डढेलोमा परेर स्पेनमा १२ जनाको मृत्यु
सारांश
- दक्षिणपूर्वी स्पेनको आल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दाेस क्षेत्रमा लागेको भीषण डढेलोमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
- विद्युत् प्रसारण लाइन खसेपछि आगलागी सुरु भएको र त्यसपछि नजिकैको जंगलमा तीव्र रूपमा फैलिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
- डढेलोका कारण करिब एक हजार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
मड्रिड । दक्षिणपूर्वी स्पेनको आल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दाेस क्षेत्रमा लागेको भीषण डढेलोमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । यी घटनामा अरु ६ जना घाइते भएको बताइएको छ । मृतक र घाइतेको संख्या अन्डालुसिया क्षेत्रीय सरकारले शुक्रबार पुष्टि गरेको हो ।
अधिकारीहरूका अनुसार केही मृतक जलेर नष्ट भएका सवारीसाधनभित्र भेटिएका थिए । विद्युत् प्रसारण लाइन खसेपछि आगलागी सुरु भएको र त्यसपछि नजिकैको जंगलमा तीव्र रूपमा फैलिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । आगलागीको वास्तविक कारणबारे अधिकारीहरूले औपचारिक पुष्टि गरेका छैनन् ।
अन्डालुसिया क्षेत्रीय सरकारका प्रमुख हुआन्मा मोरेनोले घटनालाई ‘दुःखद त्रासदी’ भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बेदार नामक बस्तीमा लागेको आगो नियन्त्रण गर्न करिब १५० जना अग्निनियन्त्रक परिचालन गरिएको छ । घाइतेमध्ये एक जनालाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको छ भने अर्का एक जनालाई पनि आगोले पोलेको बताइएको छ । अन्य चार जनाको सामान्य पोलेको घाउ र धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएपछि घटनास्थलमै उपचार गरिएको छ ।
डढेलोका कारण केही सडक बन्द गरिएका छन् । आपत्कालीन सेवाका अनुसार करिब एक हजार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले यस वर्ष गर्मीयाममा डढेलोसँग जुध्न देशकै इतिहासमा सबैभन्दा ठुलो आपत्कालीन संयन्त्र परिचालन गरिने घोषणा यसअघि नै गरेका थिए । प्रमुख आपत्कालीन अवस्थाका लागि परिचालन हुने स्पेनको सैनिक आपत्कालीन इकाई पनि उद्धार तथा आगो नियन्त्रण अभियानमा सहभागी भएको छ ।
दक्षिणी युरोपमा करिब ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रमसहितको लामो गर्मीको लहर जारी रहेकाले स्पेन, फ्रान्स र पोर्चुगलमा सयौँ अग्निनियन्त्रक डढेलो नियन्त्रणमा जुटेका छन् । हजारौँ मानिस घर छाड्न बाध्य भएका छन् । स्पेनमा जुन महिनामा सन १९५० यताकै सबैभन्दा उच्च औसत दैनिक तापक्रम मापन गरिएको थियो । देशका केही क्षेत्रमा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ ।
युरोपेली वन डढेलो सूचना प्रणालीका अनुसार गत वर्ष स्पेनमा करिब ३ लाख ९३ हजार हेक्टर क्षेत्रफल डढेलोले नष्ट गरेको थियो, जुन सन २००६ देखि २०२४ सम्मको औसतभन्दा छ गुणाभन्दा बढी हो । कोपर्निकस जलवायु सेवाका अनुसार जलवायु परिवर्तनका कारण विश्वभर तापक्रम बढिरहेको छ र युरोप विश्वकै सबैभन्दा तीव्र गतिमा तापक्रम बढिरहेको महादेश बनेको छ । यसले गर्मीयाममा तीव्र गर्मीको लहर, पानीको अभाव तथा भीषण डढेलोका घटनामा उल्लेखनीय वृद्धि गरिरहेको छ ।
युरोपेली संघमा सन २०२५ को डढेलो मौसम सन २००६ यताकै सबैभन्दा विनाशकारी बनेको थियो । त्यतिबेला यस क्षेत्रभर १० लाख हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोबाट प्रभावित भएको थियो । इम्पेरियल कलेज लन्डनसँग आबद्ध वर्ल्ड वेदर एट्रिब्युसन समूहले पनि भूमध्यसागरीय क्षेत्रमा डढेलोको बढ्दो जोखिमलाई जलवायु परिवर्तनसँग प्रत्यक्ष रूपमा जोडेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण