यक्ष रूपमै संलग्न हुन सक्ने चेतावनी दिएका छन् ।
जङ्गल पातलो बनाउने, सुक्खा इन्धन (पातपतिङ्गर) हटाउने, नियन्त्रित आगो लगाउने तथा आगजनी रोक्ने उपायहरूमा क्यानडाले पर्याप्त लगानी नगरेको उनीहरूको आरोप छ ।

- विज्ञहरू के भन्छन् ?
बीबीसी भेरिफाइसँग कुरा गर्दै वैज्ञानिकहरूले भने वास्तविक अवस्था धेरै जटिल रहेको बताएका छन् । टोरन्टो विश्वविद्यालयका डा. प्याट्रिक जेम्सका अनुसार, ‘मौसमले अन्तर्राष्ट्रिय सीमाको मतलब राख्दैन ।’
एकपटक धुवाँ वायुमण्डलमा पुगेपछि हावाले जता लैजान्छ, त्यतै फैलिन्छ । हालका वर्षहरूमा अमेरिकामा लागेका ठुला डढेलोको धुवाँले पनि क्यानडालाई असर गरेको थियो ।
विशेषज्ञहरूका अनुसार अहिलेका धेरै डढेलो क्यानडाका विशाल र दुर्गम जङ्गलमा लागेका छन्, जहाँ आगो सुरुमै पत्ता लगाउन वा नियन्त्रण गर्न निकै कठिन हुन्छ । राम्रो वन व्यवस्थापनले केही क्षेत्रमा जोखिम घटाउन सके पनि यति विशाल वन क्षेत्रमा डढेलो पूर्ण रूपमा रोक्न नसकिने उनीहरूको भनाइ छ ।
- जलवायु परिवर्तनको असर
क्यानडामा डढेलो लाग्नु नयाँ कुरा होइन, तर पछिल्ला केही सातामा यसको सङ्ख्या तीव्र रूपमा बढेको छ । अमेरिका र क्यानडाका वैज्ञानिकहरूका अनुसार जुन महिनाको अन्त्यतिर उत्तरी ओन्टारियोमा लगातार तातो मौसम र औसतभन्दा कम वर्षा हुनु यसको प्रमुख कारण हो ।
वैज्ञानिकहरू भन्छन्— जलवायु परिवर्तनले तापक्रम बढाउनुका साथै वातावरणलाई अझ सुक्खा बनाइरहेकाले डढेलो छिटो फैलिने अवस्था सिर्जना भएको छ । केही डढेलो चट्याङका कारण पनि सुरु भएका हुन् ।
वाटरलु विश्वविद्यालयकी डा. एनाबेला बोनाडाका अनुसार, ‘जलवायु परिवर्तन विश्वव्यापी समस्या हो । यी डढेलोका लागि क्यानडा मात्र जिम्मेवार थियो वा यसले एक्लैले रोक्न सक्थ्यो भन्ने निष्कर्ष गलत हुन्छ ।’
- ‘आलोचना होइन, सहयोग पठाउनुहोस्’
ओन्टारियोका प्रिमियर डग फोर्डले अमेरिकी सांसदहरूको आलोचनाको जवाफ दिँदै क्यानडाले विगतमा क्यालिफोर्नियाको डढेलो र नर्थ क्यारोलिनाको आँधीका बेला अमेरिकालाई सहयोग गरेको स्मरण गराए ।
‘गुनासो गर्नुको सट्टा सहयोग पठाउनुहोस् । हामीले आफ्ना अमेरिकी साथीहरूका लागि पनि यही गरेका थियौँ,’ उनले भने । फोर्डका अनुसार मिशिगन र म्यासाचुसेट्स राज्यले पानी बोक्ने विमान, अग्निनियन्त्रक र उद्धार टोली पठाउने प्रस्ताव गरिसकेका छन् ।
प्रधानमन्त्री कार्नीले पनि फ्रेन्च भाषामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘जलवायु परिवर्तन सबैको जिम्मेवारी हो, संयुक्त राज्य अमेरिकाको पनि ।’
फोर्डले हाल १ सय ५० भन्दा बढी अग्निनियन्त्रक टोली, ८० भन्दा बढी पानी बोक्ने विमान र हेलिकोप्टर डढेलो नियन्त्रणमा खटिएको जानकारी दिए । उनका अनुसार सन् २०१८ यता ओन्टारियो सरकारले वन डढेलो नियन्त्रणमा एक अर्ब डलरभन्दा बढी खर्च गरिसकेको छ । ‘हामीसँग भएका सबै स्रोत परिचालन गरेका छौँ,’ उनले भने ।
- समुदायहरू ध्वस्त, हजारौँ विस्थापित
उत्तरी ओन्टारियोका केही स्थानीय बासिन्दा डढेलोका कारण घर छाड्न बाध्य भएका छन् । एक आदिवासी समुदायकी प्रमुखले आफ्नो बस्ती ‘खरानीमा परिणत भएको’ बताएकी छन् । ब्रिटिस कोलम्बियामा पनि शुक्रबारसम्म ५९ वटा सक्रिय डढेलो थिए, जसमध्ये ३९ वटा पछिल्लो २४ घण्टाभित्र सुरु भएका थिए । तीमध्ये ३१ वटा नियन्त्रणबाहिर रहेको त्यहाँको वन डढेलो सेवाले जनाएको छ ।
ओन्टारियोको उत्तरपश्चिम क्षेत्रमा लागेको ठुलो डढेलोको धुवाँले अमेरिकासम्म वायु प्रदूषण फैलाएको हो । बिहीबार न्युयोर्कमा धुवाँ यति बाक्लो थियो कि एम्पायर स्टेट बिल्डिङ र स्ट्याचु अफ लिबर्टी समेत स्पष्ट देखिन सकेनन् । वासिङ्टन डीसीका राष्ट्रिय स्मारकहरू पनि धुवाँले ढाकिएका थिए ।
स्वास्थ्य अधिकारीहरूले नागरिकलाई सकेसम्म घरभित्र बस्न आग्रह गरेका छन् । केही स्थानमा निःशुल्क मास्कसमेत वितरण गरिएको छ । यसका कारण शिकागो, डेट्रोइट, पेन्सिलभेनिया र न्यु इङ्ग्ल्यान्डका धेरै क्षेत्रमा बाहिरी गतिविधि रद्द भएका छन् । ग्रीष्मकालीन शिविरहरू भित्र सारिएका छन्, कन्सर्टहरू स्थगित भएका छन् र केही समुद्री तटसमेत बन्द गरिएका छन् । कम भिजिबिलिटीका कारण केही विमानस्थलमा उडान ढिलो भएका छन् ।
- विश्वकप फाइनलमाथि पनि असरको चिन्ता
धुवाँ र खराब मौसमले आइतबार न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने अर्जेन्टिना र स्पेनबीचको विश्वकप फाइनलमाथि पनि प्रभाव पार्ने चिन्ता बढाएको छ । उक्त खेलमा ट्रम्प उपस्थित हुने कार्यक्रम छ ।
ह्वाइट हाउसका अधिकारीहरू, विशेष गरी विश्वकप कार्यदलका प्रमुख एन्ड्र्यु जुलियानीले फिफाका अधिकारीहरूसँग अनौपचारिक छलफल गरिरहेका छन् । यद्यपि अहिलेसम्म औपचारिक बैठक तय भएको छैन । मौसमविद्हरूका अनुसार सप्ताहन्तमा वर्षा हुने सम्भावना रहेकाले खेलअघि वायुको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।
उत्तरी ओन्टारियोका डढेलोका कारण ‘फस्र्ट नेशन्स’ समुदायका धेरै बासिन्दा डुङ्गामार्फत सुरक्षित स्थानमा जान बाध्य भएका छन् । नामायगोसिसागागुन फस्र्ट नेशनका आपतकालीन कमान्डर म्याथ्यु होप्पेका अनुसार सोमबार आगो तीव्र गतिमा गाउँतर्फ बढेपछि स्थानीयले साना डुङ्गाबाट आफैँ उद्धार गर्नुपरेको थियो ।
उनले कुनै मानवीय क्षति नभए पनि सम्पूर्ण समुदाय ‘पूर्ण रूपमा ध्वस्त’ भएको बताए । समुदायकी प्रमुख हेलेन पाभोलाले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै आफ्नो बस्ती ‘खरानीमा परिणत भएको’ बताइन् ।
प्रिमियर फोर्डका अनुसार हालसम्म १० वटा समुदाय विस्थापित भएका छन्, जसका धेरै बासिन्दाले दक्षिणी ओन्टारियोका सहरहरूमा आश्रय लिएका छन् । ‘यत्रो ठुलो विपद्मा कसैले ज्यान गुमाउनु नपर्नु नै आफैँमा आश्चर्य हो,’ फोर्डले भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण