भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पूर्णरूपमा खुल्यो
मकवानपुर । काठमाडौँ जोड्ने छोटो दूरीको सडक भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पूर्णरूपमा खुलेको छ ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ ज्यामिरेमा खसेको सुक्खा पहिरो सोमबार साँझ हटाएपछि सडक सुचारु भएको हो ।
यसअघि आइतबार दिउँसोबाट उक्त सडक खण्डमा डाइभर्सनमार्फत सडक सुचारु गरिएको थियो ।शनिवार बिहान एक्कासी सडकमाथिबाट खसेको सुख्खा पहिरोले अवरुद्ध भएको सडक आइतबार र सोमबार दिनभर ३ वटा मेशिन प्रयोग गरेर सञ्चालनमा ल्याएको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना हेटौँडाका आयोजना प्रमुख देवनारायण यादवले जानकारी दिए ।
उनका अनुसार आइतबार दिनभर बाटो खुलाउने प्रयास गरिए पनि साँझ परेको पानीका कारण पहिरो खस्न थालेपछि साँझ ६ बजेपछि काम रोकिएको थियो ।
सोमबार बिहानैबाट एक्स्काभेटर, जेसिबी र लोडर प्रयोग गरेर पुनः पहिरो हटाउने काम गरिएको थियो । बिहानैबाट पहिरो हटाउने काम थाले पनि पहिरो ठुलो र सडकको माथिबाट ढुङ्गा–माटो खस्ने क्रम नरोकिँदा सडक पूर्णरुपमा सञ्चालनमा ल्याउन लामो समय कुर्नुपरेको उनले स्पष्ट पारे ।
उक्त सडक प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत राखेर राजधानी मार्ग नामकरण गरी निर्माण गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण