शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो

शुक्रबार, २६ असार २०८३, ०० : ०२
शुक्रबार, २६ असार २०८३

काठमाडौँ । रातोपाटीको नियमित प्रस्तुती १२ बजे १२ समाचारमा दिनभरका मुख्यमुख्य घटनाक्रम यसप्रकार छन् ।

१. गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

पाल सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएको छ । 

हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ लैजाने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राजधानीमा भएको यो घटनाले सबैलाई स्तब्ध बनाएको छ । 

 दिउँसो १ बजेर ४५ मिनेटमा गणेशले पार्किङ गरेर राखेको बा.प्र.०२–०६४ प ३२५० नम्बरको पल्सर मोटरसाइकलको चक्कामा काठमाडौँ महानगरपालिकाबाट खटिएका प्रहरीले ह्वील लक लगाएका थिए । त्यसपछि नै यो अप्रिय स्थिति पैदा भएको हो । 

२. ओलीको पक्षमा देखिएन माहोल

एमाले निकट युवाहरूले पार्टी रूपान्तरण र पुनःसंरचनाका लागि गरेको ‘पुनर्जागरण अभियान–२०८२’ अन्तर्गतको मत सर्वेक्षण नतिजा सार्वजनिक भएको छ ।

असार १२ गते सुरु भएको अभियान अन्तर्गतको मत सर्वेक्षण असार २२ सम्म सञ्चालन गरिएको अभियानकर्ताहरूले बताएका छन् ।  मत सर्वेक्षणका लागि खुला रूपमा गुगल फर्ममार्फत विभिन्न १८ वटा प्रश्न सोधिएको थियो ।

उक्त फर्ममार्फत स्वदेश तथा विदेशमा रहेका एमालेका सङ्गठित सदस्य, समर्थक, शुभेच्छुक तथा स्वतन्त्र नागरिकले सुझाव दिएका छन् । देशभरसहित विदेशका १४ राष्ट्रमा रहेका नेपाली नागरिकहरूले सहभागिता जनाएको अभियानकर्ता गजेन्द्र थपलियाले जानकारी दिए ।

उनका अनुसार मत सर्वेक्षण रिपोर्ट बिहीबार एमाले महासचिव तथा एमाले पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेललाई बुझाइएको छ ।

अभियानको मुख्य उद्देश्य पार्टीको भावी दिशा, नेतृत्व हस्तान्तरण, सङ्गठनात्मक पुनः संरचना, पुस्तान्तरण र आन्तरिक लोकतान्त्रीकरणका विषयमा कार्यकर्ता तथा शुभेच्छुकको प्रत्यक्ष धारणा सङ्कलन गर्नु रहेको बताइएको छ ।

मत सर्वेक्षण प्रक्रियामा सबैभन्दा धेरै ४० देखि ६० वर्ष उमेर समूहका ४३ दशमलव ७ प्रतिशत मानिस सहभागी भएका थिए । त्यस्तै ६० वर्षमाथिका ३७ दशमलव १ प्रतिशत र १८ वर्षदेखि ३० वर्ष उमेर समूहका १३ दशमलव ७ प्रतिशत सहभागी भएको सार्वजनिक नतिजामा उल्लेख छ ।

मत सर्वेक्षणमा ‘नेकपा एमाले हालकै अवस्थामा अघि बढ्न सक्छ ?’भनेर सोधिएको प्रश्नमा रूपान्तरणको पक्षमा ९१.४ प्रतिशतले मत हालेका छन् ।

त्यस्तै विद्यामान पार्टी नेतृत्वको व्यवहार तथा आचरण सुध्रिनुपर्छ भनेर मत हाल्नेमा ९५ दशमलव ४ रहेका छन् । त्यसैगरी विद्यामान पार्टी नेतृत्वको कार्यशैली सुध्रिनुपर्छ भनेर मत हाल्नेमा झन्डै ९५ प्रतिशत अर्थात् ९४.९ प्रतिशतले मत हालेका छन् ।

 विद्यामान पार्टी नीति बदल्नुपर्छ भन्नेमा ८७.५ प्रतिशतले मत हालेका छन् भने हालकै नीति ठिक छ भन्नेमा १०.५ प्रतिशतले मत हालेका छन् ।

३. आयोगको सिफारिस सच्याउन निवेदन

नेकपा एमालेले भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले गरेको निर्णय नं १७७ अन्तर्गतको सिफारिस सच्याउन माग गरेको छ ।

एमाले नेता महेश बर्तौलाले बिहीबार आयोगका अध्यक्ष तपबहादुर मगरलाई आयोगको कार्यालय भेटेर उक्त बुँदा सच्चाउन माग गर्दै निवेदन दिएका हुन् ।

४. देउवा समूह सक्रिय

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आफ्नो समूहमा रहेका पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ। शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने गरी पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको नेता डाक्टर प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा साउन ६ गते बीपी स्मृति दिवस छुट्टै भव्य रूपमा मनाउनेबारे जिम्मेवारी बाँडफाँड गर्ने निर्णय हुनेछ। त्यस्तै राष्ट्रिय भेला आह्वानको विषयमा पनि कुराकानी हुने नेता डाक्टर महतले जानकारी दिए। पछिल्लो समय कार्यालय नै खोलेर देउवा समूहले सक्रियता बढाएको छ ।

५. प्रदेशमा कांग्रेस-एमालेको राजनीति

संघीय संसदका दुई विपक्षी दल नेपाली कांग्रेस र नेकपा एमाले पूर्वसहमति अनुसार ६ वटा प्रदेश सरकार फेरबदल गर्ने समय सीमा सकिन लागेको छ ।

२०८१ असार १७ गते कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो ।

६. सुकुमबासीको समस्या 

 

सहरी सौन्दर्यीकरण र नदी प्रणालीको पुनरुत्थानका लागि भन्दै सरकारले बागमती नदी किनारका सुकुमबासी तथा अव्यवस्थित बस्तीहरू हटाएसँगै मानवीय दृष्टिकोणले अहिले स्थिति जटिल बन्दै गएको छ । 

सरकारले गत वैशाखमा सुकुमबासी बस्तीहरूमा डोजर चलाएर त्यहाँका स्थानीयहरूलाई विभिन्न स्थानमा स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा राख्दै आएपनि हाल आएर उनीहरूलाई हटाउन खोजिएसँगै स्थिति जटिल बनेको हो ।

 

७.रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट पारित विधान अनुसार वरिष्ठ नेतामा बालेन शाहसँगै अर्का नेतालाई मनोनीत गर्ने तयारी थालेको छ ।

चितवनमा सम्पन्न प्रथम महाधिवेशनले विधान संशोधन गरी दुई वा दुईभन्दा बढी वरिष्ठ नेता रहने व्यवस्था गरेको थियो । विधान अनुसार पार्टीको नीति निर्माण र सांगठनिक सुदृढीकरणमा लामो समयदेखि विशेष योगदान पुर्‍याएका तथा उच्च राजनीतिक अनुभव हासिल गरेका नेतालाई पार्टी सभापतिको प्रस्तावमा केन्द्रीय समितिले वरिष्ठ नेतामा मनोनीत गर्ने व्यवस्था छ ।

८.कांग्रेसको रिट

नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरेको छ । प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र राष्ट्रियसभाका सचेतक पदम परियारले रिट दायर गरेका हुन् । सर्वोच्च अदालतमा पेस भएको रिट अध्ययनका लागि राखिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । 

९. चार अध्यादेश स्वत: निस्क्रिय

। बालेन शाह नेतृत्वको सरकारले गत वैशाखमा संघीय संसद्को अधिवेशन रोकेर जारी गरेका चार अध्यादेश स्वतः निष्क्रिय हुने भएका छन् । संविधानले तोकेको ६० दिनको समय सीमाभित्र संघीय संसद्‍बाट स्वीकृत हुन नसकेपछि ती अध्यादेश असार २६ गते (भोलि)देखि स्वतः निष्क्रिय हुने भएका हुन् ।

बानेन सरकारले वैशाखमा आठ अध्यादेश जारी गरेको थियो । तीमध्ये ४ अध्यादेश भने कानुन बन्ने प्रक्रियामा संघीय संसद्मा छन् ।

१०. गण्डकी प्रदेशमा गाँजा खेतीले वैधानिकता पायो

गण्डकी प्रदेशमा गाँजा खेतीले वैधानिकता पाएको छ । प्रदेश सभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने विधेयक बिहीबार सर्वसम्मत पारित गरेपछि प्रदेशमा गाँजा खेती गर्ने बाटो खुलेको हो।

सरकारले संसद्‌मा दर्ता गराएको मूल विधेयकलाई प्रदेश सभाको अर्थ तथा विकास समितिले लामो छलफल र परिमार्जनसहित संशोधन प्रतिवेदन सभामा पेस गरेको थियो । सोही संशोधनसहितको विधेयक बिहीबारको बैठकबाट पारित भएको हो ।

११. निर्माण व्यवसायीसँग प्रमको छलफल

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्द्धन, भौतिक पूर्वाधार विकासलगायत विषयमा निर्माण व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताए ।

१२. सेयर बजार

 

साताको कारोबार हुने एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक १९.६७ अङ्कले घटेर २६०१.९२ विन्दुमा ओर्लिएको हो ।

बजारमा गिरावट आए पनि कारोबार रकम सामान्य देखिएको छ । आज बजारमा कुल ३६१ कम्पनीका ८७ लाख ५१ हजार ३८० कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप