शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
अपडेट

सुकुमबासी बनेर पोखरा बसपार्कमा बस्दै आएका २३३ परिवारको अन्यत्र पनि भेटियो जग्गा

शुक्रबार, २६ असार २०८३, ११ : ५२
शुक्रबार, २६ असार २०८३

सारांश

  • पोखरा बसपार्क क्षेत्रका २३३ सुकुमबासी परिवारको अन्यत्र पनि जग्गा रहेको पहिचान गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
  • जिल्ला प्रशासन र भूमि प्रशासन कार्यालयको डिजिटल प्रणालीबाट भेरिफाइ गर्दा केही आवेदकहरूको नाममा अन्यत्र जग्गा भेटिएको हो ।
  • सुकुमबासी तथा अव्यवस्थित बसोबासीले व्यवस्थापन प्याकेज वडा नम्बर ९ भित्रै वा पायक पर्ने ठाउँमा ल्याउन माग गरेका छन् ।

पोखरा । पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको पहिचान गर्न गठित समितिले नगर प्रमुख धनराज आचार्यलाई प्रतिवेदन बुझाएको छ । करिब डेढ महिना अध्ययन गरेर समितिले प्रतिवेदन तयार गरेको हो ।

महानगरको प्रशासन महाशाखा प्रमुख एवं समितिका संयोजक कृष्ण तिवारीको नेतृत्वमा गठित समितिको अध्ययनले बसपार्क क्षेत्रका २३३ परिवारको अन्यत्र पनि जग्गा जमिन रहेको देखाएको छ । छानबिनका क्रममा वडा कार्यालयबाट सिफारिस भएका ५७४ निवेदनमाथि विस्तृत अध्ययन गरिएको थियो ।

समितिले जिल्ला प्रशासन कार्यालय र भूमि प्रशासन कार्यालयको सरकारी डिजिटल प्रणालीबाट अध्ययन गरेर प्रतिवेदन बनाएको हो । जिल्ला प्रशासन कार्यालयको केन्द्रीय नागरिकता सूचना प्रणाली र भूमि प्रशासन कार्यालयको भूमि अभिलेख सूचना प्रणालीमार्फत सम्बन्धित व्यक्तिहरूको विवरण भेरिफाइ गरिएको तिवारीले बताए ।

यही विवरणबाट कतिपय आवेदकहरूको नाममा अन्यत्र जग्गा रहेको भेटिएको हो । ‘हामीले प्रविधिको प्रयोग गरेर यो रिपोर्ट तयार गरेका छौँ । केन्द्रीय स्तरका प्रणालीमै पहुँच राखेर अध्ययन गर्दा केहीको अन्यत्र जग्गा फेला परेको छ,’ उनले भने ।

अध्ययनका क्रममा सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई हटाउनुअघि उचित व्यवस्थापन गरिनुपर्ने माग राखेका छन् । उनीहरूले सम्भव भएसम्म वडा नम्बर ९ भित्रै वा पायक पर्ने ठाउँमा व्यवस्थापन प्याकेज ल्याउन अनुरोध गरेका थिए । उनीहरुको मागलाई समेत प्रतिवेदनमा सुझावका रुपमा पेस गरिएको छ ।

योसँगै महानगरपालिकाले सुकुमबासी व्यवस्थापनका लागि जग्गा खोजी गर्न छुट्टै समिति गठन गरेको छ । समितिले पहिलो चरणमा ६ ठाउँलाई सिफारिस गरेकोमा केही जग्गाहरु अन्य संघ संस्थाको लालपुर्जाभित्र पर्ने भएकोले पुनः सिफारिस गर्न समय थपिएको छ ।

वडा नम्बर १७ की अध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा गठित समितिले थप जग्गाको खोजी गरिरहेको जनाएको छ । यस्तै, सिफारिस हुने जग्गाको प्राविधिक पक्ष अध्ययनका लागि इन्जिनियर सुरेन्द्र पौडेलको संयोजकत्वमा गठित अर्को समितिले पनि आफ्नो काम गरिरहेको महानगरले जनाएको छ ।

यसबाहेक न्यायिक निरुपणका लागि अर्को समिति पनि गठन भएको छ । नगर प्रमुख आचार्यलाई बुझाइएको प्रतिवेदन अब बस्ने महानगर कार्यपालिकाको बैठकमा छलफलका लागि पेस गरिनेछ । कार्यपालिकाले प्रतिवेदनमाथि आवश्यक छलफल गरी स्वामित्व ग्रहण गरेपछि सुकुमबासी व्यवस्थापन तथा बसपार्क क्षेत्रको जग्गा संरक्षणका लागि थप काम अघि बढाइने महानगरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप