मधेसमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट, उपचारभन्दा अझै अन्धविश्वासमा भरोसा
सारांश
- मधेसमा मानसिक स्वास्थ्य सचेतनाको अभाव र विशेषज्ञ चिकित्सकको कमीले गम्भीर समस्या निम्त्याएको छ ।
- प्रदेशमा करिब ६४ लाख जनसंख्याका लागि केवल १० जना मानसिक रोग विशेषज्ञ उपलब्ध छन्, जसले उपचारमा चुनौती खडा गरेको छ ।
- आत्महत्याका घटनामा वृद्धि, लागुऔषधको असर, चिन्ता र डिप्रेसन जस्ता समस्याले मानसिक स्वास्थ्य चुनौतीपूर्ण बनेको छ ।
जनकपुरधाम । मानसिक स्वास्थ्यप्रति सचेतनाको अभावका कारण गम्भीर अवस्थाबाहेक धेरैले यसलाई सामान्य रुपमा लिने गरेको पाइन्छ । परिणामस्वरुप यसबाट पर्ने प्रभाव बढ्दै जान थालेको छ ।
अझ मधेसका विपन्न बस्तीमा मानसिक स्वास्थ्यप्रति जागरुकता नहुँदा समयमै उपचार गराउने त परै जावस्, यसलाई रोगका रुपमा बुझ्न नसक्दा समाजमा गम्भीर परिणाम देखा पर्न थालेका छन् ।
अर्कोतिर मधेस प्रदेशमा मानसिक स्वास्थ्य विशेषज्ञ चिकित्सकको समेत अभाव छ । जसका कारण मानसिक राेगीको उपचारमा पनि चुनाैती छ ।
मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेका अनुसार प्रदेशको जनसङ्ख्या करिब ६४ लाख छ, तर यति ठुलो जनसङ्ख्याका लागि मानसिक रोग विशेषज्ञ (मनोचिकित्सक) करिब १० जनामात्र छन् ।
उनका अनुसार मानसिक रोगको उपचारका लागि आवश्यक औषधि खरिद गरी स्वास्थ्य संस्थामा आपूर्ति गरिएको छ । साथै, सामी कार्यक्रम अन्तर्गत १३६ स्थानीय तहमध्ये ९३ स्थानीय तहमा मनोसामाजिक परामर्श सेवा विस्तार गरिएको छ । मनोपरामर्शकर्ताको अभाव पूर्ति गर्न ६ महिनाको तालिमसमेत सञ्चालनमा रहेको उनले जानकारी दिए ।
उनका अनुसार सेवा विस्तारका प्रयास भइरहे पनि दक्ष जनशक्तिको अभाव अझै मुख्य चुनौती बनेको छ ।
मधेस प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार केही वर्षयता आत्महत्याका घटनामा वृद्धि भएको छ । आर्थिक, सामाजिक, पारिवारिक, शैक्षिक तथा मनोवैज्ञानिक दबाबसँगै समयमै उपचार नपाउँदा मानसिक स्वास्थ्य चुनौतीपूर्ण बन्दै गएको विज्ञहरूको भनाइ छ ।
मधेसमा आत्महत्याको तथ्याङ्क
२०७७/०७८- ९५९ जना
२०७८/०७९- १,०१८ जना
२०७९/०८०- १,१३४ जना
२०८०/०८१- १,२८८ जना
२०८१/०८२- १,२६१ जना
किशोरदेखि वयस्कसम्म बढ्दो मानसिक समस्या
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, नेपाल–२०७७ अनुसार १३ देखि १७ वर्ष उमेर समूहका ५.२ प्रतिशत किशोरकिशोरीमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या देखिएको छ । नेपालमा नसर्ने रोगको कुल भारमध्ये करिब १८ प्रतिशत हिस्सा मानसिक रोगले ओगटेको तथ्याङ्कले देखाउँछ ।
प्रादेशिक अस्पताल जनकपुरधामका मनोचिकित्सक डा. तेजनारायण महतोका अनुसार अस्पतालमा दैनिक ३० देखि ३५ जना मानसिक स्वास्थ्यसम्बन्धी बिरामी उपचारका लागि आउने गरेका छन् । उनका अनुसार केही वर्षयता चिन्ता, डिप्रेसन, निन्द्रा नलाग्ने, अत्यधिक तनाव तथा लागुऔषधको असरका कारण मानसिक समस्या लिएर आउने बिरामीको सङ्ख्या बढेको छ ।
मनोवैज्ञानिक परामर्शदाता युगाल किशोर यादवका अनुसार पछिल्ला वर्षहरूमा मानसिक स्वास्थ्यसम्बन्धी परामर्श लिन आउनेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । अहिले किशोरकिशोरीदेखि वयस्कसम्म मानसिक तनाव, चिन्ता, आत्मविश्वासको कमी, पारिवारिक विवाद, अध्ययन तथा रोजगारीको दबाबका कारण परामर्श खोज्नेहरू बढिरहेको उनले बताए ।
तर अधिकांशले समस्या लामो समयसम्म राेग लुकाएर राख्ने भएकाले अवस्था जटिल भएपछि मात्रै उपचार खोज्ने गरेको यादवको भनाइ छ ।
उचित परामर्श, परिवारको साथ र आवश्यक परे विशेषज्ञ उपचार पाए अधिकांश बिरामीको अवस्थामा सुधार आउने गरेको यादव बताउँछन् ।उनका अनुसार मानसिक स्वास्थ्य समस्या कुनै कमजोरी होइन । ज्वरो वा अन्य शारीरिक रोगजस्तै यसको पनि समयमै पहिचान र उपचार आवश्यक हुने उनले बताए ।
ढिलो उपचारका कारण बढ्दै जटिलता
प्रादेशिक अस्पताल जनकपुरधामका मनोचिकित्सक डा. तेजनारायण महतोका अनुसार अस्पतालमा दैनिक ३० देखि ३५ जना मानसिक स्वास्थ्यसम्बन्धी बिरामी उपचारका लागि आउने गरेका छन् । उनका अनुसार केही वर्षयता चिन्ता, डिप्रेसन, निन्द्रा नलाग्ने, अत्यधिक तनाव तथा लागुऔषधको असरका कारण मानसिक समस्या लिएर आउने बिरामीको सङ्ख्या बढेको छ ।
'धेरै बिरामी उपचारका लागि निकै ढिलो आउँछन् । अझै पनि मानसिक रोगलाई लुकाउनुपर्ने वा सामाजिक लाञ्छनाको विषय मान्ने प्रवृत्ति कायमै छ,' उनले भने ।

मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. मुक्तिनारायण साहका अनुसार प्रदेशभर मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने काम अघि बढाइएको छ । उनका अनुसार प्रदेशभर १,३५३ स्वास्थ्य संस्था छन्, जसमा निजी स्वास्थ्य संस्था पनि समावेश छन् । स्वास्थ्य निर्देशनालयको समन्वयमा मनोपरामर्श तथा मानसिक रोग पहिचानसम्बन्धी तालिम सञ्चालन भइरहेको उनले बताए ।
'मानसिक रोगका औषधि खरिद गरिसकेका छौँ । छिट्टै निःशुल्क वितरण गर्ने तयारी छ । धेरै बिरामीमा परामर्शबाटै सुधार हुन्छ, तर औषधि आवश्यक परेकालाई निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउँदैछौँ । आगामी दिनमा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीका लागि पनि आवश्यक पूर्वतयारी गरिरहेका छौँ,' उनले भने ।
सामाजिक सोच परिवर्तन आवश्यक
विशेषज्ञहरूका अनुसार प्राथमिक स्वास्थ्य संस्थामै मानसिक स्वास्थ्य सेवा विस्तार, विद्यालय तहदेखि मानसिक स्वास्थ्य शिक्षा, जनचेतनामूलक अभियान तथा परिवारको सकारात्मक साथ अत्यन्त आवश्यक छ ।
तथ्याङ्कले मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको देखाए पनि अधिकांश समस्या समयमै पहिचान र उपचार गरे नियन्त्रणमा राख्न सकिने विशेषज्ञहरूको भनाइ छ । तर सामाजिक लाञ्छना, अन्धविश्वास, विशेषज्ञको अभाव तथा ढिलो उपचारका कारण समस्या झन् जटिल बन्दै गएको छ ।
विज्ञका अनुसार मधेसमा मानसिक स्वास्थ्यको वास्तविक चुनौती रोगमात्र होइन, त्यसलाई हेर्ने सामाजिक दृष्टिकोण पनि हो । जबसम्म मानसिक रोगलाई अन्य शारीरिक रोगसरह स्वीकार गरिँदैन, तबसम्म धेरै मानिस उपचारभन्दा टाढै रहनेछन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण