बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
राजनीति

लोसपा छाडेर आफ्नो अध्यक्षतामा नेपाल सद्भावना पार्टी घोषणा गर्दै अनिल झा

मङ्गलबार, २७ साउन २०८२, १४ : ३४
मङ्गलबार, २७ साउन २०८२

सारांश

  • Anil Kumar Jha resigned from Lospa Nepal to prepare to lead the Nepal Sadbhavana Party.
  • Jha's resignation was accepted, and he plans to officially announce his leadership soon.
  • Jha aims to revive the Nepal Sadbhavana Party, a party originally founded by Gajendra Narayan Singh.

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट राजीनामा दिएका अनिल कुमार झाले मधेसको सबैभन्दा पुरानो पार्टी नेपाल सद्भावना पार्टीलाई आफ्नो अध्यक्षतामा घोषणा गर्ने तयारी गरेका छन् । 

रामकुमार महतोको नाममा रहेको नेपाल सद्भावना पार्टी आफ्नो नाममा लिन निर्वाचन आयोगमा प्रक्रिया सुरुसँगै झाले लोसपाबाट राजीनामा दिएका थिए । लोसपा नेपालले नेता झाको राजीनामा गत साउन ४ गते स्वीकृत गरेको हो । पार्टीका महासचिव डा. सुरेन्द्र झाले व्यक्तिगत कारण देखाएर अनिल झाले राजीनामा दिएको र त्यो स्वीकृत पनि भइसकेको बताए । 

गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टी विभिन्न टुक्रामा विभाजन हुँदै मूल पार्टी पछिल्लो समय रामकुमार महतोको हातमा थियो । उनले आफ्नो नाममा दर्ता गराएर विभिन्न कार्यक्रम गर्दै आएका थिए । तर, पार्टीको केन्द्रीय समितिको बैठकबाट अनिल झाको अध्यक्षतामा पार्टी सञ्चालन हुने निर्णयसहितको कागजात निर्वाचन आयोगमा पेस गरिएको छ । अब सो प्रक्रिया पूरा हुन मात्र बाँकी छ । 

‘अब चाँडै नै सो पार्टी अनिल झाको नाममा आउँछ,’ उनी निकट एक नेताले बताए । नेपाल सद्भावना पार्टीको अध्यक्ष भएर झा सक्रिय राजनीतिमा आउने तयारीमा रहेका छन् । उनले केही दिनमै पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिक घोषणा गर्ने बताइएको छ ।

नेपाल कांग्रेस छाडेर मधेसको अधिकार र पहिचानका लागि सङ्घर्ष गरेका गजेन्द्रनारायण सिंहले २०४० सालमा नेपाल सद्भावना परिषद् गठन गरेका थिए । त्यसैलाई नै पछि नेपाल सद्भावना पार्टी बनाइएको थियो ।

जसरी सिंहले कांग्रेसबाट विद्रोह गरी आफ्नो यात्रा थालनी गरेका थिए, नेता झाले पनि लोसपाबाट राजीनामा दिएर आफ्नो यात्रा थाल्नी गर्न लागेका छन् । नेता झाले नेपाल सद्भावना पार्टी पुनर्गठन गर्न लागेको विषयमा केही बताउन चाहेनन् । उनले भने, ‘केही दिनमा सबै कुरा थाह पाउनु हुन्छ ।’

लोसपाबाट असन्तुष्ट भएर अनिल झा लामो समय तराई मधेसमा घुमफिर गरेका थिए । सो क्रममा उनले पूर्वदेखि पश्चिमसम्म नेपाल सद्भावना पार्टीका नेताहरूसँग छलफल गरेका थिए । छलफलपछि उनले नेपाल सद्भावना पार्टीलाई सक्रिय बनाउन लागेका हुन् ।

लोसपाको पछिल्लो गतिविधिबाट उनी सन्तुष्ट थिएनन् । लोसपा अध्यक्ष महन्थ ठाकुरले गठन गरेको केन्द्रीय समितिप्रति पनि उनले असन्तुष्टि जनाउँदै आएका थिए । '

पार्टी नै सक्रिय नभएको कारण उनी सुरुदेखि नै पार्टीमा निष्क्रिय थिए । राजेन्द्र महतोले विद्रोह गरेर निस्केपछि अनिल झाको निष्क्रियता झन् बढेको थियो । झा पनि महतोको साथमा रहने धेरैले अनुमान गरिएको थियो तर उनले आफ्नै नेतृत्वमा पार्टी बनाउने तयारी गरेका छन् ।

झाले विद्यार्थी जीवनदेखि नेपाल सद्भावना पार्टीबाट आफ्नो राजनीति यात्रा सुरु गरेका थिए । पार्टीका महासचिव समेत बनिसकेका अनिल झा नेपाल सद्भावना पार्टी विभाजन भएर राजेन्द्र महतोको नेतृत्वमा बनेको सद्भावना पार्टीमा सहभागी भएका थिए ।

तर राजेन्द्र महतोसँग कुरा नमिलेपछि उनी त्यहाँबाट अलग भएर सङ्घीय सद्भावना पाटी गठन गरेका थिए । पछि उनले विभिन्न छ वटा पार्टीसँग एकता गर्दै राष्ट्रिय जनता पार्टी बनाएका थिए । राजपा नेपालमा छ दलमध्ये अनिल झाको पनि पार्टी थियो ।

तर राजपा नेपालको कामप्रति पनि उनी सन्तुष्ट हुन सकेनन् । पछि राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग एकता भएर जसपा नेपाल बनेको थियो । त्यो एकतामा पनि अनिल झाको खुसी थिएनन् । उनले पार्टी एकताविरुद्ध मत राखे पनि बहुमतको निर्णयका आधारमा पार्टी एकता भयो ।

अनिल झा बाध्य भएर जसपा नेपालमा गए । तर जसपा नेपाल धेरै समय टिक्न सकेन । एक वर्ष नपुग्दै पार्टी विभाजन भयो । 

त्यसपछि महन्थ ठाकुरहरूले जसपा नेपालबाट अलग भएर लोसपा नेपाल गठन गरे । झाले पनि ठाकुरलाई साथ दिँदै जसपा नेपाल छाडे । तर ठाकुरको काम कारबाहीबाट सुरुदेखि नै उनी असन्तुष्ट थिए । अन्ततः सो पार्टीबाट पनि राजीनामा दिएर नयाँ राजनीतिक यात्रामा झा अघि बढ्न लागेका छन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप