सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दोरम्बा हत्याकाण्डका दोषीलाई कानुनी कारबाही गर्न माग

‘माओवादीलाई कानुन लाग्छ भने सरकारी दोषीलाई पनि सजाय हुनुपर्छ’
शनिबार, ३१ साउन २०८२, २० : ५३
शनिबार, ३१ साउन २०८२

सारांश

  • दोरम्बा हत्याकाण्डका दोषीलाई कारबाही गर्न पीडित परिवारले माग गरेका छन्, जसको २३ वर्ष पुगेको छ।
  • विभिन्न वक्ताहरूले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन ढिलाइ भएकोमा असन्तुष्टि व्यक्त गरे, र राज्य पक्षलाई बचाएको आरोप लगाए।
  • सहिद परिवारले न्यायको माग गर्दै, हत्यामा संलग्न सेनाका मेजर र निर्देशन दिने सरकारी नेतृत्वलाई सजायको माग गरे।

काठमाडौँ । २३ वर्षअघि भएको चर्चित दोरम्बा हत्याकाण्डका दोषीलाई कारबाही गर्नुपर्ने माग पीडित परिवारले गरेका छन्। शनिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल लेखक सङ्घले आयोजना गरेको २३औँ स्मृति दिवसमा पीडित परिवारले न्यायको माग दोहोर्‍याएका हुन्।

कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य माइला लामाले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन ढिलासुस्ती भएको भन्दै आक्रोश व्यक्त गरे। उनका अनुसार, राज्य पक्षलाई बचाएर तत्कालीन विद्रोही पक्षका मात्र मुद्दा चलाउनु अन्यायपूर्ण हो। उनले पछिल्लो समय राज्यले जनयुद्धका लडाकुलाई अपराधीकरण गर्न थालेको भन्दै त्यसविरुद्ध सबै माओवादी एक भएर प्रतिवाद गर्नुपर्ने बताए।

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले जनयुद्धका क्रममा राज्यले गरेको अपराधमाथि कानुनी प्रक्रिया अघि नबढाइएकोमा आक्रोश व्यक्त गरे। उनले भने, ‘डेकेन्द्र थापाको हत्या प्रकरणमा माओवादी नेतालाई जेल हालिन्छ तर दोरम्बा घटना घटाउने तत्कालीन मेजर राममणि पोखरेल र उनको टोलीलाई किन कारबाही हुँदैनरु रायमाझी आयोगले पनि त्यही भनेको छ।’

नेकपाका युवा नेता तथा जनपत्रकार सङ्घका अध्यक्ष शेरबहादुर विश्वकर्माले दोरम्बामा निहत्था जनयुद्धका योद्धा हत्या हुनु अक्षम्य अपराध भएको बताए। उनका अनुसार, ‘यदि राज्यले परिवर्तनका संवाहकलाई अपराधीकरण गर्ने हो भने जनताले प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्छ।’

दोरम्बा हत्याकाण्डमा मारिएका सहिद सानोराम तामाङका छोरा लशकुश तामाङले आफ्ना बाबुसहित २१ जनाको हत्या गर्ने सेनाका मेजर र निर्देशन दिने सरकारी नेतृत्वलाई पनि सजाय दिनुपर्ने माग गरे।

त्यसैगरी नेकपा रामेछाप जिल्ला इन्चार्ज इन्द्र श्रेष्ठले दोरम्बा हत्याकाण्डलाई वर्तमान व्यवस्थाको पहिलो ढोका भन्दै सहिदलाई न्याय नदिलाए प्रतिशोध लिनुपर्ने धारणा राखे।

कार्यक्रममा सहिद परिवारलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो। सम्मानित हुनेमा सानोराम तामाङका छोरा लशकुश तामाङ, जगत विश्वकर्माको आमा फूलमाया विश्वकर्मा, हर्कलक्ष्मी राईकी बहिनी धनलक्ष्मी राईसहितका परिवार थिए।

दोरम्बा हत्याकाण्ड के हो ? 

२०६० साल साउन ३२ गते दाङको हापुरेमा तत्कालीन माओवादीले युद्धविराम घोषणा गरिरहेका बेला सरकार–माओवादीबिच वार्ता चलिरहेको थियो। त्यही क्रममा रामेछापको दोरम्बास्थित शिक्षक युवराज मोक्तानको घरमा माओवादी नेता–कार्यकर्ता वैवाहिक कार्यक्रममा भेला भएका थिए।

तत्कालीन सेनाका मेजर राममणि पोखरेलको टोलीले घर घेरा हाली २३ जनालाई नियन्त्रणमा लियो। तीमध्ये २ जनाको घरमै हत्या गरियो भने बाँकी १९ जनालाई डाँडाकटेरीमा लगेर गोली हानी हत्या गरियो। यस घटनापछि माओवादीले शान्ति वार्ता भङ्ग गरी पुनः युद्धमा फर्किएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप