बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विचार

स्कुलको पढाइलाई ‘हाउगुजी’ बनाएर त्रास सिर्जना नगरौँ

बुधबार, २८ साउन २०८२, १३ : ५६
बुधबार, २८ साउन २०८२

गत वर्षभन्दा कम विद्यार्थी पास भएमा शिक्षाको गुणस्तर खस्कियो भनेर आलोचना हुन्छ । बढी विद्यार्थी पास भए भने जालझेल भयो कि भनेर शंका गरिन्छ । यो सरकार र प्रणालीप्रति विश्वासको कमीले भएको हो ।

गत वर्ष एसईईमा ४८ प्रतिशत ग्रेडेड भएका थिए, यस वर्ष ६२ प्रतिशत पुगेको छ । एकै वर्षमा यत्रो सुधार कसरी सम्भव भयो ? के प्रश्नपत्र सजिलो थियो ? उत्तरपुस्तिका फितलो पो जाँचिएको कि ? प्राप्तांक थपिदिएको हो ? परीक्षा खुकुलो गरिएको थियो ? यस्ता सन्देहात्मक प्रश्न उठ्छन् ।

पाठ्यक्रमले विद्यार्थीमा यति सिकाइ हुनुपर्छ भन्ने लक्ष्य राखेको हुन्छ । मूल्यांकन गर्ने वैज्ञानिक विधि पनि छन् । यसको सही पालना भयो भने मूल्यांकन सही हुनसक्छ । परीक्षा खुकुलो गरेर चिट चोर्ने अवसर दिने हो नतिजामा आनका तान फरक आउँछ ।

९० प्रतिशतमाथि विद्यार्थी ग्रेडेड हुनुपर्छ । नियमित परीक्षामा त्यो परिणाम आएन भन्दैमा चिन्ता लिनुपर्दैन । तत्काल मौका परीक्षा दिन पाइन्छ । त्यसमा पनि सफल भएन भने अर्को वर्ष परीक्षा दिन पाइन्छ । गत वर्षको मौका परीक्षामा ५६ प्रतिशत उत्तीर्ण भएका थिए । मानौं यस पटक ५० प्रतिशत नै उत्तीर्ण भए भने पनि एक वर्षमै ग्रेडेड हुने ८१ प्रतिशत पुग्छ । अर्को साल परीक्षा दिँदा ९० प्रतिशत कट्ने नै देखिन्छ । 

पारिवारिक, आर्थिक, स्वास्थ्य लगायत कारण पढाइ बिचमै छोड्ने एउटा समस्या त छँदैछ । त्यसलाई राज्यले सुविधा दिएर समाधान खोज्नुपर्छ । तर नन-ग्रेडेडलाई हीनताबोध र मानसिक तनाव दिएर पढाइमा झन् कमजोर बनाउने अवस्था सिर्जना गर्नु हुँदैन ।

फेल हुनु सामान्य

कोही तीन वर्षमै १ कक्षामा भर्ना हुन्छ । कोही ६ वर्षमा भर्ना हुन्छ । कोही बिचको कक्षामा रोकिन्छ । कोही बिचको कक्षामा फड्को मार्छ । कोही ४ कक्षामा फेल हुन्छ, कोही एसईईमा हुन्छ । त्यस्तै कोही स्नातकमा फेल हुन्छ । पहिले उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई पनि १२ कक्षापछि मेडिकलको प्रवेश परीक्षा उत्तीर्ण गर्न तीन-चार वर्षसम्म लागेको छ । 

मानिसहरु पढाइ सकेर पनि बेरोजगार बस्नुपर्ने, पेसा-व्यवसाय गरेर ठक्कर खानुपर्ने सामान्य कुरा हो । स्कुलको पढाइलाई फलामे ढोका र हाउगुजी गराएर बाल मनोविज्ञानमा त्रास सिर्जना गर्नु हुन्न । अगाडि गति ढिला हुने व्यक्तिको पछि गति तीव्र हुनसक्छ । सिंगो जीवनलाई औसतमा हेर्नुपर्छ । असफलतालाई अनुभवको रुपमा लिनुपर्छ र त्यसबाट पाठ सिकेर भविष्यका सम्भावित असफलतालाई कम गर्नुपर्छ ।

विद्यार्थीले ध्यान अन्यत्र दियो भनेर गाली गर्ने होइन । मन कसैको पनि स्थिर हुँदैन । त्रासले शरीरलाई कोठाभित्र राख्न सकिन्छ तर मनलाई सकिन्न । मनलाई राख्ने रुचिले हो । विद्यार्थीलाई भोक जगाउने काम शिक्षकले गर्ने हो । सिक्न मन लाग्यो भने सिक्ने विषय जटिल हुँदैन ।

जीपीए र मूल्यांकन

३ जीपीए ल्याउनेभन्दा ४ जीपीए ल्याउने विद्यार्थी साँच्चै व्यवहारमा उत्कृष्ट छ भन्न सकिँदैन । हाम्रो परीक्षा प्रणालीबाट शतप्रतिशत सही मूल्यांकन सम्भव छैन । तर योभन्दा वैज्ञानिक विकल्प नआउँदासम्म यसैलाई आधार लिनुपर्छ । त्यसैले अंकलाई अति महत्व दिनु आवश्यक छैन ।  

विद्यार्थीको मात्र होइन, शिक्षकको मूल्यांकन पनि शतप्रतिशत सही छैन । शिक्षक सेवा आयोगको परीक्षा पटक-पटक दिएर असफल भएका करार शिक्षकले झन् राम्रो पढाइरहेका भेटिन्छन् । शिक्षाशास्त्र संकायबाहेक शिक्षक बन्न नपाउने कानुन छ । तर एड नपढेको व्यक्तिले झन् राम्रो पढाएको भेटिन्छ । 

सिकाइ, पद्धति र ‘पेडागोजी’

अतीतमा गुरुकुल पद्धति थियो । घर छोडेर दैनिक काम गरेर पढ्नुपर्थ्यो । शिक्षा ऐच्छिक र योग्यतामा आधारित थियो । गुरुले पूर्वपरीक्षण गरेर सफल हुने विद्यार्थी मात्र भर्ना लिन्थे । विद्यार्थीको योग्यता, क्षमताअनुसार फरक-फरक अवधिमा दीक्षित हुन्थे ।

आधुनिक शिक्षा पद्धतिमा शिक्षा अनिवार्य गरियो । घरबाटै स्कुल जाने प्रचलन भयो । अंकलाई महत्व दिने परिपाटी विकास भयो । पढ्नले घरको काम गर्नु हुन्न भन्ने मान्यता जन्म भयो ।  आधुनिक शिक्षा सिद्धान्ततः रट्ने नभई बुझ्ने हो । तर मूल्यांकनमा रटेकाले धेरै अंक पाउने र अंकलाई नै महत्व दिइने भएपछि त्यसमै परिणत हुन पुग्यो । यसको सुधार गर्न ‘इनोभेटिभ पेडागोजी’को अवधारणा ल्याइयो । 

सूचना तथा सञ्चार प्रविधिमा भएको विकास र प्रयोगलाई सिकाइमा आवद्ध गर्ने, परियोजनामा आधारित शिक्षा र सिर्जनात्मक अभ्यासलाई अवलम्वन गर्ने अवधारणा आयो । तर पुराना औजार, उपकरण र पद्धतिबाट विद्यार्थीले सहज सिक्छन् भने त्यसलाई पनि छोड्नु हुन्न ।

शिक्षाबाट विद्यार्थीमा जे सिप, ज्ञान र कला दिन खोजिएको हो, त्यसलाई सम्बन्धित काम गराएरै सिकाउँदा पक्का पनि प्रभावकारी हुन्छ । तर यो काम व्यावहारिक, आर्थिक, सामाजिक रुपमा कति सम्भव हुन्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । सबै कुरा प्रोजेक्ट वर्क गर्नैपर्छ भन्ने हुँदैन । उदाहरण, कल्पना वा विद्यार्थीले मनमा सिमुलेसन गरेर पनि बुझ्न सक्छन् । 

विगतमा संस्कृतमा कण्ठ पार्ने पद्धति थियो । शब्दको अर्थ थाहा नभए पनि कण्ठ पार्नुपर्थ्यो । श्लोक र मन्त्रको महत्व ध्वनि र उच्चारणमा हुन्छ । त्यसैले शुद्ध र लयात्मक उच्चारण नै प्रमुख सिकाइ हुन्छ । जसरी कलामा निखार ल्याउन दोहोराइ तेहेराइ अभ्यास गर्नुपर्छ, पाठ, श्लोक पनि पटक-पटक पढ्नुपर्छ । 

पढेर बुझेको पूर्ण हुँदैन । एउटै ग्रन्थ दुईपटक पढ्दा बुझाइ उन्नत हुन्छ । त्यस्तै, एउटै ग्रन्थ केही वर्षपछि पुनः पढ्दा बुझाइ फरक हुन्छ । त्यसैले कसरी पढाउँदा र मूल्यांकन गर्दा बढी वैज्ञानिक हुन्छ भन्ने गतिशील विषय हो ।

अधिकार भर्सेस गुणस्तर

संविधानतः सबैलाई शिक्षाको अधिकार छ । यसको अर्थ अपांगता भएका विद्यार्थीलाई सबै विद्यालयले भर्ना गर्नुपर्छ भन्ने होइन । विशेष विद्यार्थीलाई पढाउनका लागि स्थानीय तहले साधनस्रोत व्यवस्थापन गरेर निश्चित विद्यालयलाई सुविधा उपलब्ध गराउनुपर्छ । साधनस्रोत र क्षमताले नभ्याए प्रदेश र संघमा अनुरोध गर्नुपर्छ ।

प्रवेश परीक्षा लिएर भर्नाबाट वञ्चित गर्न पाइँदैन भन्ने अर्थ लगाउनु हुन्न । सबैले पढ्न त पाउनुपर्छ तर सबै स्कुलमा होइन । कमजोर विद्यार्थीलाई केन्द्रित गरेर पढाउँदा जेहेन्दारलाई निद्रा लाग्छ । जेहेन्दारलाई लक्षित गर्दा कमजोरले केही पनि सिक्दैन । 

एउटा कोठामा २० जना राख्दा प्रयोगात्मक अभ्यास गराएर पढाउन सकिन्छ । जति आउँछन्, उतिलाई राखेर कसरी गुणस्तर कायम गर्न सकिन्छ ? एकाधको अधिकारलाई सम्बोधन गर्ने नाममा आम विद्यार्थीलाई असर पार्ने काम गर्नु हुन्न ।

कतिपय विद्यार्थी विभिन्न कारणले राति पर्याप्त सुत्न पाएको हुँदैन । कक्षामा झुल्दा शिक्षकले गाली गर्ने होइन । अरुलाई बाधा पुर्‍याएर होहल्ला गर्न नदिने हो, निदाउन दिनुपर्छ । घरमा सुत्नुभन्दा स्कुलमा केही न केही सिक्छ ।

विद्यार्थीले ध्यान अन्यत्र दियो भनेर गाली गर्ने होइन । मन कसैको पनि स्थिर हुँदैन । त्रासले शरीरलाई कोठाभित्र राख्न सकिन्छ तर मनलाई सकिन्न । मनलाई राख्ने रुचिले हो । विद्यार्थीलाई भोक जगाउने काम शिक्षकले गर्ने हो । सिक्न मन लाग्यो भने सिक्ने विषय जटिल हुँदैन ।

किताबको भारी त छँदैछ । तर घरबाट पानी, खाजा बोक्नुपर्ने बाध्यता हटाउनुपर्छ । स्कुलमा जङ्क फुड प्रतिबन्ध गरेँ भनेर गर्व गर्ने विषय होइन । जङ्क फुडबाट उठेको करबाट सरकारले शिक्षामा लगानी गर्ने हो । सकेसम्म नखान वा कम खान प्रोत्साहन गर्नुपर्छ । 

पढाइ राम्रो भएर मात्र हुँदैन । विद्यार्थीका सरसामान हराउने, डेस्क-बेन्च बिग्रेर लुगा च्यातिने, डेस्क-बेन्च धुलाम्मे हुने, बिग्रेका झ्याल, पंखा मर्मत नहुने, शौचालयका चुकुल मर्मत नहुने, शौचालयमा पानी र सरसफाइ नहुने जस्ता समस्या सम्बोधन हुनुपर्छ । गर्मीले निद्रा लाग्न सक्छ । यसमा विद्यार्थीलाई दोषी ठहराउनु हुन्न ।

निजी र सरकारीको अन्तरक्रिया

सरकारी विद्यालयमा सीमित हुँदा स्तर बढाउन सकिँदैन । सरकारी र निजीका विद्यार्थी र शिक्षकबिच अन्तरक्रिया हुने गरी संयुक्त कार्यक्रमहरु गर्नुपर्छ । उदाहरणका लागि जनचेतना र्‍यालीमा सँगै सहभागी गराउने, बाल प्रतिभा प्रतियोगितामा दुवैलाई सँगै राख्ने ।

सरकारी शिक्षकका छोराछोरी निजी स्कुलमा पढ्ने कुरालाई अवसरको रुपमा उपयोग गर्नुपर्छ । शिक्षकहरुले आफ्ना छोराछोरी पढ्ने स्कुलका असल अभ्यास आफ्ना स्कुलमा अनुसरण गर्न प्रयत्न गर्नुपर्छ । सरकारी शिक्षकले सन्तान सरकारीमा पढाउनुभन्दा यो विधिबाट बढी सुधार गर्न सकिन्छ ।

काबिल शिक्षकलाई कसरी आकर्षित गर्ने ?

शिक्षक बन्न निश्चित संकाय पढेकै हुनुपर्ने बाध्यता, शिक्षकमा वृत्ति विकासको अवसर संकीर्ण आदि कारण काबिल व्यक्ति शिक्षक सेवा आयोगको परीक्षामा आकर्षित हुँदैन । त्यसैले शिक्षकबाट निजामती सेवामा बढुवा हुन सकिने व्यवस्था गर्नुपर्छ । एक वर्षे एड गर्ने सुविधा राम्रो हो । यसमा अझै सरलीकरण गर्नुपर्छ ता कि पढाउन सक्ने व्यक्तिले सहजै लाइसेन्स पाओस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेश घिमिरे
रमेश घिमिरे
लेखकबाट थप