विराटनगरको न्युरो हस्पिटल : २५ वर्षमा २५ लाखको सफल उपचार गरेको दाबी
विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलले २५ वर्षमा २५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिएको बताएको छ ।
यस अस्पतालले आफ्नो सेवालाई विराटनगर बाहिर कोशी र मधेस प्रदेशका थप तीन स्थानमा विस्तार गर्ने घोषणा गरेको छ ।
जसले यसलाई ‘चेन अफ हस्पिटल’ को रूपमा स्थापित गर्ने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले २५ वर्षे यात्राको सफलता र भविष्यको कार्ययोजनाबारे विस्तृत जानकारी दिए । ‘हामी हाम्रो सेवा विराटनगर बाहिर कोशी प्रदेश र मधेस प्रदेशका थप तीन ठाउँमा विस्तार गर्दै छौँ,’ भट्टराईले भने, ‘कोशीको पूर्वी सहर झापाको दमक र मधेस प्रदेशका दुई स्थानमा हाम्रो सेवा विस्तार हुनेछ । यो सबै हामीले आउँदो पाँच वर्षभित्रमा पूरा गर्ने लक्ष्य राखेका छौँ ।’
हाल १५० शैय्यामा सञ्चालित यस अस्पताललाई निकट भविष्यमै २५० शैय्यामा स्तरोन्नति गर्ने योजना पनि अस्पतालको छ । यो विस्तारले न्युरोलाई एक स्वास्थ्य संस्थाबाट क्षेत्रीय स्वास्थ्य सेवाको सञ्जालको रूपमा रूपान्तरण गर्नेछ ।
आजभन्दा २५ वर्षअघि, अस्पतालका संस्थापक डा. विरेन्द्र कुमार विष्टले बेलायतबाट आफ्नो अध्ययन पूरा गरेर फर्किएपछि वि.सं. २०५७ साल भदौ ८ गते न्युरो डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर’ को स्थापना गरेका थिए ।
तत्कालीन बेलायती राजदूत रोनाल्ड पि नासद्वारा उद्घाटन गरिएको यो संस्था त्यतिबेला मोफसलको मात्र नभई नेपालकै पहिलो न्युरोलोजीको ओपिडी तथा आइपिडी सेवा प्रदान गर्ने अस्पताल बन्यो ।
वि.सं. २०६२ सालमा यो संस्था ‘न्युरो हस्पिटल’ को रूपमा रूपान्तरण भएका हो । २०७० सालमा अस्पताल ‘न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल’ मा परिणत भएको हो । यससँगै हस्पिटलमा जनरल सर्जरी, नाक, कान, घाँटी, आँखा, मानसिक रोग र जनरल मेडिसिनजस्ता विभागहरू थपिए ।
२०८१ सालमा विश्वविख्यात जनरल इलेक्ट्रिक (जीई) कम्पनीको नेपालकै पहिलो १२८ स्लाइस एपार्ड सिटी स्क्यान मेसिन जडान गरी निदान प्रविधिमा अस्पतालले छलाङ मारेको सञ्चालक विष्ट बताउँछन् । २५ वर्षको अवधिमा अस्पतालले २५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिएको छ । यस अवधिमा ७ हजार ५ सय भन्दा बढी सफल न्युरो सर्जरी, ५ हजार भन्दा बढी मुटुसम्बन्धी प्रोसिड्युर र ६ हजार भन्दा बढी हाडजोर्नीका शल्यक्रियाहरू सफलतापूर्वक सम्पन्न भएका छन् ।
न्युरो अस्पताल नेपालका मात्र नभई सीमावर्ती भारतीय बिरामीहरूको पनि पहिलो रोजाइ बन्न पुगेको छ । फाउण्डेसनमार्फत प्रत्येक वर्ष कोशी प्रदेशका एक उत्कृष्ट नर्स र एक उत्कृष्ट मेडिकल अफिसरलाई ५१ हजार राशिको पुरस्कारसहित सम्मान गर्ने जनाएको छ ।
यसैबिच रजत जयन्तीको अवसरमा अस्पतालले सप्ताहव्यापी कार्यक्रमहरू आयोजना गरेको छ । सेवाग्राहीहरूलाई प्रत्यक्ष लाभ पुर्याउन भदौ ८ गतेदेखि १४ गतेसम्म २५ वटा विभिन्न स्वास्थ्य जाँचमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण